कालीगण्डकीको छेउमा जब साइकल गुड्यो…

काठमाडौँ । पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रुपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो । स्वदेशी विदेशी खेलाडी भेला भएका थिए । कोही डोरी लिएर पहाड चढ्न थाले भने कोही दौडन ।
न त जाडो न त गर्मी मौसम । नजिकै निलगिरी हिमाल र अनि तल बगीरहेको कालीगण्डकी । प्रख्यात कवि भूमि शेरचनको जन्मस्थल थाक खोला नजिकै भइरहेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना नेपाली सेनाले गरेको थियो । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि निरन्तर लागि परेको सेनाले शालिग्राम पाइने कालीगण्डकीको छेउतिर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास कायम गरेको भन्दै सहभागी खेलाडी र दर्शकले धन्यवाद दिएका थिए । हावाको वेग जस्तै खेलाडीले देखाएको प्रतिभा आफैँमा अनुकरणीय थियो त्यहाँ ।
गायक अमृत गुरुङले आफ्नो गीतमा भने जस्तै ‘जोमसोमै बजारमा १२ बजे हावा सरर…’ खेलाडीले हावाको परवाह नगरी आफ्नो प्रतिभा देखाए । असाध्यै जोखिमपूर्ण मानिएको क्लाईम्विङमा पनि खेलाडीले अदम्य प्रतिभा देखाएका थिए । समुन्द्री सतहबाट दुई हजार ७८० मिटरदेखि तीन हजार २०० मिटरसम्मको उचाइमा आयोजित सो प्रतियोगितामा नेपाली सेनाकै टिमले शीर्ष तीन स्थान कब्जा गर्यो । विभागीय टिमलगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडी सहभागी सो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाइ साहसी खेल प्रतियोगिता’ मा साइक्लिङ र दौड समावेश गरिएको थियो ।
प्रतियोगी खेलाडी सबैले साइकल कुदाए । पहाड चढे र दौडमा पनि सहभागी भए । कालीगण्डकीको बगरै बगर खेलाडीले आफ्नो प्रतिभा देखाउँदा प्रत्यक्षदर्शीले ताली बजाएर स्वागत गरेका थिए । प्रधानसेनापति प्रभुराम शर्माले खेलाडीलाई प्रोत्साहित गर्दै अदम्य साहस र कला देखाउन आग्रह गर्नुभएको थियो । प्रतियोगितामा खेलाडीले १०० मिटर बराबरको पहाड चढेका थिए । चार दशमलव ७५ किलोमिटर दौड थियो भने १५ दशमलव ३५ किलोमिटर बराबरको साइक्लिङ गरी विभिन्न तीन वटा इभेण्ट गरी जम्मा २० दशमलव २ किलोमिटर बराबरको दुरी समावेश थियो ।
साहसिक प्रतियागिताका रुपमा लिइएको त्यस इभेण्टमा कूल २२ टिमको सहभागिता थियो । प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लबको ६ टिम सहभागी थियो । त्यसमा चार टिम पुरुष र दुई टिम महिला थिए । अन्य १८ टिम स्वदेशी थिए । त्यसमा पनि १३ पुरुष र महिला पाँच टिम थिए । विदेशी टिममा भारतीय सेनाको एक टिम, बङ्गलादेशी सेनाको एक र ब्रिटिस गोर्खाको दुई टिम सहभागी थियो ।
प्रतियोगितमा सहभागी खेलाडीले सुरुमा चट्टान आरोहण गरे । त्यसपछि दौडिए र साइकल कुदाए । नयाँ तरिकाले खेलकुद प्रतियागिताको आयोजना गरेर सेनाले नयाँ इतिहास कायम गरेको छ । जोमसोङस्थित सेनाको २३ नम्बर बाहिनी र उच्च शिखर शिक्षालयको आफ्नै महत्व छ । अन्तर्राष्ट्रियस्तरमा उक्त शिक्षालय र त्यहाँ हुने तालिमले विशिष्ट स्थान राखिरहेको सन्दर्भमा आजको प्रतियोगिताले सुनमा सुगन्ध थपे जस्तै महसुस गरिएको थियो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाको टिमले एक घण्टा १५ मिनेट २ सेकेण्डमा रेकर्ड मात्रै कायम गरेनन्, पहिलो स्थान हासिल गरे । वसन्त थारु र नवराज न्यौपानेको टिम दोस्रो भयो । उनीहरूले सो दुरी एक घण्टा १७ मिनेट १६ सेकेण्डमा दुरी पारे । कमल ओली र प्रेमसिंह मन्यालले एक घण्टा २१ मिनेट ३० सेकेण्डसहित तेस्रो भए । पहिलो हुनेले तीन हजार अमेरिकी डलर, दोस्रोले दुई हजार अमेरिकी डलर र तेस्रोले एक हजार अमेरिकी डलर बराबरको नगद पुरस्कार प्राप्त गरे ।
महिलातर्फ हिमालयन गल्र्सका हुमी बुढामगर र इन्द्रकला नेम्बाङले एक घन्टा ४५ मिनेट २३ सेकेन्डमा दुरी पार गर्दै पहिलो स्थान हासिल गरे । आर्मीका उषा खनाल र मन्जु कुमारी खड्काले एक घण्टा ५० मिनेट २६ सेकेन्डमा दुरी पार गरेर दोस्रो भए । वेस्ट अन्तर्राष्ट्रिय टिममा भारतीय सेनाको टिम अगाडि देखियो ।
महिलातर्फ पहिलो हुनेले रु एक लाख, दोस्रो हुनेले रु ७५ हजार र तेस्रो हुनेले रु ५० हजार बराबरको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीलाई प्रधानसेनापति शर्माले पदक, ट्रफी, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने पोखरास्थिलत मध्यकमाण्ड हेडक्वार्टर, जोमसोमस्थित २३ नं बाहिनी, उच्च शिखर शिक्षालय, नारायणदल गणलाई प्रधानसेनापति शर्माले धन्यवाद दिनुभयो । नेपाल इन्भेसटमेन्ट बैंक र सिटिजल बैंकलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री