कर्पोरल नविन थापामगरको ब्रुनाइमा निधन के कारण भयो ?

लण्डन । बेलायती सेनामा कार्यरत कर्पोरल नविन थापामगरको तालिमका सिलसिलामा अगष्ट ११ का दिन ब्रुनाइमा निधन भयो । त्यसको औपचारिक जानकारी भने बेलायती रक्षा मन्त्रालयले करिब एक महिनापछि १४ सेप्टेम्बर २०२२ का दिन मात्र दियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नन अपरेसनल’ तालिमका सिलसिलामा उनको निधन भएको जनाएको छ । तर आज बेलायतबाट प्रकाशित हुने डेली मेलले भने थापामगरको निधनको कारणबारे प्रश्न उठाएको छ ।

डेली मेलले थापामगर बेलायतको विशेष सेना (स्पेशल एयर सर्भिस) को तालिमका क्रममा बितेको उजागर गरेको छ । किनकि यसअघि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उनी के कारण बिते भन्ने प्रष्ट खुलाइएको थिएन । बेलायती सेनाको स्पेशल सर्भिसमा छनौट हुन सबैभन्दा कठिन मानिन्छ । थोरै मानिसहरु मात्र यसमा सफल हुन्छन् । डेली मेलका अनुसार तालिममा छानिएका हरेक १० जनामा १ जनामात्र यसमा सफल हुन्छन् । कीर्तिमानी आरोही निर्मल पुर्जा पनि यसै स्पेशल फोर्समा कार्यरत थिए ।

सन् २०१३ यता स्पेशल फोर्समा छनौटका क्रममा मृत्यु हुने थापामगर पहिले भएको पनि डेली मेलले बताएको छ । साथै सन् १९८४ यता छनौटका क्रममा कम्तीमा २१ जना सैनिकको निधन भएको पनि बताइएको छ।

साथै डेली मेलले ब्रुनाइको अत्यधिक गर्मी थापामगरको मृत्युको कारण हुनसक्ने तर अरु पनि कारण हुन सक्ने आशङ्का गरेको छ । सैनिक प्रहरीले उनको निधनका कारणका बारेमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै डेली मेलले बेलायती रक्षा मन्त्रालयले उनको मृत्युका बारेमा थप विवरण खुलाउन नमानेको पनि बताएको छ ।

थापाको मृत्युका बारेमा एक महिनाभन्दा बढी समय बितेपछि मात्र खबर सार्वजनिक गरिनुले शुरुमै प्रश्न उठाएको थियो ।

तनहुँका थापामगर सन् २०१३ मा बेलायती सेनामा भर्ना भएका थिए । उनी ए कम्पनीमा कार्यरत थिए । उनका सहकर्मीहरु र उनका सिनियरहरुले उनी एक सैनिक, सहकर्मी मात्र नभई एक असल मानिस भएको बताएका छन् । सैनिक पेशाका अलाबा उनी संगीतकार, नृत्यकार, भिडियोग्राफर पनि भएको उनीहरुले स्मरण गरेका छन् । उनका आमा, बाबा, दाजु र बहिनी रहेको बताइएको छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री