आज प्यान केक डे  

प्रत्येक वर्ष इस्टर आइतबारको ४७ दिन अगाडी मंगलबार पर्ने र उक्त दिन  विश्वका धेरै देशहरूमा एक क्रिस्चियन चाड मनाइन्छ। यसलाई श्रोभ मंगलबार  भनिन्छ । यस वर्ष आज अर्थात् फेब्रुवरी २१ गते परेको छ।  यो नाम पुरानो शब्द ‘श्रिभिङ’ बाट आएको हो, जसको अर्थ कसैको पाप सुन्नु र क्षमा गर्नु हो। एङ्ग्लो-स्याक्सन इङ्गल्याण्डमा क्रिश्चियनहरू आफ्ना पापहरू स्वीकार गर्न र आफ्नो आत्मा सफा गर्न श्रोभ मंगलबार चर्च जाने गर्दछन्। अर्को शब्दमा भन्नुपर्दा यसो गर्दा तिनीहरू पाप मोक्ष हुने मान्यता राख्दछन् । युनाइटेड किंगडम, आयरल्याण्ड, अष्ट्रेलिया र क्यानाडामा, श्रोभ मंगलबारको अर्को नाम छ… प्यानकेक डे । यसको पनि रमाइलो किस्सा रहेको छ।

सन् १४४५ मा बकिङ्घमशायर, इङ्गल्याण्डको ओल्नी शहरमा एउटी महिला प्यानकेक बनाउन यति व्यस्त थिइन् जसको कारण उनले समयको हेक्का समेत राख्न सकिनन् । जब उनले श्रोभ मंगलबार प्रार्थनाको लागि चर्चको घण्टी बजिरहेको सुनिन् प्यानमा पाक्दै गरेको आफ्नो प्यानकेक बोकेर नै चर्च आइपुगिन् । त्यस पछाडी उक्त दिन सबैले प्यान केक पकाउने चलन नै शुरु भयो। अहिले बेलायतमा उक्त दिन प्यान केक पकाउन करिब ५२ मिलियन (पाँच करोड २० लाख ) अण्डा प्रयोग हुने अनुमान गरिन्छ । जुन अन्य औसत दिनहरु भन्दा २२ मिलियन (दुई करोड २० लाख) बढी हो। 

जर्मनीमा यसलाई ‘फास्टनाच्ट’ (अर्थ ‘उपवासको पूर्वसन्ध्या’) भनिन्छ र आइसल्याण्डमा यसलाई ‘स्प्रेन्जिडागुर’ ( ‘बर्स्टिङ डे’) भनिन्छ। फ्रान्स र विश्वका केही अन्य भागहरूमा यो  उत्सवलाई ‘मार्डी ग्रास’ भनिन्छ । फ्रान्सेली भाषामा यसको मतलब  ‘फ्याट (मोटो ) मंगलबार’ हो।  धेरै मानिसहरूको लागि मार्डी ग्रास भनेको प्रशस्त खानपिन गरेर रमाउने पार्टीको समय हो।

विश्वभरका धेरै शहरहरूलमा यसदिन  लाइभ ब्यान्डहरू, रंगीन परेडहरू, र फेन्सी-ड्रेस वेशभूषाहरूसहित जीवन्त सडक पार्टीहरूसहित मार्डी ग्रास मनाउँछन् । विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध मार्डी ग्रास उत्सवहरू संयुक्त राज्य अमेरिकाको न्यू अर्लिन्स, ब्राजिलको रियो दि जेनेरियो र इटालीको भेनिसमा हुन्छन् । यो संसारभरका इसाईहरूको लागि उपवास, पश्चात्ताप र प्रार्थना गर्ने अवधि हो। यो मुख्य रूपमा क्याथोलिकहरूले मान्ने भए पनि सबै सम्प्रदायका ईसाईहरूमा पनि मान्ने गरिन्छ। लगभग एक चौथाई अमेरिकीहरूले लेन्ट मनाउँछन्। 

