नेपालका लागि बेलायती राजदूतले भनिन्-‘गोरखा समस्या समाधानमा पहल गर्छु’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले आज शिष्टाचार भेटघाट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकास, लैङ्गिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।

उहाँले आगामी दिनमा यस्ता काममा सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । गृहमन्त्री खाँणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । मन्त्री खाँणले नेपालीले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गर्नुभयो ।
भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताउनुभयो । राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने आश्वासन दिनुभयो । भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री