
काठमाडौँ । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ ।
साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो । प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् ।
ती बसमध्ये दुईवटा माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।
साझाले ४० विद्युतीय बस खरिद गरेकामा बाँकी ३७ बस आगामी महिनाभित्रमा आइपुग्ने जनाइएको छ । सरकारले तीन वर्ष पहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद भएको थियो । ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको छ । ती बस चीनको सिएचटिसी कम्पनीले तयार गरेको हो ।
दोस्रो चरणमा योभन्दा बढी लामो बस खरिद हुने कम्पनीले जनाएको छ । झण्डै १० देखि १२ मिटर लम्बाइको सहरी विद्युतीय बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको उहाँले बताउनुभयो । बस चालक हर्मिता श्रेष्ठले अरु बसभन्दा यो सजिलो भएको बताउनुभयो । केही वर्षदेखि साझाकै पेट्रोलियम पदार्थबाट चल्ने बस चलाइरहनुभएकी उहाँ यी बसमा क्लज, गेयर हाल्नु नपर्ने हुँदा सजिलो भएको जानकारी दिनुभयो । यसमा स्विच अन गरेपछि आफैँ गुड्ने हुँदा चलाउन सजिलो छ । उहाँले भन्नुभयो, ”अरु गाडीजस्तो आवाज आउने छैन ।”
साझा अध्यक्ष कनकमणि दीक्षितले नेपालमा साझाले सहरी यातायात र क्षेत्रीय यातायात सुरु गरेको बताए । विद्युतीय बस आर्थिक र वातावरणीयरूपमा उपयुक्त रहेको र यात्रुलाई पनि सुविधा हुने उहाँले बताउनुभयो । निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बस सञ्चालनका लागि पनि सहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा अध्यक्ष दीक्षितले जोड दिनुभयो । चार्जिङ स्टेशन निर्माणका लागि सरकारले सहयोग गर्ने उहाँको विश्वास थियो ।
यी बसहरूमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा १६१ किलोवाट रहेको छ । अहिले बससँगै दुई थान चार्जरसमेत ल्याइएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताउनुभयो । दिनभर बस गुडाएर राति चार्ज गर्न सकिने सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताउनुभयो । उहाँले भन्नुभयो, ”राति तीन–चार घण्टा चार्ज गरेपछि अर्को दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।” अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उहाँले बताउनुभयो । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्वीलचेयर राख्नका लागि पनि स्थान राखिएको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर