गोरा पुरोहितले पूजा गर्ने वेल्सको स्कन्द भेल  

परम्परागत रुपमा कुनै देवीदेवताको भक्त वा पूजाआजा गर्ने चलन छैन। बाल्यकालमा दाजुहरुसँग मिलेर केही दर्शन ढुंगालाई रथमा राखेर घरमा ल्याए पछि आमाले सबैलाई देवता बनाएर पूजा कोठामा राख्नु भएको थियो। सानैदेखि कम्युनिष्ट भएपछि मठ मन्दिरमा गएर टीका लगाउने कुरा पनि भएन। तर चाडबाड वा जात्रामा साथीभाइहरुसँग जमघट गर्ने नाचगान गर्न भने छाडिएन। गज्जबको कुरा जोगीहरु भएको मन्दिरमा पुगे भने चाहिँ घन्टौँसम्म कुरा सुनेर बस्ने रहर लाग्थ्यो। उनीहरुको विगत र वर्तमानबारे कुराहरु सुन्ने इच्छा लाग्थ्यो। दोलखा भिमसेनथानमा भेटिएका अधबैँशे जोगीले खै किन हो केही कुरा बाँकी नराखी सुनाएका थिए। शायद म स्थानीय नभएकोले पनि उनले मनको बह पोखेको हुन पर्छ। उनको कहानीले मलाई अहिलेसम्म पनि मानिसहरु यतिसम्म गिरेर कसरी आफूलाई मानिस भन्न सक्छन् होला जस्तो लागेर आउँछ। उनले त पश्चाताप गरेर जोगी बने तर हजारौं भोगीहरु समाजमा आफूलाई गन्यमान्य सम्झेर हिडिँरहेका छन्। धर्मको ढोंग छाँटेर अरुलाई पापको भारी बोकाई रहेका छन्।

भ्रमण गरिएका विभिन्न तीर्थ स्थलहरुमध्ये मलाई मनपर्ने केही स्थान बारे जानकारी दिने क्रममा आज दशौँपटक पुगेको बेलायतको वेल्स राज्यमा रहेको स्कन्द भेल बारे छोटो लेखमार्फत प्रस्तुत भएको छु।

स्कन्द भेल लण्डनबाट करिब पाँच घन्टा गाडी चलाएर पुग्न सकिन्छ। श्रीलंकाका तामिल समुदायको बाहुल्यता देखिने यस मन्दिरमा दक्षिण भारतीय र पछिल्लो समयमा नेपालीहरुको पनि उल्लेख्य उपस्थिति हुन थालेको छ। एकै स्थानमा धेरै देवीदेवताहरुको पूजाआजा गरिने भनेकोले यसलाई ‘परमेश्वरहरूको समुदाय’ को रुपमा विकसित गर्दै लगिएको छ। त्यति मात्र हैन आत्मा भएका सबै प्राणी पवित्र हुन्छन् भन्ने दर्शनको आधारमा शुरुमा केही बाख्राबाट शुरु गरी विभिन्न प्रकारका जनावर तथा चराचुरुंगीहरु समेत पालन गरिएको छ। बेलायतमा बस्ने श्रीलंकन समुदायको यो महान कामलाई प्रोत्साहनस्वरुप त्यहाँको तात्कालिन रास्ट्रपति जयबर्दनाले उपहार पठाएको हात्ती “भल्ली” अहिले पनि विशेष महत्वका साथ पूजिने गरिन्छ। त्यहाँ पूजा गरिने “सम्भु” साँढेको बारेमा त निकै ठूलो समाचार नै बनेको थियो।

यस स्थलको स्थापना गर्ने गुरु श्री सुब्रहमण्यमको जन्म सन् १९२९ मा श्रीलंकामा एक उच्च खानदानमा भएको थियो। बुबा श्रीलंकामा उच्च श्रेणीका मेडिकल अफिसर थिए भने आमा एक आध्यात्मिक चिन्तक र सबै भगवानलाई अनुशरण गर्ने धार्मिक व्यक्तित्व थिइन्। पारिवारिक बातावरणको कारण उनी आफूलाई पनि नौ वर्षको उमेरदेखि नै सनातन धर्मको जगेर्नाको लागि जन्म भएको महशुश गर्न थालेका थिए। अब आफ्नो काम भनेको नै धर्मको प्रचार गर्नु हो भन्ने निर्णयका साथ १८ वर्षको उमेरमा नै यात्रामा निस्किए। मध्यपूर्व र युरोपका प्राय सबै देशहरु घुमेर लन्डन आई पुगेपछि भने उनी रोकिए। जीवन गुजाराको लागि उनले चेल्सीमा फूलको पसल चलाए। काम सकिएपछि हरेक दिन  भक्तहरूको समूहलाई ध्यान, योग र जप सिकाउँथे। उनले आफ्नो आश्रमलाई कुनै एक देवताको मात्र नभई सारा भगवानहरुको बासस्थानको रुपमा वर्णन गर्ने गरेका थिए। यहाँ धेरै धर्महरू छन् तर परमेश्वर एकै हुन् र जहाँ प्रेम हुन्छ त्यहाँ ईश्वर हुन्छ भन्ने उनको मुख्य खोजको श्रोत अद्वैत वेदान्तको शिक्षा हो।

लेखक सुरेन्द्र श्रेष्ठ

सन् १९६२ मा गुरुजीले एउटा सानो समूहलाई श्रीलंकाको तीर्थयात्रामा लिएर गए। बदुल्लाको मुरुगन मन्दिरमा ध्यान गर्दा, भगवान तीन टाउको भएको गोमन सापको रूपमा देखा परेको र गुरुलाई आफूले चाहेको कुरा माग्न भने पछि आफूलाई कुनै उपहार वा वरदान चाहिएको छैन बरु एउटा चाहना युरोपमा गैरनाफामूलक पूजास्थल स्थापना गर्ने रहेको बताएका थिए। उक्त मन्दिरको पुजारीले भगवानसँग के कुरा भयो भनेर सोधेपछि केही नभनी आफैँले बुझे भयो नि भनेका थिए। उनी घर पुग्दा कसैले कुरिरहेको र पवित्र भेल (भगवान सुब्रहमण्यमको भाला जस्तो हतियार) उपहार दिन खोजिएको थाहा भएर चकित भएका थिए। यिनै पवित्र उपहार मन्दिर बनाउने आधार बन्न पुग्यो।

लण्डनमा ठाउँ सानो भएको कारण ठूलो फराकिलो ठाउँ खोज्ने क्रममा सन् १९७३ मा वेल्सको कामर्थान नजिकै एउटा फार्म हाउस केही भक्तहरुको सहयोगमा खरिद गरिएको थियो। जीर्ण फार्महाउस केही टहराहरु अनि भेंडाहरु र बीस एकड जंगल तथा खेतहरू सहितको जग्गा आफ्नो स्वामित्वमा आएपछि  महिनौंको मेहेनतले सबैभन्दा पहिला भगवान मुरुगन मन्दिर स्थापना गरेका थिए। जहा केवल छ जना भक्तहरु मात्र बस्न सकिने थियो। निरन्तर पूजा पाठ ध्यान तथा सहयोगीहरुको संख्या बढेसँगै नयाँ जमिन जोड्ने र थप मन्दिर तथा सुविधाहरु पनि क्रमिक रुपमा बढ्दै अहिले करिब ३२० एकड जमिनमा फैलिएको छ। कर्मयोग (निःस्वार्थ सेवाको माध्यमबाट ईश्वरसँग मिलन) र भक्ति योग (पूजाद्वारा ईश्वरसँग मिलन) को अनुशासित जीवन पछ्याउँदै थुप्रै भिक्षुहरू र भिक्षुणीहरू स्थाई रुपमा बसोबास गर्ने, स्वयम्सेवा प्रदान गर्ने, भक्तजनहरुको सेवामा दत्तचित्त रहने भएपछि सन् १९८० यसलाई एक परोपकारी ट्रस्टको रुपमा विस्तार गरिएको हो। यो पुरानो मन्दिरलाई पूरा जिर्णोद्वार र विस्तार गरी ठूलो नयाँ मन्दिरको उद्घाटन सन् १९९६को नोभेम्बर ११ मा भएको थियो।

