
लन्डन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नेपालमा शुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन्।
मंगलबार ब्रिटिश संसदस्थित सभामुख भवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै डा. कोइरालाले नेपालमा गएको केही दशक यता स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको तर अहिले पनि बाल स्वास्थ्य सेवा राजधानीमा मात्रै सीमित रहेको बताए ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पताल परियोजनाका लागि सहयोग जुटाउन सोमबार बेलायत आइपुगेका डा कोइरालाले पूर्वान्चलको दमकमा बाल अस्पताल निर्माण गरी सेवा शुरु भैसकेको र काठमाडौँको हेपाली हाइटमा सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढिरहेको बताए ।
“संयुक्त राष्ट्र संघले पारित गरेको र नेपालले समेत अनुमोदन गरेको दीगो विकास लक्ष्यको तेश्रो बुँदामा सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने उल्लेख छ। तर नेपालमा एक करोड बढी बालबालिकाका लागि एउटा मात्रै बाल अस्पताल छ। त्यसैले देशभरि नै गुणस्तरीय बाल स्वास्थ्य सेवा पुर्याउन हामीले यो अभियान शुरु गरेका हौँ,” उनले भने।
‘नेपाल जस्तो सीमित साधनश्रोत भएको मुलुकमा सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। हामीले सरकारको कामलाई सघाउन लागेका हौँ । त्यसैले यो अभियानलाई मन खोलेर सहयोग गर्न म बेलायतमा रहनु भएका गोर्खा दाजुभाइ दिदीबहिनीहरु लगायत सम्पूर्ण नेपालीहरु हार्दिक आग्रह गर्दछु,’ उनले भने ।
उक्त समारोहलाई सम्बोधन गर्दै ब्रिटिश संसदको तल्लो सदन (हाउस अफ कमन्स) का सभामुख सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताए। सभामुख होयलले आफू मधुमेहको बिरामी रहेको र झन्डै तीन वर्ष पहिले एकजना नेपाली चिकित्सक ( प्रा राजभण्डारी) ले आफ्नो ज्यान बचाएको स्मरण पनि गरे। उनले नेपालमा सुविधासम्पन्न बाल अस्पतालहरु बनाउने परियोजनालाई सघाउन अपिल पनि गरे।
उक्त समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन डा कोइरालाले शुरु गर्नुभएको अभियानको प्रशंसा गरे । उनले नेपाल सरकार, निजी क्षेत्र तथा समुदायको सामूहिक सहयोग परिचालन गरेर अस्पताल संचालन गर्ने यो अभियानलाई सबैले सहयोग गर्नु पर्ने बताए ।
बेलायतमा दर्ता भएको गैर सरकारी संस्था (हेल्थ एक्सचेन्ज नेपाल)का संस्थापक प्रा सत्येन राजभण्डारीले आफ्नो संस्थाले नेपालमा महाभूकम्प र कोभिड १९ को बेला पनि सहयोग परिचालन गरेको स्मरण गरे । उनले डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरे ।
कियोच युके सहयोग समितिका संयोजक ओजेश सिंहले नेपालको बाल अस्पताल परियोजनाहरुलाई सघाउन यही शनिबार (८ जुलाई) बेलायतको अल्डरशटमा एक च्यारिटी डिनरको आयोजना गरिएको भन्दै उक्त कार्यक्रममा सहभागी भई सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा ब्रिटेन-नेपाल सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा सांसद वीरेन्द्र शर्मा, बेलायतमा कार्यरत नेपाली चिकित्सकहरु, व्यवसायी, उद्यमी तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा