काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
नेता हितमान शाक्यको नेतृत्वमा सम्मेलन व्यवस्थापन उपसमिति र प्रवक्ता महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले स्वयंसेवक र स्वास्थ्य उपसमिति पनि बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । “यो राष्ट्रिय सम्मेलन हो, महाधिवेशन होइन, हामीले उद्घाटन गर्छौं, आमसभा हुँदैन, यसले पार्टीको आगामी कार्यदिशा तय गर्छ”, उहाँले भन्नुभयो ।
बैठकले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । हरेक प्रदेशबाट ३० र पार्टी सदस्यताका आधारमा थप प्रतिनिधिको टुङ्गो लगाउने पनि निर्णय गरेको छ ।
जनयुद्धका घाइते र अपाङ्गता भएकाबाट पनि सम्मेलनका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । प्रत्येक प्रदेशबाट कम्तीमा एक घाइते तथा अपाङ्गता भएका प्रतिनिधि समावेश हुनेछन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको शुल्क प्रतिव्यक्ति रु दुई हजार तोकिएको छ ।
बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको उहाँले जानकारी दिनुभयो । सो उपसमितिमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ ।
उपसमितिले विधान परिमार्जनको विषयलाई यही मङ्सिर २५ गतेसम्मे टुङ्गो लगाइसक्ने उहाँले जानकारी दिनुभयो । बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । अधिकांश स्थानीय तहमा अधिवेशन सम्पन्न भएको र पालिकामा अधिवेशन सम्पन्न हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । “केही स्थानमा प्राविधिक समस्या देखिएको छ, मङ्सिर २५ गतेसम्म सबै सकिन्छ”, उहाँले भन्नुभयो । माओवादीले यही मङ्सिर ११ गते देशभरका पालिकामा सम्मेलन आयोजना गरेको थियो ।
आउँदो संसद् अधिवेशनलाई सफल बनाउन माओवादीले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । “माओवादीले संसद् बैठकमा सक्रियताका साथ भाग लिन्छ”, प्रवक्ता महराले भन्नुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सन्दर्भमा संसद्मा माओवादीको भूमिका के हुन्छ ? भन्ने पत्रकारको जिज्ञाशामा उहाँले त्यस विषयमा छलफल गर्न बाँकी रहेको बताउनुभयो ।
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग