के चीन-ताइवान युद्ध होला ?

काठमाडौं । यही साताको पूर्वार्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ गर्यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी सीमामा प्रवेश गर्ने क्रमले गत वर्ष ‘रेकर्ड’ नै ‘ब्रेक’ गरेको थियो भने यो वर्ष पनि नौ पटक घुसपैठ भइसकेको छ ।

ताइवानले २०२० मा चिनियाँ विमान घुसपैठको आँकडा सार्वजनिक गरेको थियो । त्यसपछि गत वर्ष अक्टोबरमा एकै दिन चीनको ५६ विमान ताइवानी क्षेत्रमा प्रवेश गरेको सूचना दिइएको थियो । यसरी चीनले ताइवानमाथि निरन्तर दबाब दिइरहेको छ ।

घुसपैठको यो निरन्तरताले दुई देशबीच तनाव बढिरहेको छ । यसको मुख्य कारण ताइवानलाई ‘चीनमा विलय’ गराउने लक्ष्य रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले त भनी नै सकेका छन्, ‘ताइवान पुनः एकपटक चीनसँग अवश्य पनि एकीकृत हुनेछ ।’ उक्त लक्ष्य प्राप्तिका लागि शक्ति प्रयोग गर्ने क्रम जारी छ । यस्तो आशय राष्ट्रपति चीनफिङले विभिन्न समारोहमा दोहोर्‍याउँदै आएका छन् ।

ताइवानबारे किन हुन्छ विवाद ?

ताइवान आफ्नो एक प्रान्त रहेको चीनको भनाइ छ र त्यो एक दिन अवश्य चीनको हिस्सा बन्ने विश्वास पनि चीनको रहेको छ । तर ताइवान भने आफूलाई एक स्वतन्त्र देश मान्छ । ताइवानमा उसको आफ्नै संविधान छ भने जनताले चुनेको प्रतिनिधिले शासन गर्छन् ।

ताइवान दक्षिण पूर्वी चीनको तटबाट करिब सय मिल टाढा रहेको एक द्वीप हो । त्यो पहिलो द्वीप शृंखलामा पर्छ र त्यसको समर्थनमा अमेरिका लगायतका देश उभिएका छन् । अमेरिकी विदेश नीतिका कारण यी सबै द्वीपहरू निकै महत्वका हुन पुगेका छन् ।

चीनले यदि ताइवान कब्जा गर्न सक्यो भने उसले पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभाव देखाउन सहज हुने कुरा कतिपय पश्चिमा जानकार बताउँछन् । त्यसपछि गुआम र हवाई द्वीपहरूमा रहेका अमेरिकी सैन्य अखडामा खतरा उत्पन्न हुन जान्छ । तर, चीनले आफ्नो लक्ष्य पूर्ण रुपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । आफूले कुनै पनि खालको ‘युद्ध’ नचाहेको स्पष्टीकरण चीनले दिँदै आएको छ ।

चीनसँग किन अलग भयो ताइवान ?

यी दुईबीच चिसोपना करिब दोस्रो विश्वयुद्धदेखि नै उत्पन्न भएको हो । त्यो समय चीनको मुख्य भूमिमा चिनियाँ कम्युनिस्ट पार्टीको उक्त क्षेत्रको तत्कालीन सत्ताधारी नेसनलिस्ट पार्टी (कुओमिन्ताङ)सँग लडाइँ चलिरहेको थियो । १९४९ मा माओत्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले लडाइँ जित्यो र राजधानी बेइजिङ कब्जा गर्‍यो । त्यसपछि कुओमिन्ताङका बासिन्दा मुख्य भूमि छाडेर दक्षिण–पश्चिम द्वीप ताइवानतर्फ लागे ।
सोही समयदेखि अहिलेसम्म पनि ताइवानमा कुओमिन्ताङ महत्वपूर्ण दल बन्दै आएको छ । ताइवानको इतिहासमा सोही पार्टीको शासन अधिकांश समय चलिरहेको छ ।

यतिखेर संसारका १३ देश ताइवानलाई एक अलग र सम्प्रभु देश मान्छन् । कतिपय देशले ताइवानलाई समर्थन गरे पनि स्पष्ट हुन सकिरहेका छैनन् । चीन रिसाउने डरमा केही देश रहेका छन् । ताइवानलाई मान्यता नदिन चीनले कतिपय देशलाई कूटनीतिक दबाब समेत दिँदै आएको छ । कुनै पनि देशले ताइवानलाई मान्यता दिएको चीनलाई मन पर्दैन ।

केही दिनअघि ताइवानी रक्षामन्त्रीले चीनसँग आफ्नो देशको सम्बन्ध विगत ४० वर्षमा अहिले सबैभन्दा खराब रहेको बताएका थिए । यसको पुष्टि ताइवानी क्षेत्रमा चिनियाँ विमानको निरन्तर घुसपैठले गर्छ ।

चीन बलियो कि ताइवान ?

सैन्य शक्तिलाई आधार मान्ने हो भने ताइवानभन्दा चीन निकै बलियो देखिन्छ । सेनाकै प्रयोग गर्ने हो भने चीनले ताइवान सहजै एकीकरण गर्न सक्ने सैन्यविद्हरू बताउँछन् । अन्य उपायबाट पनि चीनले ताइवान लिन सक्ने कतिपयको भनाइ छ । यदि दुई देशबीच लडाइँ भयो भने त ताइवानको सैन्य तागत चीनका अघिल्तिर निकै होचो साबित हुनेछ ।

चीनले आफ्ना सैनिकमाथि गर्ने खर्च संसारमै सबैभन्दा बढी(अमेरिकालाई छाडेर) छ । साइबर युद्ध गर्ने नै हो भने पनि चीन निकै बलशाली देखिन्छ । चीनसँग साइबर युद्ध गर्ने सामथ्र्य सायद अब कुनै पनि देशसँग बाँकी छैन ।

इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज (आईआईएसएस)का अनुसार, चीनका विभिन्न प्रकारका सक्रिय सैनिकको संख्या २०.३५ लाख रहेको छ । ताइवानमा केवल १.३६ लाख सक्रिय सैनिक छन् । यसरी चीनको तागत यस मामिलामा ताइवानको भन्दा १२ गुना अधिक रहेको देखिन्छ ।

थलसेना पनि चीनमा ९.६५ लाख छन् भने ताइवानमा ८८ हजार मात्रै । चीनमा नौसेना २.६० लाख छन् भने ताइवानमा केवल ४० हजार । चिनियाँ वायुसेनामा करिब चार लाख छन्, ताइवानमा ३५ हजार । यसका अतिरिक्त चीनसँग सवा चार लाख अन्य सैनिक छन्, जबकि ताइवानमा एकजना पनि छैनन् ।

कतिपय पश्चिमा विश्लेषकको मतमा यदि चीन–ताइवान भिडन्त भयो भने ताइवानले चीनलाई केही समय हमलालाई सुस्त पार्नमात्र सक्छ । यसरी चीन र ताइवानबीचको लडाइँमा चीनकै पल्ला भारी रहेको स्पष्ट देखिन्छ ।

उता, ताइवानलाई हतियार बिक्री गर्दै आएको अमेरिकाले सहयोग गर्न सक्ने अनुमान गर्नेको संख्या पनि निकै छ । तर यस विषयमा हालसम्म अमेरिकाले कुनै स्पष्ट विचार प्रकट गरेको पाइँदैन । अमेरिका चीन–ताइवान सन्दर्भमा ‘कूटनीतिक अस्पष्टता’कै अवस्थामा रहेको देखिन्छ । अमेरिकाले सोचविचार गरेरै अहिले कुनै स्पष्ट विचार प्रकट नगरेको बताउने कूटनीतिज्ञ निकै छन् । यदि दुई देशबीच लडाइँ भयो भने आफूले ताइवानलाई कसरी सहयोग गर्ने भन्ने कुरा उसले गोप्य राख्न चाहेको देखिन्छ ।

कूटनीतिक हिसाबमा चीन आफ्नो ‘एक चीन नीति’लाई समर्थन गर्छ । अमेरिकाको औपचारिक सम्बन्ध ताइवानसँग जस्तै चीनसँग पनि रहेको देखिन्छ । तथापि, भित्रभित्रै चीनको उन्नतिले अमेरिकालाई लामो समयदेखि पोल्दै आएको बुझ्न गाह्रो छैन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा अमेरिका–चीन सम्बन्ध निकै चिसिएको थियो । ट्रम्पले चीनलाई गलाउन विभिन्न उपाय अपनाएका थिए । उनले चीनसँग अघोषित ‘व्यापार युद्ध’ नै चलाएका थिए । यसकारण पनि सम्भावित चीन–ताइवान युद्धले अमेरिका बढी चिन्तित छ । लडाइँमा यदि ताइवानको हार भयो भने अमेरिकाले आफ्नो ‘हार’ महसुस गर्नेछ ।

अन्य मुलुक ताइवानलाई किन महत्व दिइरहेका छन् ?

ताइवानको बलियो अर्थव्यवस्था कयौं देशका निम्ति महत्वपूर्ण रहेको छ । संसारभर दैनिक रुपमा प्रयोग हुने इलेक्ट्रोनिक ग्याजेट्स (फोन, ल्यापटप, घडी, गेमिङ उपकरणका चिपलगायत) अधिकांश ताइवानमा निर्माण हुन्छन् । चिपको सन्दर्भमा त ताइवान संसारकै नायक बनेको छ । ताइवानको ‘वन मेजर’ नामक कम्पनी एक्लैले संसारको आधा चिप उत्पादन गर्छ ।

२०२१ मा संसारको चिप उद्योग करिब सय अर्ब डलरबराबरको थियो, त्यसमा ताइवानको हैकम रहेको थियो । यो अवस्थामा यदि ताइवानमाथि चीनको कब्जा हुन सक्यो भने उक्त महत्वपूर्ण उद्योगमाथि चीनको नियन्त्रण हुनेछ । आर्थिक मामिलासँग जोडिएको यो सन्दर्भले पनि अमेरिकाको चिन्ता बढाइदिएको छ ।

के भन्छन् ताइवानी जनता ?

हालै गरिएको एक अनुसन्धानले चीन–ताइवानबीचको तनावले ताइवानी जनतामा कुनै असर नपरेको देखाएको छ । गत अक्टोबरमा ‘ताइवान पब्लिक ओपिनियन फाउन्डेसन’ले त्यहाँका जनताको विचार जान्न एक अनुसन्धान गरेको थियो । अनुसन्धानमा ताइवानी जनतालाई ‘के चीन–ताइवान युद्ध होला’ भनी प्रश्न गरिएको थियो । उत्तरमा ६४ प्रतिशतले ‘हुँदैन’ भनेका थिए । अर्को एक अनुसन्धानले अधिकांश ताइवानी जनताले आफूलाई चिनियाँभन्दा बेग्लै मान्ने गरेको देखाएको थियो । १९९० भन्दा अघिको समयमा कतिपय ताइवानीले आफूलाई चिनियाँमूलको मान्ने गरेको पाइए पनि पछिल्लो समय उनीहरू आफ्नो बेग्लै पहिचान रहेको बताउन थालेका छन् । त्यहाँका नागरिकमा आफूलाई ताइवानी र चिनियाँ दुवै मान्ने प्रवृत्ति अहिले निकै कम भएको छ । ताइवानी नागरिक अब आफ्नो बेग्लै पहिचान र परिचयमा रमाउन थालेका छन् ।

(बीबीसीको सहयोगमा) 

प्रतिक्रिया

सम्बन्धित सामाग्री