सेवाकालमा श्रवण शक्ति गुमाएका गोरखाले जिते क्षतिपूर्ति

महेन्द्रलाल राई (रातो टाइ लगाएका) फाइल फोटो

 
लण्डन । बेलायती सेनामा कार्यरत रहँदा श्रवण शक्ति गुमाएका पूर्व गोरखा सैनिकले क्षतिपूर्ति पाउने भएका छन् ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का पूर्व महासचिवसमेत रहेका महेन्द्रलाल राईले सेवा कालमा रक्षा मन्त्रालयले आवश्यक उपकरण उपलब्ध नगराएका कारण आफ्नो श्रवण शक्ति गुमेको भन्दै रक्षा मन्त्रालयमा क्षतिपूर्तिका लागि दाबी गरेका थिए ।
मन्त्रालयले उनलाई क्षतिपूर्ति उपलब्ध गराउने लिखित पत्र पठाएको उनका वकिल मार्क कोलिन्सले जानकारी दिए ।

गोरखाहरुको मुद्दा लड्दै आएको लण्डनस्थित कानुनी परामर्श संस्था हो एण्ड कोबाट उनको दाबी अगाडी बढाइएको थियो । सोलिसिटर कोलिन्सका अनुसार यसरी क्षतिपूर्ति पाउने गोरखा सैनिकहरुले ३ हजारदेखि २५ हजार पाउण्डसम्म क्षतिपूर्ति पाउन सक्छन् ।

के सबै गोरखाहरुले यस किसिमको क्षतिपूर्ति पाउन सक्छन् भन्ने प्रश्नमा सोलिसिटर कोलिन्सले सन् १९८५ जनवरी १ पछाडी सेवाबाट अवकास पाएका र कान सुन्नमा समस्या भएका सबै गोरखा सैनिकहरु यस्तो क्षतिपूर्तिका लागि योग्य हुने बताए ।

सेवाकालमा हातहतियारको प्रयोग गर्ने, विष्फोटमा संलग्न, सैनिक बख्तरबन्द गाडी चालक वा सवारी गरेका, हेलिकोप्टर वा यातायातमा काम गरेकाहरुलाई सुन्ने समस्या हुनसक्ने सम्भावना बढी छ । सन् २०१९ मा इंग्लिसले बेलायती रक्षा मन्त्रालयको मुद्दामा हाल कार्यरत वा अवकाशप्राप्त भूतपूर्व सैनिकको सुन्ने क्षमतामा ह्रास आए बेलायती रक्षा मन्त्रालय जिम्मेवार हुनुपर्ने फैसला भएको छ ।
कान सुन्ने क्षमतामा विस्तारै ह्रास आउँदै गरेको कतिपयले चाल नपाउन पनि सक्छन् जुन कुरा चेकजाँच पछि मात्र थाहा हुनसक्छ । आफ्नो श्रीमती वा परिवारले ठूलो श्वरमा टिभी वा रेडियो सुनेको टिप्पणी गरेमा वा कुराकानीमा सबै कुरा सुन्न नसकेको जस्तो लागेमा कान सुन्नमा समस्या रहेको हुनसक्ने सम्भावना रहन्छ ।

सोलिसिटर मार्क कोलिन्स

सोलिसिटर कोलिन्सका अनुसार हो एण्ड कोले यस्ता कानमा समस्या भएको गोरखा सैनिकहरुका लागि निशुल्क कानुनी परामर्श दिई क्षतिपूर्तिका लागि दाबी गरिदिनेछन् । “गोरखा सैनिकहरुले यस्तो दाबी गर्न चाहेमा एक पैसा लाग्दैन । हो एण्ड कोले कानका चिकित्सक ल फर्ममै बोलाएर कानको स्वास्थ्य परीक्षण गरिदिने छन् । त्यसवापत एक पैसा पनि लाग्दैन” उनले भने ।
यसरी गरिएको दाबी असफल भएमा एक पैसा पनि वकिललाई तिर्न नपर्ने पनि उनले प्रष्ट पारे । तर क्षतिपूर्ति सफल भएमा त्यसको २५ प्रतिशत ल फर्मले लिनेछ ।
सोलिसिटर कोलिन्सले करिब चार/पाँच वर्षको अवधिमा आफूले दाबी गरेको क्षतिपूर्तिको मुद्दामा एउटा पनि असफल नभएको बताए ।
यसअघि बेलायती सेनामा कार्यरत अरु सैनिकहरुले क्षतिपूर्ति लिने गरे पनि आफूमार्फत यस्तो क्षतिपूर्ति जित्ने १९९७ अघि अवकास पाएका गोरखा सैनिकमा महेन्द्रलाल राई नै पहिलो भएको उनले बताए । १९८७ यता अवकाश पाउने गोरखालीहरुले ढिला नगरी तुरुन्त मुद्दा दायर गर्नु बुद्धिमानी हुने बताए । मुद्दामा झण्झट नभएको, छिट्टै टुंगो लाग्ने जानकारी दिँदै उनले सीधै आफूलाई ०२० ८८४० ४६८८ मा सम्पर्क राख्न उनले सुझाव दिए ।
उता यस मुद्दाका दाबीकर्ता राईले आफूले कानको समस्या भएका सैनिकहरुलाई बेलायतले कोष खडा गरेको केही समयअघि नै थाहा पाए पनि कसरी दाबी गर्ने भन्ने खोज्दाखोज्दै समय लागेको बताए । गोरखा सैनिकका संस्थाहरु भाषण गर्नमा मात्र केन्द्रीत भएको आरोप लगाउँदै उनले ‘गोरखाहरुका लागि उपलब्ध यस्ता कोषहरुका बारेमा पनि उनीहरुले जानकारी दिन सक्नुपर्थ्यो’ भने ।

आफू जस्तै सन् १९८७ पछि सेवाबाट अवकास पाएका र कानको समस्या महसुस गरेका सबै गोरखाहरुलाई यस्तो प्रावधानमा समावेश हुन पनि उनले आग्रह गरे । “नेपालमा रहेका गोरखा भूपू दाजुभाइहरुका लागि यसबारेमा तत्काल अभियान सञ्चालन गर्ने तयारीमा छु”, उनले भने ।    

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री