अर्को ढोले खोइ ?

युद्ध हुन्छ । श्रीमान र श्रीमतीबीच हुन्छ । दाजु र भाइबीच हुन्छ । दिदी र बैनीबीच हुन्छ । गाउँ र बस्तीमा हुन्छ । समाजको हरेक कुना कुनामा हुन्छ । किनभने युद्ध हुनु समाज शास्त्रको नियम नै हो । जसको आफ्नै बिधि, पद्दति र गति हुन्छ ।
युद्ध जहिले पनि सशस्त्र मात्र हुन्छ भन्ने केही छैन । यो कुनैबेला निशस्त्र पनि हुन सक्छ । त्यसैले युद्ध मात्र एउटा यस्तो चिज हो । जुन परिवार, टोल, समाज र देश देशमा अदृश्य रुपमा सदैव भइरहने गर्दछ । जसले गर्दा यसलाई अन्यथा नलिए पनि हुन्छ, किनभने यो नियमित प्रकृया नै हो । तर युद्ध जतिबेला पायो त्यतिबेला बाहिरी धरातलमा चमक्कै चम्किएर देखा पर्दैन । बरु त्यो त्यतिबेला देखा पर्छ जतिबेला मानिसको विचारमा आवेग, कुण्ठा, इर्ष्या, डाह, रिस, क्रोध, रोष र घमण्डले सीमा नाघ्छ । हो, त्यसबेला मात्र यो उत्कर्ष बिन्दुमा पुग्छ र सतहमा देखा पर्न थाल्छ ।
तिनै युद्ध शब्दलाई सम्झँदै गर्दा मलाई वादविवादका पिता हेगेलको याद आउने गर्छ । हेगेलियन सिद्धान्तमा वाद (थेसिस) प्रतिवाद (एन्टिथेसिस) र सम्वाद (सिन्थेसिस) मा पुगेर हरेक विवादको अन्त हुने गर्छ । तर उनले प्रतिपादन गरेको सिद्धान्तले किरात राई यायोख्खा, बेलायतको विवादलाई आजका दिनसम्म निमिट्यान्न बनाउन सकिरहेको छैन । र, सम्वादले झगडा सुरु भएको मितिदेखि लगभग हजार दिन पार गर्नै लाग्दा सहमतिमा पुग्ला जस्तो छाँटकाँट देखाएको छैन ।
मानिस सामाजिक प्राणी हो । अझै हामी यस धर्तीमा भएका अन्य प्राणीहरुमध्ये हरेक कुरोमा सर्वश्रेष्ठ छौं । यद्यपि सामाजिक प्राणी भएकै कारणले समाजमा बस्दा के कसरी बस्नु पर्छ भन्ने कुरो हामीलाई राम्रैसँग हेक्का छ । त्यसैले निहित र निजी स्वार्थलाई भुलेर “अधिकतम मानिसहरुको अधिकतम खुसी” को लागि काम गरिनु पर्छ भन्ने उपयोगितावादका पिता जेरेमी बेन्थमको भनाइलाई सर्वोपरि स्वीकार गरेका छौं । तर कुनै कुनैबेला गेम्बल लेनमा ‘एक्स्ट्रा मेसिङ’ बन्दोबस्तीको साथमा आफ्नो धारणा राख्दै गर्दा र कुनै कुरोको निर्णय गर्दै गर्दा अधिकतम बेलायती राईहरुको हितमा छ कि छैन भनेर दोहोर्याएर वा तेहेर्याएर सोच्ने समय तिनै घोडे गोठको बार्दलीमा आएको छ ।
वास्तवमा धारणा (परसेप्सन्स) एउटा गम्भीर विषय हो । मलाई धारणाको कुरो गर्दा बहुचर्चित स्कटिस दार्शनिक डेभिड ह्युमको यादले खुबै सताउने गर्छ । उनले “अ ट्रिटीज अफ हुमन नेचर” मा मानिसहरुले आफ्नो धारणालाई साधरणतया दुई तरिकाले व्यक्त गर्ने गर्छन् भनेर लेखेका छन् । पहिलो प्रभाव (इम्प्रेसन्स) र दोश्रो विचार (आइडियाज) हो । अझै प्रभावलाई पनि उनले दुई भागमा बाँडेका छन् । पहिलो अनुभूतिको प्रभाव र दोश्रो प्रतिविम्वको प्रभाव । सोही प्रकारले मानिसलाई आउने विचार पनि उनले दुई चिरामा विभाजन गरेका छन् । पहिलो स्मृतिको विचार र दोश्रो कल्पनाको विचार ।
