प्रवासी नेपाली मञ्च युकेद्वारा राजदूत आचार्यलाई स्वागत र ध्यानाकर्षण

लन्डन । प्रवासी नेपाली मञ्च युकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई स्वागत गर्नुका जनसरोकारका विषयमा ध्यानाकर्षण पनि गराएको छ ।

समारोहमा स्वागत अभिनन्दन ग्रहण गर्नु हुँदै राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खा सैनिकहरूका समस्यालगायतका बेलायतमा रहेका नेपालीका अन्य समस्याहरू समाधानका लागि राजदूतावासबाट गर्नसक्ने जति पहल गर्ने बताउनु भयो । नेपालको आर्थिक विकासका लागि प्रविधि, सीप र पर्यटन भित्र्याउन प्रवासमा रहेका समाजको योगदान महत्वपूर्ण रहने पनि उहाँले चर्चा गर्नु भयो । राजदूत आचार्यले देशको समृद्धिका लागि जनस्तरबाट गरिने हरेक प्रयासहरूमा राजदूतावासको सक्रिय सहकार्य रहने विस्वास व्यक्त गर्नुभयो ।

यसअघि प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष सुरेन्द्र थपलियाले राजदूत ज्ञानचन्द्रआचार्य र उपनियोग प्रमुख श्रीमती रोशन खनाललाई खादा, पुष्पगुच्छा र स्वागत अभिनन्दनपत्रद्वारा सम्मान अर्पण गर्नुहुँदै संगठनका गतिविधिहरू जानकारी गराउनु भएको थियो । अध्यक्ष थपलियाले भूपू गोर्खा सैनिकका समस्या, नेपाली नागरिकताको निरन्तरता र आम निर्वाचनमा प्रवासबाट मतदान गर्न पाउनु पर्नेलगायतका मागहरू प्रवासी नेपाली मञ्च युकेले धेरै पहिलेदेखि नै उठाउँदै आएको र यी मागहरूमा दूतावासबाट पहलकदमी होस् भन्ने चाहना राखेको बताउनुभयो । कोरोना महामारी रोकथाममा राजदूतावाससँगै यस मञ्चले सहकार्य गरेको चर्चा गर्नुहुँदै अध्यक्ष थपलियाले मञ्चका विश्वभरिका सैँतीस संगठनहरू मिलेर पोखरा अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट स्थापना गरिएको, नेपालमा नारी सशक्तीकरण कोष स्थापना गरिएको, स्वर्गीय भगिरथी भट्टको आमालाई दुई लाख रूपियाँ आर्थिक सहयोग प्रदान गरिएको र चितवनका चेपाङ बालबालिकाको स्वास्थ्य र शिक्षा विकासको लागि अर्को योजना हालै सुरू गरिएको जानकारी गराउनु भयो ।

संगठनका सल्लाहकार तथा पूर्व अध्यक्ष दिनेश घिमिरेले राजदूत ज्ञानचन्द्र आचार्यको जीवनी र व्यक्तित्वको चर्चा गर्नुहुँदै लामो समयदेखि नेपालको कुटनीतिक र प्रशासनिक क्षेत्रमा उच्च ओहोदामा रहेर अन्तर्राष्ट्रिय जगतमा नेपालको कुशल प्रतिनिधित्व गरिसक्नु भएका देशका अनुभवी बौद्धिक व्यक्तित्वलाई बेलायतमा राजदूतको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।  जनसमाजसँग प्रत्यक्ष सरोकार राख्ने मागहरू महामहिमको कार्यकालमा सम्बोधन हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सुभारम्भमा संगठनकी वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्य दिनुहुँदै नवनियुक्त राजदूतको सम्मानमा तयार पारिएको सम्मान अभिनन्दन पत्र वाचन गर्नु भएको थियो । वरिष्ठ उपाध्यक्ष केसीले स्वागत मन्तव्यको क्रममा महिलाहरूका समस्या र महिला सशक्तीकरणका विषयमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन गर्नु हुँदै महासचिव सुरेशजङ्ग शाहले देशको भविष्य बोकेका युवाशक्ति ठूलो सङ्ख्यामा विदेशिई रहेको पृष्ठभूमिमा रेमिट्यान्स मात्र नभई यी युवाहरूको सीप, ज्ञान र मतको सदुपयोग गर्न राज्यले ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो । महासचिव शाहले भूपू गोर्खा सैनिकका समस्या, नेपाली नागरिकताको निरन्तरता र प्रवासबाट आम निर्बाचनमा मतदान व्यवस्था आदि कुराहरूमा राज्यले संबोधन गर्नु पर्ने मागहरू हुन् भन्नु भयो ।

समारोहमा मन्तव्य राख्नु हुने अन्य पदाधिकारीहरूमा प्रवासी नेपाली मञ्च युरोप महाद्विपीय कमिटीकी सदस्य कल्पना त्रिपाठी, पोर्चुगल कमिटीका सल्लाहकार हेमराज सुवेदी, प्रवासी नेपाली मञ्च युकेका उपाध्यक्ष पशुपति पोखरेल, उपाध्यक्ष बालकृष्ण भुषाल,कोषाध्यक्ष पुन्य रेग्मी, क्षेत्रीय अध्यक्ष तारानाथ भण्डारी, प्रचार विभाग सचिव शक्ति घिमिरे, क्षेत्रीय महासचिव यज्ञ खरेल, सचिवालय सदस्य शम्भु अर्याल, सदस्यहरू जयराम कँडेल, अर्जुन मुडभरी र राममाया विष्ट हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा उपनियोग प्रमुख रोशन खनालले राजदूतावासले इ पास्पोर्ट वितरण सुरू गरेको जानकारी गराउनु हुँदै राजदूतावासको वेवसाइटबाट पनि जानकारी लिन सकिने कुरा बताउनु भयो । उपनियोग प्रमुख खनालले एमआरपी पासपोर्टको म्याद भइन्जेल प्रयोग गर्न बाधा नभएको जानाकरी पनि गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री