काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो ।
उहाँका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
अन्य पदाधिकारीमा भने महामन्त्रीबाहेक सबै थापा प्यानलका निर्वाचित भएका छन् । लिङ्देनको टिममा थापा प्यानलको वर्चश्व देखिएको छ ।
राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । यी सबै थापा समूहका हुन् । पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् ।
महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन् ।
को हुन् लिङ्देन ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो ।
उहाँले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बन्नुभएको हो । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्नुभएका उहाँ विसं २०६०/६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बन्नुभएको थियो ।
उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गर्नुभएको थियो । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय हुनुहुन्छ । उहाँको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।
पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उहाँले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताउनुभयो । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम