बेलायती अर्थमन्त्रीद्वारा उच्च आयभएकाहरुलाई दिइएको कर कटौती फिर्ता

अर्थमन्त्री क्वासी क्वाटेङ

लण्डन । बेलायतका अर्थमन्त्री क्वासी क्वाटेङले पूर्वघोषित बजेटमा सार्वजनिक गरिएको करसम्बन्धी व्यवस्थामा संशोधन गरेको बताएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको बर्मिङघममा चलिरहेको सम्मेलन स्थलबाट सोमबार बिहानै एक विज्ञप्ति जारी गर्दै उनले वार्षिक ५० हजार २७१ पाउण्डदेखि १ लाख ५० हजार पाउण्डसम्म वार्षिक आय हुनेहरुका लागि यसअघि सार्वजनिक गरिएको आयकर कटौती फिर्ता लिएको बताएका छन् ।

अर्थमन्त्री क्वाटेङले दश दिनअघि जारी गरेको बजेटमा ५० हजार २७१ पाउण्डदेखि १ लाख ५० हजार पाउण्डसम्म वार्षिक आय भएकाहरुका लागि आयकर ४० प्रतिशतमा झार्ने बताएका थिए । यसअघि पूर्व सरकारले सो आय भएकाहरुका लागि अप्रिल २०२३ देखि ४५ प्रतिशत आयकर लगाउने निर्णय गरेको थियो ।

नयाँ बजेटको घोषणासँगै बेलायतको अर्थतन्त्र अस्थीर बनेको छ । डलरको तुलनमा पाउण्ड इतिहासमै कमजोर बनेको छ भने घर किन्नका लागि तय भएका हजारौँ सम्झौताबाट वित्तीय संस्थाहरुले हात झिक्दा सर्वसाधारणहरुमा त्रास फैलिएको छ।

सरकारको नयाँ बजेटको पार्टीभित्र र जनस्तरबाटै तीव्र विरोध भएपछि सम्मेलन चल्दाचल्दै अर्थमन्त्री क्वाटेङ आफ्नो घोषणा फिर्ता लिन बाध्य भएका हुन् । उनले ‘जनताको चासो र चिन्ता आफूहरुले सुनेको र बुझेको’ कारण सो निर्णय फिर्ता लिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री