
काठमाडौँ । बेलायत सरकारका तर्फबाट खटाइएको सैनिक टोलीमा रहँदा अफगानिस्तानमा विस्फोटमा परी दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक: हरिबहादुर बुढामगर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आज सोलुखुम्बु प्रस्थान गर्नुभएको छ ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिनुभएको थियो । बुढामगरले आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएका बुढामगरका दुवै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा यसअघि नै सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’गर्ने उहाँ पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।
लामो प्रतीक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बुढामगरलाई उद्धृत गर्दै महानिर्देशक लुइँटेलले बताउनुभयो ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उहाँ पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले माउन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसक्नुभएको छ ।
बेलायतको क्यान्टरबरीमा बसोबासरत रोल्पाका बुढामगर साहसिक खेलमा रुचि राख्नुहुन्छ । प्रेरणादायी प्रवचनका लागि कहलिएका बुढामगरले विभिन्न प्रतिष्ठानहरूमा प्रवचन पनि दिइसक्नुभएको छ । उहाँले व्यक्तिले हिम्मत नहारी निरन्तर लागिरहेमा जे काम पनि गर्न सम्भव छ भन्ने सन्देश दिन र अपाङ्गताका बारेमा जनचेतना फैलाउन आरोहण गर्न लागेको बताउनुभएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त