नेफिन युकेद्वारा आविष्कार केन्द्रलाई पाँच लाख सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।
सो अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महावीर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताउनुभयो । केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उहाँले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गर्नुभयो ।
त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।
अभियानबारे अझैपनि धेरैले नबुझेको भन्दै उहाँले अभियानको वास्तविकता धेरैले नबुझेको समेत बताउनुभयो । ‘राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ । अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छु, उहाँले भन्नुभयो, ‘केहीले यस विषयमा नबुझेर नै टिकाटीप्पणी पनि गरिरहनुभएको छ । यो अभियान २र४ वर्षको प्रोजेक्ट होइन । यसको क्षेत्र बृहत् छ । यसको समय अनन्त कालसम्मको छ । यसको वास्तविकता बुझाउन आवश्यक छ ।’
यसैगरी सो अवसरमा महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताउनुभयो । आफ्नै प्रयासमा आफ्नै देशभित्र महावीर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उहाँको उद्देश्य पूरा गराउन महासंघको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उहाँले उक्त सम्झौता कार्यान्वयन नभए महासंघलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँ (महावीर पुन)ले आफ्नो देशमा सुरु गरेको अभियान राम्रो छ । उहाँहरू लाग्नुभएको छ भनेपछि केही न केही महत्व छ । उहाँहरूको उद्देश्य पूरा गराउन हामी लाग्छौँ, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘सरकार र केन्द्रबीच हालै भएको सम्झौता कार्यान्वयन पक्कै हुनेछ । यदी कार्यान्वयन भएन भने हामीलाई खबर गर्नुहोला । त्यसमा हामी पहलकदमी गर्छौ ।’
त्यस अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री