एनआरएनए युकेले सोध्यो महासचिवलाई स्पष्टीकरण

महासचिव भन्छन्-निर्णय औपचारिक होइन

शनिवार बसेको बैठकमा सहभागी

लण्डन । गैरआवासीय नेपाली संघ युकेले महासचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

कार्यसमितिको शनिवार बसेको बैठकले ‘कार्य समितिका महासचिव खुसी लिम्बुले कार्य समितिको बैठक लगायतका सम्बन्धमा आफूखुसी परस्पर विरोधी सूचनाहरु सम्प्रेषण गरी भ्रम श्रृजना हुने वातावरण बनाएको’ ठहर गरेको छ । सो विषयलाई बैठकले गम्भीर रुपले लिने निर्णय गरी ‘महासचिवलाई आफ्ना यस्ता असंगत गतिविधिका बारेमा स्पष्टिकरणसहित अर्को बैठकमा उपस्थित गराउने भएको छ ।

‘आफूखुसी सम्प्रेषण गरिएका यस्ता असंगत सूचनाहरुको गलत प्रभाव परेको महसुस गरी आइन्दा संगठनको अहित हुने वा भ्रम पर्ने गरी यस्ता कार्य नगर्ने प्रतिवद्धता नगर्दासम्म गैरआवासीय नेपाली संघ युकेको आधिकारीक पत्राचार वा सूचना महासचिवमार्फत नगर्ने/ नगराउने निर्णय पनि बैठकले गरेको छ । बैठकले संघको तर्फबाट गर्नुपर्ने आधिकारिक सूचना तथा पत्राचार गर्ने लगायतका कार्यहरु सचिवहरु ज्ञानेन्द्र आले, नम्रता घले र विष्णु चालिसेमार्फत गर्ने गराउने निर्णय गरेको छ ।

बैठकमा महासचिव लिम्बु भने उपस्थित थिएनन् ।

‌‌औपचारिक निर्णय होइन: खुशी लिम्बु, महासचिव

बैठकको निर्णयबारे जिज्ञासा राख्दा महासचिव खुशी लिम्बुले आफूलाई सो निर्णय थाहा नभएको प्रतिक्रिया दिनुभयो । शनिबार बेलायतभर रेलवे सेवामा हड्ताल भएका कारण र हस्पिटालिटी क्षेत्रमा आवद्ध कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले नभ्याउने हुँदा बैठक सार्न अध्यक्षसित आग्रह गर्दा अध्यक्षले अस्वीकार गरेको उनले बताए । बैठकमा गएकाहरु पनि असहमति व्यक्त गर्न गएको लिम्बुको भनाइ थियो ।

बैठकमा सहभागी उपाध्यक्ष, प्रवक्ता तथा अरु सदस्यहरुसित कुराकानी गर्दा पनि आफूले त्यस्तो निर्णयका बारेमा कुनै जानकारी नपाएको उहाँले बताउनुभयो । ‘बैठकमा कोरम पनि पुगेको थिएन, यो निर्णय पनि औपचारिक होइन’ उहाँले भन्नुभयो ।

कार्यसमितिका धेरै पदाधिकारी तथा सदस्यहरु उपलब्ध हुने समय तय गरेर फेरि बैठक तोकिने पनि उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य विभाग, नागरिकताको निरन्तरता विभाग, नेपाली खाना प्रवर्धन विभाग, महिला विभाग, युवा तथा खेलकुद विभाग, विधान संसोधन तथा कानुनी परामर्श विभाग, ब्यवसाय तथा लगानी प्रर्वधन विभाग तथा एनआरएन भोइसको सम्बन्धमा सम्बन्धीत विभागीय प्रमुखहरुले रिपोर्ट पेश गरेका थिए ।

त्यसैगरी बैठकले आगामी साधारण सभाको सफल आयोजनका लागि कार्यविभाजन लगायत विविध विषय समेट्ने गरी विवरण तयार गरी कार्य समितिमा प्रस्ताव गर्न कार्य समितिका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।बैठकले आगामी ६ अगष्टमा आयोजना हुने साधारण सभामा कार्य समितिका तर्फबाट प्रस्तुत हुने प्रतिवेदनको मस्यौदा तयार गरी कार्य समितिमा छलफलका लागि उपलब्ध गराउन महासचिवलाई एक हप्ता तथा ३ जुलाई २०२२ सम्मको समय दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री