लण्डन । नेपाल सरकारले हालसालै गैरआवासीय नेपालीहरुले नेपालका बैँकहरुमा विदेशी मुद्रामा खाता खोल्न सक्ने र त्यसबाट आर्जन भएको ब्याज सम्बन्धित देशमा फिर्ता ल्याउन पाउने प्रावधान बनाएको छ । सो प्रावधानका बारेमा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुबाट पनि प्रचार प्रसार तीव्र पारिएको छ । यो प्रावधानभित्र नयाँ के सुविधा के छ र यसले विदेशमा रहेका नेपालीहरुमा कत्तिको प्रोत्साहन ल्याउन सक्ला भन्ने बारेमा बेलायतमा रेमिट्यान्स व्यवसाय लामो समयदेखि संलग्न आइएमई लण्डनका प्रबन्ध निर्देशक कमल पौडेलसित छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ सोको सारसंक्षेप :
नेपाल सरकारले हालसालै विदेशमा रहेका नेपालीहरुले नेपालका बैँकहरुमा विदेशी मुद्रामा खाता खोल्न पाउने व्यवस्था गरेको बताएको छ । यस्तो निर्णय किन गर्नुपर्यो होला ?
नेपाल सरकारले विदेशी मुद्रामा खाता खोल्न पाउने र त्यसको ब्याज पनि फिर्ता लान पाउने व्यवस्था गरेको छ। यो सबै विदेशमा बस्नेका लागि खुशीको कुरा हो तर यो नयाँ व्यवस्था होइन । पहिले पनि यस्तो सुविधा थियो तर त्यतिबेला न्यूनतम रकम १० हजार डलर तोकिएको थियो । अहिले त्यसलाई ५ हजार डलरमा झारिएको छ । यस्तै, अहिले संयुक्त रुपमा र संघ संस्थाले पनि त्यस्तो खाता खोल्न पाउने बताइएको छ । यसरी जम्मा गरेको राशी कम्तीमा एक वर्ष झिक्न नपाइने भनिएको छ । पहिले धेरै प्रचार नगरेर होला यो योजना त्यति प्रभावकारी थिएन । अहिले खासगरी नेपालमा तरलताको अभाव, विदेशी मुद्राको संचिती घटिरहेको हुनाले सरकारले यस्तो योजना ल्याएको हुनुपर्छ ।
यो नयाँ व्यवस्थामा सरिक हुन बेलायतमा रहेका नेपाली र नेपाली व्यवसायीहरुलाई कत्तिको प्रोत्साहित गर्ला ?
यो योजनामा खाता खोल्ने, पैसा पठाउने, पैसा ल्याउने प्रक्रिया बैँकबाट हुने भएकाले प्रक्रिया झण्झटिलो हुने देखिन्छ । यसबाट सानो-सानो पैसा पठाउन चाहनेलाई त्यति प्रोत्साहित गर्छ जस्तो लाग्दैन । किनकि बैँकहरुले करिब ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने देखिन्छ र त्यति ब्याज पाउनका लागि धेरै झण्झट उठाउनु पर्ने हुनाले मानिसहरु त्यति आकर्षित होलान् जस्तो लाग्दैन । बरु रेमिट्यान्स कम्पनीमार्फत त्यस्तो पैसा पठाउने र ब्याज फिर्ता ल्याउने भएको भए झण्झट कम हुन सक्थ्यो र प्रभावकारिता बढ्न सक्थ्यो। अर्कोतर्फ, ठूलो पैसा हुनेहरुले यो योजनामा भन्दा धेरै प्रतिफल नेपालमा अरुतिर नै पाउने हुनाले यसमा सहभागी हुने सम्भावना त्यति नहाेला । त्यसैले मेरो विचारमा सोचे जति कामयावी होला जस्तो लाग्दैन ।
बेलायतका नेपालीहरुले ऋण लिएर वा घर रिमोर्गेज गरेर यस योजनामा सहभागी भई नेपाल पैसा पठाउन सक्ने सम्भावना कत्तिको छ ?
बेलायतका नेपालीहरुले आफूले वचत गरेको पैसा नेपाल पठाउन कुनै समस्या होला जस्तो लाग्दैन । तर ऋण लिँदा वा घर रिमोर्गेज गर्दा त्यसका निश्चित शर्तहरु हुन्छन् । ती शर्तहरुको परिधिभित्र रहेर पैसा पठाउन त सकिन्छ तर ती शर्तहरु उल्लंघन भएको पाइएमा बैँकले लोन फिर्ता मगाउन वा अन्य कार्बाही गर्न पनि सक्छ ।
बेलायतमा ग्लोबल आइएमई बैँकबाहेक अरु बैँकको सम्पर्क कार्यालय छैन । यस्तो अवस्थामा बेलायतका नेपालीहरुले कसरी बैँक खाता खोल्नमा सजिलै पहुँच पाउलान् ?
ग्लोबल आइएमईको कार्यालय यहीँ भएकाले केही सजिलो अवश्य छ । तर अहिले नेपालका धेरै बैँकहरुले अनलाइनबाट खाता खोल्ने सुविधा दिन थालिसकेका छन् । अनलाइनमै फाराम भरेर उनीहरुले मागेको कागजात अपलोड गरेर पठाउन सकिन्छ । प्रविधिमा सामान्य ज्ञान र पहुँच हुनेका लागि खाता खोल्न समस्या छैन ।
नेपालका बैँकहरुमा नेपाली रुपियाँमा वचत गर्दा दिइने ब्याज दर र विदेशी मुद्रामा खोलिएको खातामा दिइने ब्याजदर फरक छ । किन होला ?
अवश्य पनि नेपाली मुद्रामा वचत गर्दा धेरै ब्याज दिइन्छ तर त्यो पैसा यहाँ ल्याउन सजिलो छैन । तर विदेशी मुद्रामा खोलिने खातामा नेपाली धेरै ब्याज दिन सक्दैनन् तर पाकेको ब्याज यहाँ ल्याउन भने पाइन्छ । नेपाली मुद्राको तुलनामा विदेशी मुद्राको मूल्य बढिरहने हुँदा नेपाली बैँकहरुले विदेशी मुद्रा वचतमा धेरै ब्याज दिन नसकेको जस्तो लाग्छ ।
अन्त्यमा केही भन्नु छ कि ?
सरकारले अहिले व्यवस्था गरेको प्रावधानले डलर खातामा भएको पैसालाई धितो राखेर ऋण लिन पाउने पनि भनेको छ । यो एउटा सकारात्मक पक्ष हो र यसमा सबै प्रवासी नेपालीलाई सहभागी हुन अनुरोध गर्दछु।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा