पेन्सनबारे छलफल गर्न बेलायत तयार भएपछि गोरखाहरू वार्ताप्रति आशावादी

फाइल फोटो

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका समाधानका लागि नेपाल र बेलायत सरकारका प्रतिनिधिहरुबीच प्राविधिक तहमा बुधबार वार्ता भएको छ ।

बुधबार अपराह्न लण्डनस्थित नेपाली दुताबासमा भएको वार्तामा गोरखा भूतपूर्व सैनिकहरूको पेन्सन, क्षतिपूर्ति, सद्भावना लगायतका विषयमा छलफल भएको दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले जानकारी दिनुभयो ।

पहिलो चरणको वार्तामा गोरखाहरूको कल्याणकारी विषयहरूमा मात्र छलफल गर्न बेलायती टोलीले इच्छा व्यक्त गरेकोमा नेपाली तथा गोरखा सैनिकहरूका प्रतिनिधिहरूले सबै विषयमा वार्ता हुनुपर्ने अडान राखेका थिए । खनालले बुधबारको वार्तामा गोरखा पेन्सन योजना (जीपीएस), गोर्खा पेन्सन ट्रान्सफर योजना (गोट) लगायतका विषयमा विमर्श भएको र अर्को चरणमा विस्तृत छलफल गर्ने सहमति भएको बताउनुभयो ।

अर्को वार्ता क्रिस्मसभन्दा अगावै हुने पनि खनालले जानकारी दिनुभयो ।

वार्तामा गोरखाका तर्फबाट सहभागी गोर्खादुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले आजको छलफल अत्यन्तै सकारात्मक भएको बताउनुभयो । छलफल सकारात्मक दिशमा अघि बढेको र बेलायती वार्ता टोलीका प्रतिनिधिहरू गोरखाका सबै कुरा सुन्न तयार भएको गुरुङले जानकारी दिए । ‘पेन्सन हेर्ने वार्ता टोलीका सदस्यले पेन्सनबारे तपाईहरुको कुरा सुन्छु । हाम्रो तर्फबाट कुनै कमीकमजोरी रहेका छन् भने सच्याउन पनि तयार छौँ भन्नुभयो’, गुरुङले भन्नुभयो ।

अबको छलफलमा पेन्सन, वेलफेयरका विषयलाई अलग अलग टोली बनाएर वार्ता अगाडी बढाउने सहमति भएको पनि गुरुङले बताए । सानो सानो टोली बनाएर वार्ता गर्दा छलफल प्रभावकारी हुने र वार्ता पनि छिटो छिटो हुने गुरुङले आशा व्यक्त गरे ।

ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) का अध्यक्ष टिकेन्द्रदल देवानले यसअघिको वार्तामा गोरखाहरूको पेन्सनको बारेमा बेलायती प्रतिनिधि मण्डलले कुरा सुन्न नचाहेकोमा आजको वार्तामा भने पेन्सनको बारेमा सुन्न तयार छौँ भनेर आस्वासन पाउनु सकारात्मक भएको बताए । वार्तामा नेपाली दुताबासका प्रतिनिधि मण्डलले गोरखाहरूको मागमा अत्यन्त सकारात्मक प्रस्तुति भएको देवानले बताए ।

वार्तामा नेपाली टोलीका नेतृत्व उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो । वार्तामा दुताबासका द्वितीय सचिव रामबाबु नेपाल, बेलायत सरकारका तर्फबाट जेम्स ग्रीनवार्डको नेतृत्वमा ६ सदस्य सहभागी थिए ।  गोरखा सैनिकका तर्फबाट मेजर रिटायर्ड उदयबहादुर गुरुङ र मेजर रिटायर्ड टिकेन्द्र दल देवान सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री