सुम्निमा साँझमा नेपालीलाई एक भएर अघि बढ्न सुझाव

न्यूयोर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले हरेक वर्ष आयोजना गर्दै आएको सुम्निमा साँझको बाह्रौं संस्करणलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपालीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
‘नेपालीहरु जहाँ भएपनि एउटा बलियो संगठन बनाएर एकीकृत रुपमा अघि बढ्न जरुरी छ । त्यसरी अघि बढे नेपाललाई पनि परि आए सहयोग गर्न सक्छ,’ उनले भने, ‘जबसम्म नेपालको विकास हुँदैन, नेपाल समुन्नत हुँदैन, संसारभर नेपालीहरुको इज्जत र प्रतिष्ठा हुँदैन । त्यही भएर तपाईहरु यहाँ जसरी आफ्ना सपना साकार पार्दै हुनुहुन्छ त्यसैगरी नेपालमा पनि आफ्नो समुदायलाई केही न केही सहयोग गर्नुभयो भने नेपाल पनि अनुग्रहित हुनेछ । तपाईहरु यहाँ स्थापित हुनभए नेपालमा हामी पनि गर्वले छाती फुल्याउँछौं ।’
त्यसका लागि उनले शिक्षा र सम्मुन्नतिलाई आत्मसाथ गर्नुपर्ने र अमेरिका जस्तो होस्ट कन्ट्रीमा नेपालीहरु मेहेनती समुदायका रुपमा स्थापित हुनुपर्छ । ‘हामी अमेरिकन ड्रिम बोकेर अमेरिका आएका हौं । मेहेनती भयौं भने सफलता आफैँ चुम्न आइपुग्छ । हामी आर्थिक सामाजिक रुपमा हामी सशक्त हुनुपर्छ । त्यसका लागि मेरो शुभकामना छ । यहाँ आएर तपाई म सीमान्तकृत भएँ भन्न पाउनुहुन्न,’ उनले उदाहरण दिँदै भने, ‘अमेरिकामा यहुदीहरुको जनसंख्या २ प्रतिशत हो । तर अमेरिकाको बिलेनियरहरुमा २५ प्रतिशत उनीहरु छन् । संसारको जनसंख्यामा यहुदीहरु जिरो प्वान्ट जिरो प्रतिशतमात्र छन् । तर, नोबेल पुरस्कार पाउने यहुदीहरु २० प्रतिशत छन् । यसबाट हामीले सिक्नुपर्छ ।’
स्थायी प्रतिनिधि राईले विदेशी भूमिमा नेपालीहरुले पहिचान खोजिरहेको बताए । ‘यो विदेशी भूमिमा पहिलो पुस्ताले लिएर आएको पहिचान दोस्रो पुस्तामा हस्तान्तरण कसरी गर्ने भन्ने संगीन विषय भएको छ,’ उनले भने, ‘यो एउटा यस्तो कार्यक्रम हो जसले किराती संस्कृति र नेपाली पहिचानको हस्तान्तरण दोस्रो पुस्तामा हस्तान्तरण गर्छ ।’
उनले दौरा सुरुवाल र गुन्यू चोलीमा सजिएका बालबालिकाको प्रसंशा गरे । ‘यो आफ्नो पहिचान बुझ्ने स्वर्ण अवसर हो । यो कार्यक्रम पहिचान हस्तान्तरणको अभिन्न अंग हो,’ उनले भने ।
केआरएसएका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले साकेला उधौलीको अवसरमा सुस्वास्थ र दीर्घायुको शुभकामना दिए । सुम्निमा साँझ आयोजक केआरएसए न्यूयोर्क च्याप्टरकी अध्यक्ष वाकासा वान्तावाले कुशलतापूर्वक राई समुदायलाई नेतृत्व प्रदान गरेको भन्दै केन्द्रीय अध्यक्ष राईको र दिनरात नभनी कार्यक्रम सफल बनाउन खटेको भन्दै कार्यक्रम आयोजक समितिका सदस्यहरुको प्रसंशा गरिन् । न्यूयोर्क च्याप्टर अध्यक्ष वान्तावा कोलम्बिया युनिभर्सिटीमा सिनियर फाइनान्सियल एनालिस्टका रुपमा काम गर्छिन् । केन्द्रीय अध्यक्ष राई ब्यवसायी हुन् ।
कार्यक्रममा एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले अहिलेको युगमा विचारको हतियारले लड्नु आवश्यक भएको बताए । प्रदर्शनीमा राखिएका किरात राई समुदायका पुराना हतियारसहितका सामाग्रीतर्पm इंगित गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राजकुमार विस्टले कार्यक्रमका सफलताको शुभकामना दिए । कार्यक्रममा न्यूयोर्क स्टेट डिस्ट्रिक ३० का ऐसेम्ब्ली मेम्बर स्टिभन रागाले राई समुदायसँग साझेदारी गरेर काम गर्ने चाहना रहेको बताए । उनी फिलिपिनो मूलका आप्रवासी हुन् । गत निर्वाचनमा उनलाई नेपालीसहित आप्रवासी समुदायले साथ दिएको थियो ।
कार्यक्रममा विजय नकर्मीको कोरियाग्राफीमा बालबालिकाहरुले साकेला नृत्य प्रस्तुत गरेका थिए । स्थानीय कलाकारको साँस्कृतिक नृत्य र गायनले राम्रो ठाउँ पाएको कार्यक्रमको आकषण भने भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेर थिए । उनले झण्डै मध्यरातसम्म सहभागीलाई झुमाए । त्यसपछि डिजे जाङ्बुले फ्लोर तताए ।
कार्यक्रममा सहभागी हुन टेक्सासबाट केआरएसएका उपाध्यक्ष तथा टेक्सास च्याप्टर अध्यक्ष दिलिप राई बिओडी माकुहाङ राई सल्लाहकार विश्व राई न्यूयोर्क आएका थिए । विशेष मुख्य प्रायोजक लामा एकाउन्टिङ र मुख्य प्रायोजक नेपाली भान्साघरले गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन केआरएसए न्यूयोर्क च्याप्टर सचिव विजय राईले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन केआरएसए न्यू योर्क च्याप्टर कोषाध्यक्ष सिके राई र अन्जना राईले गरेका थिए । न्यूयोर्क च्याप्टर अध्यक्ष वान्तावा आफैंले कार्यक्रम आयोजक समितिको संयोजकत्व गरेकी थिइन् । तीन जना सहसंयोजकमा सुमन नाछिरिङ राई, सिके राई, मेघनाथ राई सहितको ३१ जनाको आयोजक समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री