मुख्य सडक छाडेर केही समयको साँगुरो बाटो छिचोलेपछि स्कन्द भेलको कार पार्किङ्ग देब्रेतिर र मिनिबसको लागि अलि माथि दाँयातिर ब्यबस्था गरिएको छ। सार्वजनिक शौचालयहरु एथेष्ट अनि सफा राखिएका छन्। मूल पुरोहितसहित सबैले दैनिक धेरै पटक सरसफाइमा समय दिने गरेका छन्। मुख्य गेटबाट भित्र पस्ने बित्तिकै दाहिनेतर्फ गाई गोठ पछि  भूमि गणेशको रूपमा भगवान गणेशको एक ठूलो मूर्ति राखिएको छ। त्यसपछि प्रशाद ग्रहण गर्ने हलसंगै जोडिएको सन् १९९१ मा स्कन्द भेलमा स्थापना गरिएको दोस्रो मन्दिर महाशक्ति मन्दिर छ जहाँ ठूलो छ फिटको काली मातासंगै लक्ष्मी, पट्टीनी, सरस्वती, माता मरियमको मूर्तिहरु राखिएका छन्। यो गुरु आफैँ बस्ने गरेको घरको तल्लो तल्ला हो जहाँ काली माता बघिनी चढेर गुरुलाई नियमित भेट्न आएपछि स्थापना गरिएको भनिएको छ। मुख्य प्रवेश द्वारको देब्रेतिर हस्पिक, सानो पसल अनि पाहुनाहरु बस्ने ससाना घरहरु छन्। अलि माथि भान्सा काटेर उक्लेपछि सन् १९९९ मा स्थापना गरिएको तेश्रो, विष्णुको रंगनाथ मन्दिर छ। तालको बिचमा भगवान विष्णुको ठूलो मूर्ति उत्तानो गरी सुताएर राखेको छ। प्राकृतिक झरनासमेत रहेको यस मन्दिरभित्र हनुमान, ब्रह्मा, महालक्ष्मी, शिव, बुद्ध, येशु लगायत शिख, इस्लाम, ज्यूजका धार्मिक संकेतहरु राखिएका छन् । नेपालको बुढानिलकण्ठ जस्तो देखिने श्री रंगनाथ पूजा मलाइ विशेष मनपरेको पूजा हो। सबै देबी देवतालाई पालैपालो नुहाउने, कपडा फेरी दिने, पूजा आजा नैबेध चढाउने, शुरुदेखि अन्त्यसम्म संस्कृतका श्लोकहरु सहित सबै उपस्थितहरुले भजन किर्तन गर्ने र संख घण्टको आवाज र धुप बत्तीको बासनाले एक विशेष अनुभूति हुने गर्दछ। त्यसो त सबै मन्दिरमा फरक फरक ढंगले पूरा समय दिएर पूजा गरिन्छ। यस मन्दिरको ठीक अगाडी बोटबिरुवा र चट्टानहरु बीच दत्तात्रेयको तीनमुखे मूर्ति प्रतिस्थापन गरिएको छ। श्रीरंगनाथ मन्दिरको तल तालको बीचमा माता दुर्गाका मूर्तिहरू छन्। यस क्षेत्रको सबैभन्दा टुप्पामा अवस्थित शक्ति मन्दिर पुग्न आधा घण्टा जति हिँड्नु पर्ने हुन्छ। यहा पूजा गर्ने गोरा पुरोहित इन्जिनियर पेशा छाडेर ४८ वर्षदेखि अनवरत रुपमा लागि परेका छन्। सामानहरु लान भने पक्की बाटो नै बनाइएको छ तर सामान्यत भक्तजनहरु भने हिँडेर जानु पर्छ। तर अशक्तहरुलाई भने गाडीमा लाने ल्याऊने व्यवस्था पनि छ।

