
लण्डन । बेलायतका तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती संसदलाई बदनियतपूर्वक ढाँटेको संसदीय समितिले ठहर गरेको छ ।
संसदीय समितिले बुधबार सार्वजनिक गरेको ३० हजार शब्दको प्रतिवेदनमा जोन्सनले संसद र संसदीय समितिलाई जानाजान गलत जानकारी दिएको निस्कर्ष निकालेको हो ।
जोन्सनलाई ९० दिन संसदबाट निलम्बन गर्न पनि समितिले सिफारिस गरेको छ तर जोन्सनले समितिको सो प्रतिवेदन पाएलगत्तै सांसद पदबाट राजिनामा दिइसकेका छन् ।
समितिले जोन्सनलाई पूर्व सांसदका हैसियतले वेष्टमिन्सटरमा पाउने प्रवेश नदिन पनि सिफारिस गरेको छ । समितिले जोन्सनले समितिलाई तर्साउन खोजेको र अमर्यादित हर्कत गरेको पनि आरोप लगाएको छ ।
जोन्सनले भने प्रतिवेदन जारी भएलगत्तै करिब १७०० शब्द लामो प्रेस विज्ञप्ति निकालेर प्रतिवेदन बिना सबुतको भएको र आफूलाई राजनीतिबाट हटाउने उद्देश्यप्रेरित भएको आरोप लगाएका छन् ।
जोन्सनले कोरोना महामारीका बेला देशभर लकडाउन जारी गरेर आफू भने आफ्नो कार्यालयमा पार्टी गरेको आरोप लागेको थियो । सो बारेमा वरिष्ठ निजामति कर्मचारीको छानविन समितिले उनलाई दोषी देखाएको थियो भने प्रहरीले जरिवाना पनि गरेको थियो ।
सो बारेमा संसदमा कुरा उठेपछि संसदले विभिन्न पार्टीका सांसद रहेको छानबिन समिति गठन गरेको थियो । सो समितिमा सत्तारुढ कन्जरभेटिभका चार, प्रतिपक्षी लेबोरका दुई र स्कटिश न्याशनालिष्ट पार्टीका एक सांसद छन् ।
सो समितिको सिफारिसमाथि अब संसदले निर्णय लिने छ । तथापि जोन्सनले राजिनामा दिइसकेको हुनाले बाँकी सिफारिसमाथि संसदले के गर्ने हो हेर्न बाँकी छ ।
जोन्सन र संसदबीच पहिलेदेखि नै टसल चल्दै आएको छ । ब्रेक्जिटका बारेमा संसदमा बहस चल्दा प्रक्रिया लामो भएको भन्दै उनले संसदनै निलम्बन समेत गरेका थिए तर त्यसलाई अदालतले उल्टाएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा