राजा चाल्सको भ्रमण: के राजनीतिक नयाँ आयाम हो ?

जर्मन संसदलाई सम्बोधन गर्दै राजा चाल्स (Photo by Tobias SCHWARZ / AFP)

वी नेपाली । सामान्यतया कुनै पनि मुलुकका राजा राज्याभिषेक नहुँदासम्म विदेश भ्रमणमा जाँदैनन् तर बेलायती राजा धर्मपत्नी कमिलासहित जर्मनीको भ्रमणमा गए । त्यतिमात्र नभएर बेलायती राजाले सर्वप्रथम कमनवेल्थ राज्यको भ्रमण गर्नु पर्ने हो भन्ने तर्क पनि एक पक्षबाट आएको थियो । तर उनले त्यसो गरेनन् । त्यसै कारणले पनि बेलायती राजा चाल्सको यतिबेला जर्मनीमा भएको भ्रमणलाई अत्यधिक महत्वका साथ हेरिएको छ ।

राजा चाल्सले भ्रमणको दोस्रो दिन जर्मन संसदलाई सम्बोधन गरे । सम्बोधनमा उनले प्रष्ट नभनेपनि बेलायत युरोपियन युनियनबाट अलग्गिएपछि बेलायतको अर्थतन्त्रमा धक्का परेको कुरा सर्वसाधारणले बुझ्ने गरी बताए ।

त्यतिबेला वामपन्थी सांसदहरूले राजा चाल्सको प्रशंसा गरे। आफ्नो भाषणको अन्तमा उनले फुटबलमा जर्मनी र इङ्ल्याण्ड बीचको प्रतिस्पर्धालाई भन्दा बढी राजनीतिक सम्बोधन गरे । उनले भने- हामी एकअर्काको संस्कृतिको प्रशंसा गर्छौं, हामी आर्थिक रूपमा एकअर्कामा निर्भर छौँ । हाम्रा एकअर्काको विचारले हामीलाई प्रेरणा दिन्छ ।

उनले आप्mनो सम्बोधन जर्मन भाषामा गरेका थिए । सम्बोधनमा उनले पूर्व युद्धकालीन शत्रु जर्मनी र ग्रेट ब्रिटेन बीच युद्ध पछिको घनिष्ठ सम्बन्धको बारेमा बताउँदै उनले साझा र अथक प्रयासबाट हाम्रो सम्बन्ध सुध्रेको हो भन्दै उनले आगामी दिनमा राम्रो भविष्यको लागि प्रयास गर्ने प्रतिबद्धता गर्दै जर्मन नागरिकहरुलाई समेत  आह्वान गरे । उनी जर्मन संसदमा बोल्ने पहिलो सम्राट हुन् यद्यपि वामपंथी पार्टी दी लिंकेले राजा चाल्सलाई संसदमा सम्बोधन गर्न दिने कुराको आलोचना गरेको थियो ।

ब्रिटिश राजा चाल्स र रानी कमिलाले जर्मनी भ्रमणको दोस्रो दिनमा थुप्रै कुराहरु हेर्न भ्याए । संसदमा सम्बोधन गरिसके पछि उनीहरु अर्गानिक गाउँमा  र शरणार्थीहरूको आगमन केन्द्रमा पुगे ।

भ्रमण क्रममा राजा चाल्सले बर्लिन नजिकैको अर्गानिक साप्ताहिक बजारको समेत भ्रमण गर्न भ्याए ।

जर्मन  राष्ट्रपतिसँग बेल्लेभ्यू प्यालेसमा साँझको खाना पछि उनीहरुलाई जर्मन चान्सलर ओलाफ स्कोल्जले स्वागत गरे ।

चाल्सको जैविक खेतीसँगको बलियो सम्बन्ध रहेछ भन्ने स्पष्ट भयो जब उनले ब्रान्डनबर्गको ब्रोडोविन अर्गानिक गाउँको भ्रमण गरे।

ठूलो गर्जनको साथ आएको आँधीले मिनेट मिनेटमा अवरोध गरेपनि उनले एउटा गाईको बाच्छालाई मुसार्न भ्याए ।

त्यसपछि गाउँलेले राजालाई सेतो चकलेट केक, आइसिङ ज्वेलर्स र विशेष अंग्रेजी स्पन्ज केक, अंग्रेजी बटरक्रिम र रास्पबेरीले स्वागत गरे । ‘राजालाई रास्पबेरी मन पर्छ’- दस किलो क्यालोरी बम बनाउने मास्टर कन्फेक्शनर एन्जे न्युम्यानले भने ।

जर्मनीको आफ्नो यात्रा क्रममा, चाल्सले राजनीतिसहित अन्य विशेष विषयहरूमा पनि ध्यान केन्द्रित गरे । जस्तै जर्मन ब्रिटिश सम्बन्ध, साझा मूल्यहरूको लागि खडा, सैन्य सहयोग । बेलायत ईयूबाट बाहिरिएको तीन वर्षपछि युरोप र जर्मनीसँग बेलायतको सम्बन्धमा नयाँ अध्याय शुरु हुन लागेकोले राजनीतिक रूपमा उनको यो भ्रमण महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री