बीच बीचमा विश्राम गर्नको लागि बेञ्चहरु राखिएका छन् भने डाँडाभरि विभिन्न प्रकारका पशु पन्छी जनावरहरु देख्न सकिन्छ। ससाना करेसाबारीहरुमा सागपात,फलफूल,सुन्दर फूलहरु रोपिएका छन्। वर्षभरि प्रयोग गरिने प्रायजसो सबै तरकारी त्यहाँ नै उत्पादन गरिन्छ । एक बगैँचाको बीचमा संस्थापक गुरु श्री सुब्रहमण्यमको स्मारक र विश्राम स्थल अनि एउटा धेरै ठूलो शालिग्राम राखिएको छ। त्यहाँबाट देखिने वरिपरिका दृश्यहरु मनोरम लाग्दछन्।

त्यहाँ जानुभन्दा तीन दिन अगाडी माछा मासु पेय पदार्थ सेवन गर्न हुँदैन भन्ने छ। कोही कसैलाई थाहा भएन वा खाएको भए कालीको पूजामा सामेल हुन पाइने छैन भन्ने सूचना टाँसिएको छ। पहिलो पटक हामी जाँदा अघिल्लो दिनसम्म  खासै के होला र ? भन्ने लागेको थियो तर त्यहाँ पुगेर सूचना पढेपछि म बाहिर नै बसेको थिएँ। ठूलो टेलिभिजनको पर्दामा पूजा पाठ गरेको हेर्ने ब्यवस्था गरिएको छ। भित्र पसेर मलाई  के होला भनेर भन्दा पनि अरुको आस्थालाई किन अपमान गर्ने भन्ने मेरो बुझाइ रहेको छ।

कम्तिमा चार रातदेखि लामो समयसम्म आश्रममा जो कोही पनि स्वयम् सेवकको रुपमा अनुमति लिएर बस्न सकिन्छ। यसरी बस्ने भक्तहरुले भने अनिवार्य भनिएका सबै क्रियाकलापमा सहभागी हुन् पर्नेछ। बिहान ५  देखि ६ बजेसम्म भगवान मुरुगन पूजा (अनिवार्य), ६:३० देखि ७:३० महाशक्ति पूजा, ९:३० देखि ११ बजेसम्म श्री रंगनाथ पूजा वा सेवा,११ देखि एक बजेसम्म सेवा (अनिवार्य),१३:३० देखि १४ बजेसम्म भगवान मुरुगन पूजा (अनिवार्य),१४:३० देखि १७:३० सम्म सेवा (अनिवार्य),बेलुकी छ बजेदेखि सात बजेसम्म महाशक्ति पूजा,२१:०० देखि २१:४५ सम्म भगवान मुरुगन पूजा (अनिवार्य) सरिक हुनु पर्दछ। यस बीचमा बिहान आठदेखि साढे आठसम्म नास्ता, दिउँसो दुई बजे खाजा र बेलुकी साढे सातदेखि एक घण्टा रात्रि भोजको लागी समय छुट्याइएको छ। एकदिनको लागि मात्र जानेहरुले पनि केही सरसफाई वा भान्सामा काटकुट गरेर सहयोग पुर्याउन सकिने रहेछ। दश पन्ध्र जनालाई घन्टौँ लाग्ने प्याज म एक्लैले आधा घन्टामा छिलाएको देखेर सबै जना छक्क परेका थिए। शुरु शुरुमा त क्याराभानमा बस्ने कोठा तताउन एक पाउण्ड खसाउन पर्ने थियो। अहिले त स्थायी कटेजहरु पनि बनेका छन्। रात बिताउनेहरुको संख्या बढेको कारण अहिले त नजिकैको गाँउमा स्कन्द हफान भनेर सानो ठूलो समूहको लागि छुट्टै बसोबासको ब्यबस्थापन गरिएको छ । त्यसबाहेक स्थानीय रुपमा केही बास बस्न मिल्ने साना लजहरु पनि छन्। अलि टाढा भएको कारण भक्तहरु अघिल्लो रात जाने र बिहान पाँच बजेको मुख्य पूजामा सहभागी हुने र दिनभरिको क्रियाकलापमा सहभागी हुने गर्दछन् । प्रायजसो सबै रैथाने गोरा पुजारीहरुको पूजा गर्ने शैली र समय,संस्कृत भाषामा स्पस्टता देख्दा र सुनिँदा पत्याउन समेत गारो हुने खालको छ। मैले नेपालमा समेत यस प्रकारको विस्तृत विधिसहितको पूजा आजसम्म देखेको छैन।

दैनिक नियमित पूजा पाठका अलावा गुरुको जन्म दिन (२८-३० अक्टोबर)प्रत्येक धर्मका महत्वपूर्ण पर्वहरु, विशेषत पूर्णिमाका दिन वर्षभरि विभिन्न उत्सवहरु मनाउने चलन छ। हामी गत वर्ष पुग्दा शिवरात्रिको लागि भब्य तयारी हुँदै थियो। त्यस्ता अवसरहरुमा स्थानीय तथा बाह्य भक्तहरुको उल्लेख्य सहभागिता हुने गरेको छ। अहिले आश्रम स्थापना गरेको ५० वर्ष पुगेको अवसरमा वर्षभरि थप कार्यक्रमहरु संचालन भैरहेका छन्। यही अवसरमा श्रीडी साइ बाबाको तथा आश्रमका संरक्षक सन्त फ्रान्सिस अफ एसिसीको सम्मानमा दुई मन्दिरहरु स्थापना गरिएको छ। त्यसैगरी भगवान मुरुगनका प्रमुख दुई हतियार भेल र नागा पनि प्रतिस्थापन गरिएको छ। वर्षेनी आउने लाखौं भक्तालुहरुको आर्थिक तथा भौतिक सहयोग र दानले नै आश्रमको सम्पूर्ण खर्च चलिरहेको छ।

स्कन्द भेलका संस्थापक सुब्रहमण्यम

सन् १९८७ मा गुरुलाई अचानक हृदयघात भयो । उपचारको क्रममा अस्पतालमा दिनहरु बिताउँदा उनले अन्य बिरामीहरुको अवस्था बारे देख्ने मौका पाए। प्राय बिरामीहरु एक्लो बस्न पर्ने, कतिका आफन्त समेत नहुने, भएकाहरुले पनि कामको कारण आवश्यक समय दिन नसक्ने, नर्सहरुले चाहेर पनि समय दिन नसक्ने हुन्छ। यस्तो वातावरणमा निको भैसकेका एक वृद्ध व्यक्तिको परिवार वा साथीहरू कोही थिएनन् र केही दिनमा उनको मृत्यु नै भयो। यो घटनाले गुरुमा सानो भए पनि एउटा निशुल्क हस्पिस बनाउन पर्ने र मानिसलाई अन्तिम श्वाश छउन्जेलसम्म मानवीय साथ सहयोग, माया, प्रेम गर्न पर्ने भाव पैदा भयो। फलस्वरुप तुरुन्त नै कार्य थालनी भयो र त्यही वर्ष नै शुरु भयो। उपचार हुन नसक्नेहरुको अन्तिम अवस्थामा हेरचाह हुने स्थान भनिए पनि अहिले देशभित्र बाहिरबाट धेरैको संख्यामा बिरामीहरु आउने र तन्दुरुस्त भएर जाने गरेका पनि छन्। आफू नै बिमारी भएपछि त्यहाँ आउने अन्य बिरामीहरुलाई गुरु आफैँले भेट्ने, समय बिताउने, ध्यान पाठपूजा, जीवन जगतका कुरा गर्ने भएकोले पनि मानसिक रुपबाट पनि धेरैले उपचार पाएको हुनु पर्दछ। शल्यक्रिया पछाडी गुरुले आफ्नो सक्रिय जीवन केही वर्ष बिताएर बाँकी जीवन हस्पिसमा नै बसेर सन् २००७ को जुलाई ३ तारिख आफ्नो पार्थिव शरीर छाडेर गएका थिए। बिचित्रको संयोग त्यही दिन स्थानीय काउन्सिलले त्यहाँ पालिएका साँढेमध्ये शम्भुलाई निको नहुने बोवाइन क्षयरोगको लागेको कारण तुरुन्त नष्ट गर्नुपर्ने सूचना दिएको थियो। यस विषयमा तीन महिना लामो कानुनी लडाई लडेर अदालतबाट शम्भुलाई मार्ने आदेशलाई रोके पनि वेल्स सरकारले पुन पुनरावेदन दिएर उक्त  फैसला उल्ट्याएर २७ जुलाई २००७ मा सो साँढेलाई मारेको थियो। केही समय पछि भक्ति र दक्षिणीलाई पनि नस्ट गरिएको थियो  ।

