
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ । भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । “भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक/दुई दिनमै टुङ्गो लाग्छ । नयाँदिल्लीसहित अन्य मुलुकमा पनि उडान विस्तार गर्ने योजना छ”, उहाँले भन्नुभयो ।
प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिनेछ । दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना छ ।
निगमले हाल काठमाडौँबाट हङकङमा सातामा दुई उडान गर्दै आएको छ । त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ । दुवै गन्तव्यमा भैरहवाबाट कति उडान गर्ने भन्ने अहिले टुङ्गो लागिनसकेको प्रवक्ता पौडेलले बताउनुभयो ।
निगमले गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नाका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको हो ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।
विसं २०७९ जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरले उडान गर्दै आएपछि पछिल्लो समय प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा