अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प न्युयोर्कमा

(AP Photo/Bryan Woolston)

न्युयोर्क । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुग्नु भएको छ । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उहाँले वकिलहरूसँग परामर्श गरिरहनुभएको छ ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आउनुभएको छ । नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।
पूर्वराष्ट्रपतिको सुरक्षाका निम्ति गुप्तचर सेवाका अधिकारीले विशेष तयारी गरेका छन् भने अन्य सुरक्षा निकायले पनि म्यानहाटनस्थित अदालत बाहिर सम्भावित विरोध प्रदर्शनसमेतलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेका छन् । उक्त अदालततर्फ जाने पैदलयात्री मार्गमा तगारा लगाइएका छन् ।
पूर्वराष्ट्रपति ट्रम्पलाई सङ्घीय जाँच ब्युरो (एफबिआई), न्युयोर्क महानगरको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रेट सर्भिसले सम्बद्ध निकायसँग समन्वय गरेका छन् ।
अभियोग सामना गर्न अदालतमा उपस्थित भएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको बताउनुहुने उहाँका वकिलहरूले बताएका छन् । त्यसअघि उहाँको औँठाछाप लिने, तस्बिर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ । यद्यपि उहाँलाइ हतकडी लगाइने छैन । अदालतमा उहाँलाई औपचारिकरूपमा अभियोग लगाइएपछि न्युयोर्क सिटी अदालतका एकजना न्यायाधीशले उहाँमाथि लागाइएका अभियोगबारे जानकारी दिनुहुनेछ ।
पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको मुद्दाको सुनुवाई कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन भने मुद्दा दर्तापछि चुनिने न्यायाधीशबाट अन्य विवरण प्राप्त हुनसक्नेछ । बुधबार अदालतले उहाँलाई धरौटीमा रिहा गर्ने अनुमान गरिएको छ ।
वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले गत साता उहाँलाई फौजदारी अभियोग लगाएको थियो । ट्रम्पले केही साताअघि आफू पक्राउ पर्नसक्ने बताउनुभएको थियो । अन्ततः पक्राउबाट जोगिन उहाँ अदालतसमक्ष आत्मसमर्पण गर्ने निष्कर्षमा पुग्नु भएको छ । म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उहाँका वकिलसँग सम्पर्क एवम् समन्वय गरेका थिए ।
अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । छयत्तर वर्षीय ट्रम्पले म्यानहाटन जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसर्पण गरेपछि अदालतमा उपस्थित गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री