एक परोपकारी संस्था भएको कारण संसारमा बढिरहेको भोकमरीलाई मध्यनजर राख्दै बेलायतमा फुड बैंकहरु मार्फत र युक्रेन, रोमानिया, श्रीलंका, लाइबेरिया, सोमालील्याण्ड, सियरालियोन, ग्वाटेमाला लगायतका देशहरूमा अन्य परोपकारी संस्थाहरूसँग मिलेर धेरै टन खानाहरु उपलब्ध गराउँदै आइएको छ। गुरुका आफ्ना भक्तहरु स्विटजरल्याण्डमा पनि उल्लेख्य छन्। जीवित अवस्थामा त्यहाँ गुरु पटकपटक पुगेका थिए । केही भक्तहरुले सन् १९९४ मा नै खरिद गरेको जग्गामा सन् २०१६ अक्टोबरदेखि ग्राउबेन्डनको उच्च पहाडमा शिव, शक्ति र मुरुगनको पूजाआजासहित सोम स्कन्द आश्रम संचालन भइरहेको छ।

बेलायत आइ सकेपछि पनि बेला बखत मन्दिर गुम्बा चर्च जाने गरिएको छ। विशेषत: मृत व्यक्तिहरुलाई आफन्तहरुले गर्ने सम्मान र सम्वाद हेर्न र सुन्न बेला बखत श्मशान घाट पनि जाने गरेको छु। सन् २००८ देखि त ओशो सन्याशी नै बनियो। जहाँ पुगे पनि पद प्रतिष्ठा र सर्बमान्य हुने होडबाजी देखेपछि हुलमुलमा आनन्दित हुने बाटो मेरो लागि उचित नभएको ठहर गर्न पुगेको छु । जीवनको उतारचढाव संगसंगै परस्पर पूरापूर विपरित बाटो हिँडियो। एक दिन सामूहिक ध्यानमा सबै जना नाचगान गरिरहँदा आफू माथि नै प्रश्न तेर्स्याउन पुगियो। चुपचाप एक कुनामा गएर घोत्लिँदा पाएको यो जवाफले आफूलाई हलुका महशुश गर्दै आएको छु। धर्म गर वा राजनीति मानिसले चाहेको राम राज्य वा वर्ग विहिन समाज नै हो। यसमा वादविवाद संसार स्थापना भएको अर्बौ वर्षदेखि चलिआएको र सधैँभरि चलिरहने छ। एक जना व्यक्तिले आफूले आफूलाई दुख नदिने, अरुलाई दुख नदिने र अरुले दिएको दुख ग्रहण नगर्ने हो भने एक बारको छोटो चोलामा धेरै कष्ट भोग्न नपर्ने र आफू खुशी रहन सकिन्छ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री