पेट्रोलमा २० र डिजेलमा २९ रुपिया घट्यो

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
उहाँका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटेको छ । जसअनुसार हाल पेट्रोलमा १९९ रहेकामा रु २० घटेर १७९ कायम गरिएको छ । त्यस्तै डिजेलमा १९२ बाट रु २९ घटाएर १६३ कायम गरिएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को निर्णयलगत्तै मन्त्री बडूले पत्रकार सम्मेलन गरेर सो जानकारी दिनुभएको हो । “यो आजैको मन्त्रिपरिषद् बैठकको निर्णय हो । सुझावका आधारमा बैठकले निर्णय गरेको हो”, मन्त्री बडूले भन्नुभयो ।
उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुनेगरी मूल्य घटाइएको बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उहाँले उल्लेख गनुभयो । “यसले समग्र समाधान त हैन तर, तत्काल जनताले भोगेको समस्यालाई केही राहत दिन्छ भन्ने सरकार र मन्त्रालयको विश्वास छ”, उहाँले भन्नुभयो ।
पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक भएको थियो । उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च पदाधिकारीको उपस्थिति थियो । उक्त बैठकले वर्तमान अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुझाव दिएअनुरुप मूल्य समायोजन गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिनुभएको निर्देशनबमोजिम मूल्य घटाइएको मन्त्री बडूले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री