
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनमा सीमित बन्यो ।
युएईका लागि ओपनर मुहम्मद वासिम शून्य रनमा आउट भएका थिए भने अर्का ओपनर आसिफ खानले ८२ रनको योगदान दिए । त्यसैगरी आर्यन लाक्राले ५० रन जोडे भने वृत्य अरविन्दले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
युएईलाई १८७ रनमा समेट्ने क्रममा नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट झारे भने आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए ।
युएईका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । यस खेलसँगै नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । यता युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अङ्कका साथ छैटौँ स्थानमा छ ।
सन् २०१९ देखि जारी उक्त प्रतियोगितामा नेपालको विदेशमा हुने यो अन्तिम त्रिकोणात्मक शृङ्खला हो । शृङ्खलाअन्तर्गत नेपालले पपुआ न्युगिनीसँगको दुवै खेल जितेको थियो ।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु