अक्टोबर ७ मा आसफोर्डमा गंगाराज राई एकल साँझ

लण्डन । नेपाली कला साहित्य मञ्च यूकेले आउँदो अक्टोबर ७ तारिखका दिन बेलायतको आसफोर्डमा गायक गंगाराज राईको एकल सांगीतिक साँझ गर्ने भएको छ ।
सेन्ट साइमन हलमा हुने सो साँझमा करिब दुई दशकदेखि नेपाली गीत संगीतको साधनामा लागेका गायक राईले लाइभ ब्याण्डका साथ आफ्ना प्रस्तुति दिनेछन् ।
सो कार्यक्रमलाई सगरमाथा गोर्खा नेपाली कम्युनिटी आश्फोर्ड तथा नेपाली कलाकार प्रस्तोता समाज बेलायतसितको सहकार्यमा आयोजना गरिएको छ ।
भोजपुरमा जन्मिई सन् २०१० यता सपरिवार बेलायतमा बसोबास गर्दै आउनु भएका राईले वि.सं २०६४ मा रेडियो नेपालमा आधुनिक गीत गायनमा स्वर परीक्षा पास गर्नु भएको छ । वि.सं २०५८ सालमा आफ्नै शब्द र संगीतमा रेकर्ड गरिएको “माया पायौ कि अरुलाई दियौ” उनको पहिलो गीत हो । उनको “कहाँबाट सुनाऊँ म”, “दिन छैन तिमीलाई नसम्झेको”, “यस्तो एउटा संसार खोज्न”, “हिजो थियौ तिमी मेरी” आदि बोलका गीतहरु चर्चित छन् । राईको एक सय भन्दा बढि गीतहरु रेकर्ड भइसकेका छन् ।
गंगाराज राई एकल साँझ सांगीतिक कार्यक्रमको जीवन्त वाद्यवादकहरुमा संगीतकार गणेश गुरुङ (हार्मोनियम÷किबोर्ड), महेश गुरुङ (तबला), थीर थापा (हार्मोनियम÷किबोर्ड), इन्द्र गुरुङ (बाँसुरी÷सेक्सोफोन), रेसम पाचे (ढोलक÷मादल), शुरज गुरुङ (लिड गितार), विकल थापा (रिदम गितार), होइशेर तामाङ (बास गितार) र प्रभास गुरुङ (ड्रम) रहनु भएको छ ।
बेलायतमा बसोबास गर्दै नेपाली कला साहित्यको विविध क्षेत्रमा क्रियाशील ब्यक्तिहरु र यस क्षेत्रलाई प्रेम गर्नेहरुको पहलमा नेपाली कला साहित्य मञ्च यूके नामक संस्था स्थापना गरिएको हो । संस्थाले पहिलो सार्वजनिक कार्यक्रमको रुपमा गएको २८ फेब्रुअरी २०२३ मा सुप्रसिद्ध अभिनेता, निर्देशक तथा गीतकार नीर शाहसँग प्रत्यक्ष अन्तरक्रिया सम्पन्न गरेको थियो । गैर नाफामूलक यस संस्थाले सृर्जनशील क्षेत्रका सर्जक, रचनात्मक समीक्षक अनि आम प्रशंसकहरुबीच अन्तरक्रियात्मक सम्बन्धबाट नेपाली कला साहित्यमा निखारता ल्याउने, सर्जकहरुलाई उत्प्रेरित गर्ने साथै उत्कृष्ट सर्जक र सिर्जनाहरुलाई प्रवद्र्धन गर्दै जाने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री