कवि उपेन्द्र सुब्बा चलचित्र निर्देशनमा

Photo: Anish Regmi

काठमाडौँ । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहनुभएका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताउनुभयो । “म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ”, निर्देशक सुब्बाले भन्नुभयो, “ नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ ।” उहाँले लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने चलचित्रमा एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने सन्देश रहेको जानकारी दिनुभयो ।
अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको जनाकारी दिनुभयो । “यसले श्रीमान्सँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ । जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौँ”, अभिनेता राईले भन्नुभयो । सोही मितिमा आफू अभिनित अर्को चलचित्र ‘बिहे पास’ समेत प्रदर्शन हुनुलाई उहाँले सहजरूपमै लिन आग्रह गर्नुभयो । “सायद कोरोनापछि तयार भएका चलचित्रलाई दर्शकसम्म पु¥याउन सबैले राम्रो समय हेर्नुभएको हुन् सक्छ । म यहीँ समयमा छायाङ्कनमा समेत हुन्छु । यद्यपि यो सब प्रक्रिया नै हो”, उहाँले भन्नुभयो ।
अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताउनुभयो । “मैले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरे । यद्यपि यसलाई कुनै एकभन्दा पनि सबैले महसुस गर्नुहुनेछ । किनकि यो हाम्रै समाजको कथा हो”, अभिनेत्री मगरले भन्नुभयो । चलचित्रलाई ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले निर्माण गर्नुभएको छ । उहाँले राम्रो कथालाई दर्शकसम्म पुर्याउन आफू र आफ्नो टिमले निर्माणममा सहकार्य गरिरहेको बताउनुभयो। चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री