कुन मानिसको विचार कहाँदेखि प्रतिपादन हुन्छ । म त्यसतर्फ जान चाहन्न । तर मानिसको विचारले समाजमा ठूलो असर पार्छ । चाहे त्यो सकारात्मक वा नकारात्मक विचार नै किन नहोस् । तर मैले यहाँ के भन्न खोजिरहेको छु भने जातिय संस्थाभित्र रहेर नकारात्मक विचारलाई मात्र आश्रय दिने हो भने हामीलाई लक्ष्यमा पुग्न निक्कै जटिल हुन्छ । त्यसले समुदायमा जता छोयो उतै समस्या मात्र उत्पादन गरिरहन्छ । जस्को फलस्वरुप एउटै आमाको लाम्टा चुसेर हुर्केको दाजु र भाइ बीच फाटो ल्याइ दिन्छ । दिदी र बैनीको सुमुधुर सम्बन्ध नराम्रो बनाइ दिन्छ । छिमेकी छिमेकीबीच हुने आपसी सदभाव, सहिष्णुता र भातृत्वलाई तिलान्जलि दिन्छ । अन्ततः सोझासाझा र निमुखाहरुलाई फरक फरक समूहको पुच्छर समातेर वैतरनी तर्दै हिँड्न पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गराइदिन्छ ।
त्यसैले त्यसो नगरौंँ । बरु उच्च विचार लिऊँ । किनभने मानिस सबैभन्दा चेतनशील प्राणी हो । हामी जस्तोसुकै समस्यामा भासिएको भएता पनि एक आपसमा छलफल गरेर सहमतिमा सजिलै पुग्न सक्छौं । तर विडम्वना के छ भने कसै कसैले यहाँ भएका सम्पूर्ण किराँतीहरुको प्रतिनिधित्व हामीमात्र गर्छौं । हाम्रो भाषा, धर्म र संस्कृतिको विषयमा हामीमात्र जानिफकार छौंँ । अथवा हामीले जति अन्य कसैले जानेको छैन र जति जानेको छौंँ त्यो नै “अन्तिम सत्य” हो भनेर अहमवादलाई स्थायित्व दिन्छौं ।
त्यसो गर्न महाभूल हो । हुनत यहाँ कुरो अहमवादको मात्र छैन् । टपरटुइयाँवादको पनि छ । नेपाली शब्दकोषलाई ओल्टाइ पल्टाइ पढ्ने हो भने टपरटुइयाँको अर्थ अध्ययन, ज्ञान र अनुभव आदि केही नभएको मानिसको विचार हो । तर सदगुरुको जति भित्री ज्ञान नभए पनि बाहिरी बठ्याइँबाट आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने विचार हो भनेर हामी झन् सजिलै बुझ्न सक्छौं । यहाँनेर मलाई के लाग्छ भने टपरटुइयाँवाद संस्थामा घृणा र आक्रोशको बीचबाट सरर फैलिएर आउने गर्छ । अनायासै यसरी निस्केको वाद सिर्जित हुँदै बेढङ्गी तरिकाले बढ्दै जाँदा त्यसलाई चिर्न निक्कै कठिन हुन्छ । किनभने टपरटुइयाँवादले संस्थाका सबै मानिसको हृदयलाई सजिलै विजय हासिल गर्न नसकेपनि डर, धम्की र त्रास देखाएर सास्ती दिने गरिरहन्छ ।
यी माथिका दुई कारणहरुलाई सरसर्ती हेर्ने हो भने हरेक मानिसलाई एक पटक मज्जाले सोच्न बाध्य तुल्याउँछ । तर, “सोच्न एकदम कठिन हुन्छ, त्यसैले मानिसहरु निर्णय गर्नतिर लाग्छन्,” विश्लेष्णात्मक मनोविश्लेषक कार्ल यङले आफ्नै गुरु सिग्मन्ड फ्रायडलाई उछिन्दै त्यसो भनेका छन् । यस्तो स्थितिमा क–कस्ले के के भन्दैछ वा क–कस्ले के के गर्दैछ भनेर हामी कहिले पनि सोच्दैनौंँ । आ…. बेलायती किराँतीहरु दुईवटा समूहमा विभाजित भएका छन् । तिनीहरुमध्ये एउटा समूहलाई छानौं । र, त्यतैतिर लागौँ है भन्ने हुन्छ वा दुवैलाई छाडौँ र निस्कृय बसौँ है भन्ने रहर हुन्छ ।
हुनत मैले यहाँ आफ्ना विचारहरु यसरी पोख्दै गर्दा कसैलाई गाली वा बेइज्जत गर्ने उद्देश्य त पटक्कै लिएको छैन । त्यसै त म – भूइँमान्छे ! अझै मेरो उमेरले लगभग छ दशक समय पार गरिसकेको छ । त्यसैले मसँग संसार परिवर्तन गर्ने त्यति धेरै आकाङ्क्षाहरु पनि छैनन् । तर आफ्नो जातिय संस्थामा भएको खटपट र गडबडीले उग्र रुप लिँदा कमाएको बदनामी र घृणाको खबर सुस्तरी भुसको आगोझैं फैलिएर पूर्व ३ नम्वर ओखलढुङ्गा, खोटाङ, भोजपुर हुँदै क्रमशः पूर्व लाग्दा भोटिया बस्ती, दार्जिलिङदेखि नाम्ची, सिक्किमसम्म मात्र नभएर यलम्बर पार्क – टाइमोसान डाँडा हङकङको शाकेला स्थलमा “झिङ्गा सिली” टिपिरहेको एक जना वयोवृद्ध राईदेखि “नेपाली सपना” बोकेर सुम्निमा पार्क – ज्याक्सन हाइट, न्यूयोर्कमा पुगेर सोही सिलीमा नाचिरहेको अर्को युवा राई–राईनीको कानसम्म पुग्दा मेरो मन धर्धरी रोएको अनुभूति हुन्छ ।
त्यसैले – अहिले समूहहरुको शक्तिमा जो जो आसिन हुनुहुन्छ । कृपया ! स्वच्छ दिमागले पुनः एकपटक सोची दिनुहोला भन्ने विनम्र अनुरोध यिनै लेखमार्फत गर्दछु । तर, यो मेरो नितान्त व्यक्त्तिगत विचार हो । यदि सोची दिनु भएन भने हरेक वर्षको बैशाख महिनामा तिथिमिति, बार, नक्षत्र, ग्रहदशा र योग हेरेर उभौली पूजाको दिन छानेको व्यर्थ हुन्छ । जुन दिनलाई धार्मिक, सांस्कृतिक वा सामाजिक दृष्टिले अति महत्वपूर्ण दिन मानिन्छ । नत्रभने त्यति ठूलो उत्सव, पर्व, चाड वा विशिष्ट दिनलाई हामीले जानेर वा नजानेर यसै यसै विनाश गर्दै लानेछौं । अनि एक आपसमा यसरी भाँडिएर क्रमशः आफैं बिच्छेद, सखाप र भष्म भएर जानेछौंँ ।
मैले यसो भनिरहँदा एउटा कुरो के याद गर्नु पर्छ भने समय जहिले पनि शक्तिशाली हुन्छ । विगतको समय र परिस्थितिले हामीलाई जस्तोसुकै अवस्थामा पुर्याएको भएपनि पुरानो कुरोलाई सुस्तरी भुल्ने प्रयत्न गरौं । र, नयाँ शिरादेखि क्रमशः अगाडी बढ्न थालौं । आखिर नौ लाख किराँतीहरु भनेका जमिनका दुबो न हुन् । विकराल परिस्थितिमा विशाल चट्टानमुनि परेर पहेलै भएपनि भोलि जमिनमा निस्कँदा हरियो भएर निस्कने नै छौं । त्यसैले हिजो हामी थियौ । आज छौं र भोलि पनि रहने छौं । त्यसैले एक आपसमा भएका, गरेका सबै नराम्रा कुराहरुलाई चट्टै बिर्सौं र राम्रा कुरादेखि पाठ सिकेर इतिहासको निर्माण गर्न सुरु गरौं ।
त्यसपछि गेम्बल लेनमा भात खाएर मिलौं वा नखाइ मिलौं । दुई बोतल घरेलु रक्सी राखेर मिलौं वा नराखी मिलौं । चुल्हामा आगो बालेर एक अर्काको क्रोध, रिस, इर्ष्या र डाहलाई जलाएर मिलौं वा आगो नबाली मिलौं । चुल्हा राखेर मिलौं वा चुल्हा सारेर मिलौं ।
जे होस् – “कृपया ! एक आपसमा मिलौं ।” यसैमा हामी सबैलाई फाइदा छ । हामी सबैको कल्याण छ । हामी सबैको भलो छ । तर कहिलै मिल्न सकेनौँ भने पनि केही गर्न त सकिन्न । तैपनि कति दिनसम्म एक अर्कामा शिर निहुर्याएर हिँड्नु पर्ने ? संस्थाको उत्तरदायित्व वहन गर्ने मानिसहरुले त्यसको उत्तर खोजौं । अन्यथा यस्तो अवस्थालाई देखेर “सुम्निमा र पारुहाङ” ले त हामीलाई यस्सै माफ गर्दैनन् होला ? एक आपसमा झगडा गरेर गलत पाठ सिकाएवापत हाम्रा सन्ततिहरुले पनि हामीलाई बेस्सरी धिकार्ने छन्, गाली गर्ने छन् र सराप्ने छन् ।
नत्रभने मनभरि पिरको व्यथा बोकेर गेम्बल लेनको शाकेला थानमा आ–आफ्नो समूहले गरेको शाकेला पूजामा फन्फनी तीन चक्कर घुमेर “थिबिया सिली” मा नाच्दै उफ्रँदै गर्दा गत सालसम्म ढोलझ्याम्टा बजाएर सँगसँगै नाचेको ढोले लामो समयसम्म हराएपछि तिनै ढोलेलाई सम्झँदै, रुँदै यी मुनिका हरफहरु पटक पटक गुन्जाइरहनु पर्छ, गुन्जाइरहनु पर्छ ।
मझुवा बेसी सैरैमा, भेट भयो धेरै धेरैमा ।
सोइ ढोले सोइ !
तर…….
अर्को ढोले खोइ ? अर्को ढोले खोइ ? अर्को ढोले खोइ ?
अक्सफोर्डसायर ।

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री