लेखक

भोलिबाट लेन्ट शुरु हुने भएको कारण आउने छ हप्तासम्म शरीर शुद्ध गर्न विभिन्न उपायहरु अबलम्बन गरिने हुँदा आज मीठो भोजन गर्ने चलन छ। प्यान केकमा विभिन्न प्रकारका मिठाइहरु मिसाएर झन् स्वादिस्ट बनाउने चलन छ। इशाइहरुको महत्त्वपूर्ण चाड  इस्टरको दिनलाई  जिससलाई क्रसमा चढाइएको तीन दिनपछि उनले पुनर्जीवन प्राप्त गरेको मानिन्छ। त्यसैको प्रतीकस्वरूप उक्त दिन अण्डाबाट चल्ला कोरलेको देखाइन्छ। यो अवधिमा बजारमा सबैतिर ‘इस्टर एग’ पाइन्छ। घरमा इस्टर एग लुकाएर पत्ता लगाउने चलन पनि छ। यो पर्व मनाउने तयारीस्वरूप ४० दिनसम्म शरीरलाई स्वस्थ र पवित्र राख्ने प्रक्रियालाई ‘लेन्ट’ भनिन्छ। हुन त यो अवधि ४६ दिनको हुन्छ तर त्यसबीचको आइतबार गणना नगरिने हुँदा ४० दिन मात्र मानिन्छ । यो अवधिभर कसै कसैले एक छाक खाने, माछामासु नखाने, अनावश्यक सामान नकिन्ने प्रचलन छ । युवायुवतीले पनि चकलेट, क्रिप्स, चिया, कफी जस्ता अनावश्यक वस्तु यो अवधिमा सकेसम्म प्रयोग गर्दैनन्। यो प्रथालाई बाइबलमा शैतानहरूले जिससलाई दुःख दिन मरुभूमिमा भोकै ४० दिन कटाउन बाध्य बनाएको पौराणिक प्रसङ्गसँग जोडिएको छ। मरुभूमिमा हुँदा जेससले जसरी भोकभोकै जीबन  बिताउन परेको थियो त्यसको सम्झना र सम्मानस्वरुप अहिले पनि कुनै न कुनै रुपमा आफूले सधैँ प्रयोग गरिनेमध्ये केही बस्तु छाड्ने चलन छ। शुरु शुरुमा त यो प्रक्रिया अति नै कस्टकर हुने गर्दथ्यो। साँझमा एक छाक मात्रै खान पाइने त्यसमा पनि मासु, माछा, अण्डा, मध्यपान, तेल र कुनै पनि डेरी उत्पादनहरु  खान पाउदैन थियो। धेरैले प्रार्थना गर्न र आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गर्नको लागि सोशल मिडिया जस्ता विशिष्ट आनन्दहरू पनि प्रयोग नगर्ने चलन छ। 

हालसालै मोजाम्बिकमा एउटा घटना घटेको छ। सान्ता ट्रिन्डेड इभान्जेलिकल चर्च स्थापना गर्ने एक ३९ वर्षीय पादरी फ्रान्सिस्को बराजहको बेइरा शहरको अस्पतालमा मृत्यु भयो। बाइबलमा येशू ख्रीष्टलाई बाप्तिजम गरेपछि चालिस दिनसम्म उजाड मरुभूमिमा लगिएको र त्यहाँ चालिस दिन चालिस रातसम्म उपासना गरिएको बताइएको छ। उनले त्यसैलाई नक्कल गर्दै चालिस दिन उपवास बस्ने घोषणा गरेका थिए। पच्चीसौ दिन पुग्दा उनको स्वास्थ्य स्थिति बिग्रिएको कारण अस्पतालमा लगिन्छ तर डाक्टरहरुले उनलाई बचाउन सकेनन्। 

यस प्रकारको मृत्युवरण गर्ने व्यक्ति अरु पनि छन्। बीबीसीका अनुसार जिम्बाब्वेका एक पुरुषको ३० दिनपछि मृत्यु भएको थियो भने सन् २००६ मा लन्डनमा एउटी महिलाको पनि यस्तै अनशनको आधा बाटोमा मृत्यु भएको थियो ।

भोलिदेखि शुरु हुने यो उपबासको पहिलो दिनलाई आस वेनस्डे ASH WEDNESDAY भनिन्छ। भोलि गतवर्ष पाम सन्डेको दिन जलाइएको पामको रुखको खरानी निधारमा क्रश आकारको गरेर लगाइने भएको हुँदा यसलाई खरानी बुधबार भनिएको हो। पाम सन्डेका दिन येशु जेरुसेलम पुगेको मानिन्छ। पाम आइतवार पवित्र हप्ताको शुरुवातको दिन हो। जुन लेन्टको अन्तिम हप्ता इस्टरसम्म मनाइन्छ । त्यसपछिको बुधबारलाई  पवित्र बुधबार भनिन्छ। यस दिन येशूलाई धोका दिने यहूदा इस्करियोटको सम्झना गरिन्छ भने  मौन्डी बिहीबार येशूले आफ्ना चेलाहरूसँग अन्तिम भोज खाएको स्मरण गरिन्छ ।  गुड फ्राइडे, जुन दिन संसारभरका क्रिस्चियनहरूले येशूको क्रुसिफिक्सन र गाडिएको सम्झना गर्छन्। त्यस पछाडीको आइतबार येशू आफ्नो चिहानबाट उठेको मान्यतासहित इस्टर आइतबार मनाउँछन्। 

आजकै दिन नेपालमा शेर्पा जातिले ग्याल्पो लोसार मनाएका छन्। लोसार तिब्बती नयाँ वर्ष हो। नयाँ वर्षको आगमन र फसल काट्ने मौसम मनाउने सबैभन्दा महत्त्वपूर्ण बौद्ध चाड हो। यो तिब्बती लुनिसोलर क्यालेन्डरको पहिलो महिनाको पहिलो दिन (फेब्रुअरी वा मार्चमा) पर्दछ। 

लोसार हिमालय क्षेत्रमा लोकप्रिय रूपमा मनाइन्छ, करिब १५ दिनसम्म चल्छ। यो पर्वमा चीन, नेपाल, भुटान र भारतको सिक्किम राज्यको तिब्बत स्वायत्त क्षेत्रमा सार्वजनिक बिदा दिने गरिन्छ । भारतमा लोसार मनाउने अन्य क्षेत्रहरू लद्दाख, अरुणाचल प्रदेश, दार्जिलिङ र हिमाचल प्रदेश हुन् ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री