सिएनएस युकेले डा चन्द्र लक्सम्बाका बारेमा पुस्तक प्रकाशन गर्ने

लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले संस्थापक सदस्य स्वर्गीय डाक्टर चन्द्र लक्सम्बाका बारेमा पुस्तक प्रकाशन गर्ने भएको छ ।
सिएनएस युकेको शनिबार रेडिङमा सम्पन्न ग्रीष्मकालिन भेलामा सिएनएसका संस्थापक सदस्य लक्सम्बाको अनुसन्धानात्मक लेखहरु तथा उनका जीवनका अरु पाटाहरुलाई समेटेर पुस्तक प्रकाशन गरिने जानकारी दिइयो ।
सिएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले लक्सम्बो व्यक्तित्व र बेलायतको नेपाली डायस्पोराको अध्ययन अनुसन्धानमा डाक्टर लक्सम्बाले पुर्याएको योगदानलाई अझै चिरस्मरणीय बनाउन सो पुस्तक प्रकाशन गर्न लागिएको बताउनुभयो ।
सिएनएसएस युकेका पूर्व कार्यकारी निर्देशक डाक्टर कृष्ण अधिकारीले सो पुस्तकमा डाक्टर लम्सम्बाको एकल तथा सहलेखनमा प्रकाशित अनुसन्धानात्मक लेखहरु एक खण्डमा रहने र अर्को खण्डमा चन्द्र लक्सम्बाका विद्यार्थी राजनीति, गोरखा सैनिक जीवन, प्राज्ञिक लगायत उनको बहुआयामिक व्यक्तित्वका बारेमा उनलाई नजिकबाट चिनेका आमन्त्रित लेखकहरुद्वारा लेखिएका लेखहरु समावेश हुनेछन् ।
अधिकारीका अनुसार पुस्तक द्वैभाषिक (नेपाली र अंग्रेजी) हुने छ भने पुस्तकको संयोजन सिएनएस युकेले र व्यवस्थापन डाक्टर लक्सम्बाको परिवारले गर्नेछ ।
नेपालमा २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय लक्सम्बा त्यसपछि बेलायती सेनामा भर्ती भएका थिए । सेनाबाट निवृत्त भएपछि प्राज्ञिक कार्यमा सक्रिय डाक्टर लक्सम्बा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको रिसर्च फेलो समेत बनेका थिए । पछिल्लो समय नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापनरत रहेकै बेलामा सन् २०२१ मा उनको निधन भएको थियो ।
सो भेलामा डाक्टर लक्सम्बाकी श्रीमती कल्पना लक्सम्बा साँवा र बुहारी योजना गुरुङले पुस्तक प्रकाशन सराहनीय कार्य भएको बताउनुभयो ।
भेलामा सिएनएस युकेका अरु कार्यहरु कोभिडसम्बन्धी अनुसन्धान, गोरखा पेन्सन नीति बारे गरिएको अनुसन्धानबारे पुस्तक प्रकाशन, सिएनएस युकेले बेलायतका नेपालीबारे प्रकाशन गरेको ‘बेलायतमा नेपाली’ पुस्तकको पुनः प्रकाशन, आर्थिक हरहिसाब लगायतका विषयमा छलफल गरिएको थियो ।
सिएनएस युकेले संस्थामा आवद्ध अनुसन्धाता र अरु स्वतन्त्र अनुसन्धाताहरुले नेपालका बारेमा गरिरहेको अनुसन्धानका बारेमा जानकारी दिन द्वैमासिक रुपमा अनलाइन सेमिनार पनि आयोजना गर्ने भएको छ । पहिलो सेमिनारको संयोजन डाक्टर गंगाराम दाहालले गर्नुहुनेछ ।
सन् २००६ मा स्थापित बेलायतमा रहेका नेपाली अध्येताहरुको संस्था सिएनएस युकेले बेलायतका नेपालीहरुका बारेमा विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री