प्रहरीले किरण पुनको मृत्युको चित्तबुझ्दो कारण दिन सकेन

लण्डन । डिसेम्बर १ का दिन साँझबाट सम्पर्कविहीन भएका ३६ वर्षीय किरण पुनको शव फेला पार्न ठ्याक्कै प्रहरीलाई डेढ महिना लाग्यो । तर शव फेला परेको एक साता नबित्दै प्रहरीले उनको केसलाई बन्द गर्ने निर्णय गरेको छ ।

बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार एक विज्ञप्ति जारी गर्दै पुनको पोष्टमार्टम गरिएको र उनको मृत्यु शंकास्पद नभएको ठहर गरेको छ । यसबारेमा उनको परिवारलाई जानकारी दिइएको र प्रहरीले उनको सम्भावित मृत्युको कारण कोरोनरलाई पठाउने बताएको छ ।

उनको हत्याको आशंकामा पाँच जनालाई पक्राउ गरिएको थियो । धरौटीमा छाडिएका उनीहरूमाथि अब उप्रान्त कुनै कारबाही नचलाउने निस्कर्षमा प्रहरी पुगेको छ ।

डिसेम्बर १ को साँझ अन्तिम पटक अल्डरसटको इस्ट स्टेशन रोडमा देखिएका भनिएका पुनको शव त्यहाँबाट हिँडेर पनि १५ मिनेटमा पुगिने ब्रिक फिल्डस कन्ट्री पार्कमा प्रहरीले जनवरी १५ मा भेटेको थियो ।  बेलायतको एम्सबरी (घटनास्थलबाट करिब ५० माइल टाढा)मा बसोबास गर्ने उनी सोही दिन रेलबाट फार्नब्रो झरेका थिए । त्यसपछि बस चढेर अल्डरसट स्टेशनमा उत्रेका थिए ।

प्रहरीका डिटेक्टिभ इन्सपेक्टर आडम इडवार्डसले यस अफ्ठेरो घडीमा परिवारप्रति आफ्नो सहानुभूति प्रकट गरेका छन् । उनले अनुसन्धानमा प्रहरीले अति नै मिहिनेतपूर्वक छानविन गरेको भन्दै अनुसन्धानमा सघाउने सबैलाई धन्यवाद दिएका छन् ।

तथापि प्रहरीले किरणलाई के भएको थियो भन्ने आममानिसको जिज्ञासा मेटाउन भने सकेको छैन । उनको खोजीका बारेमा बेलायतको नेपाली समुदायले प्रहरीको उदासिनता महसुस गरेको छ । किनकि प्रहरीले सार्वजनिक गरेको तस्वीरमा उनी अल्डरसट स्टेशनमा बसबाट ओर्लिरहेको देखिन्छ त्यहाँबाट उनको शव भेटिएको दुरी करिब १ माइल छ । त्यति त जनपरिचालन गरेर खोजी गरेको भए एक दिनमै छिचोलिने सकिन्छ । त्यसका लागि नेपाली समुदायले स्वयंसेवीरूपमा सहयोग पनि गर्ने थिए । एकदिन केही नेपालीहरूले खोज्ने कोसिस समेत गरेका थिए । त्यति परिधिमा खोजिनमा लागि किन डेढ महिना लाग्यो ? प्रहरीले किरण पुनको बेपत्ता हुनुसित सम्बन्धित भनेर पक्राउ गरेको मानिसहरूका बारेको समाचारमा किन ‘हत्या’ भन्ने शब्द पटकपटक प्रयोग गर्यो ? अनि अहिले आएर कुनै कारबाही नगर्ने भन्यो ? किन ती व्यक्तिहरूलाई अनुसन्धानका लागि मात्र पक्राउ गरिएको भन्न सकेन ? कतै नेपाली समुदायको स्थानिय प्रहरी प्रशासनमा दबाब दिन सक्ने क्षमता र मिडियामा पहुँच नभएकाले पो किरणको केसलाई यसरी अनुत्तरित छाडिएको हो त होइन ?

नेपालीहरूको बेलायतमा अधिक बसोबास रहेको क्षेत्र (जसलाई बेलायतमा नेपालीको राजधानी समेत भनिन्छ) मा घटेको यस घटनाले ह्याम्पसायर प्रहरीप्रति नेपालीहरूलाई प्रश्न गर्ने प्रशस्त ठाउँ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री