निषेधित सहरमा अनायासै रोकिएका मेरा कदमहरु

समग्रमा मेरो आधा जीवन परदेशी भूमिमा बितिसकेको छ । त्यसैले विश्वका अधिकांश मुलुकहरु घुम्ने अवसर प्राप्त भएतापनि पुनः फेरि एकचोटी चीन जाने रहरले मलाई भित्रभित्रै कुत्कुत्याउन थालेको थियो । किनभने चीनले गर्दै गरेको अत्याधिक विकाशको गति र त्यहाँका मानिसका रहनसहनले मलाई जिन्दगीमा ज्यादै आकर्षण गरिरहेको हुन्थ्यो । अझै त्यहाँका मानिसहरुका जिविकोपार्जन गर्ने तरिका अन्य देशका तुलनामा बिल्कुल पृथक लाग्ने गर्दथ्यो । सायद उनीहरुले बोल्ने भाषा संसारको सबैभन्दा अफ्ठ्यारा भाषाहरुमध्येमा पर्छन् होला भन्ने मेरो सहज ठम्याई थियो । तर उनीहरुको खानेकुरोको विषयमा कुरो गर्ने हो भने त्यतिको मीठो भोजनहरु सायद अन्य ठाउँमा पाउन निक्कै मुस्किल पर्छ होला भन्ने मेरो मनमा लागिरहेको थियो ।

एक्काइसौं शताब्दीतिर आइपुग्दा चीन एउटा महाशक्त्तिशाली राष्ट्र बनेको छ । हुन त सुतिरहेको चीनलाई उठाउन मूर्खता सिवाय अन्य केही हुने छैन नेपोलियनले पहिल्यै भनिसकेका थिए । भलै, त्यो शक्त्तिशाली राष्ट्र मात्र नभएर कम्युनिष्ट राष्ट्र भएको हुनाले त्यहाँका कानून नेपालको जस्तो फितलो भने पटक्कै छैन । कानूनका हरेक बुँदाहरु अति कडा र क्रुर छन् । त्यसैले कथम्कदाचित कानूनको बर्खिलाप गरि हालियो भने मृत्युदण्डको सजायँसम्म पाउन सजिलै सकिन्छ । त्यसैले चीनको यात्रा एक चक्कर सिलगुडी घुमेर फर्के जस्तो सहज र सरल भने पटक्कै हुने छैन । त्यो यति चुनौती र जोखिमपूर्ण छ कि अनाहकमा ज्यान पनि जान सक्छ । अझै चीन यात्रामा निस्कँदा सबैभन्दा अफ्ठ्यारो पार्ने त त्यहाँका भाषा पनि मुख्य हो । किनभने त्यहाँका मुख्य सहरहरुबाहेक अन्य गाउँघरमा मेण्डरिन भाषामा राम्रो दख्खल छैन भने यात्रा झन् बोझिलो र खर्चालु हुनेमा शंका नगरे पनि हुन्छ ।

‘मानिसको जिन्दगी मात्र एउटा यस्तो चिज हो, जुन एकचोटी गइसकेपछि फेरि फर्केर आउन सक्दै सक्त्तैन,’ त्यसैले त्यति अमूल्य जीवनमा आफ्ना मनमा लागेका रहरहरू गुम्स्याएर के बाँचिरहने होला भन्दै मैले एकदिन ताराको कान खुसुक्कै कोट्याएको थिएँ । उनी त्यसबेला पलङ्मा मेरो विपरीत दिशातिर फर्केर नेपोलियनले सोचेको चीनजस्तै मस्तसँग निदाइरहेकी थिइन् । हुनत त्यसबेला लिभरपुलको आकाशमा बिहानीको सूर्यले एक टाङ्गो पार गरिसकेको थियो । तैपनि सप्ताहन्तको समयमा झ्यालमा दोहोरो पर्दा लगाएर अँध्यारो कोठा बनाएपश्चात् अबेलासम्म तन्किरहने त्यो उनको निक्कै पुरानो आदत थियो । खै किन हो किन म चाहिँ सानैदेखि अलिक चुलबुले स्वभावको मानिस थिएँ त्यसैले हरेक दिन उनीभन्दा अलिक चाँडै उठ्ने गर्दथें ।

कसोकसो त्यसबेला मैले अलिक बेस्सरी नै उनको कान तानी दिएछु कि के हो ? किनभने मैले कान तान्ने बितिक्कै उनको चिम्सो आँखा झट्टपट्ट खोली हालियो । उनले त्यसरी आँखा त खोलिन् तर मुखले, ‘के भो ?’ भन्ने सानो प्रश्न गरी हालिन् । मैले प्रतिउत्तरमा, ‘खै ! सपनीमा ग्रेटवाल पुगेको रहेछु, फेरि चीन जानुपर्छ कि हो ?’ उनको प्रश्नको उत्तर सँगसँगै अर्को प्रश्न जोडिदिएँ ।

‘तपाई एक्लै जानुहोस्,’ मेरो कुरो सुन्ने बितिक्कै उनी झोक्किइन् र फेरि उतैतिर फर्किहालिन् ।

‘ए ! हो र ?’ उनले नदेखे पनि म उनको कुरो सुनेर फिसिक्कै मुस्कुराएँ ।

‘आ.. तपाइँलाई जे गर्न मन लागेको छ, त्यो नै गर्नु होला ?’ भन्ने प्रतिवाचन दोश्रोचोटी मैले पाएँ ।

उनको कुरो आँधा खाली गिलास हो कि आँधा भरि हो भन्ने जस्तै दोधारे थियो । तैपनि उनलाई फकाउनको लागि सुस्तरी बेइजिंग, सङ्घाई, छाङ्सा, साओसान र हुनान प्रान्तका रमाइलो भ्रमण त्यसपछि सेनजन हुँदै हङकङमा यात्रा अन्त गर्ने मेरा अभिलाषा प्रकट गरें । अझै ती ठाउँहरुमा पुगेर के कस्तो खाने र कताकता घुम्नेभन्दा पनि हङकङमा पुगेर यात्रा सकिने भनेपछि उनको मन उथलपुथल हुन थाल्यो । किनभने हङकङ उनलाई अत्याधिक मन पर्ने स्थानहरुको सूचीमा अग्र स्थानमा रहेको छ । तर मैले हङकङको भन्दा पनि चीनको विभिन्न स्थानहरुको तस्वीरहरु खोजतलास गरेर कम्प्युटरमा तिनै तस्वीरहरु देखाउन थालिहालें । तिनै तस्‍वीरहरुमा त्यतिका मीठामीठा व्यन्जनहरु र रमणीय ठाउँहरु देखिएपछि आखिर मानिसको जिन्दगी न हो । सबैको जीब्रोमा र्याल हुन्छ उनको पनि र्याल छाउरी कुकुरको झैं देखा पर्न थालिहाल्यो । त्यसपछि उनले चीन भ्रमणमा जाने निधो गरी हालिन् ।

हुनत हामी त्यसबेला लिभरपुलमा थियौं र दक्षिण वेल्समा १० वर्ष ब्यतित गरेर बिटल्सको सहरमा सरेको पनि चार वर्ष भइसकेको थियो । त्यसपछि मैले अब बसाई कता सर्ने होला भनेर अर्को स्थानको धुम्धुम्ती खोजतलास गर्दै थिएँ । किनभने मलाई जिन्दगीभरी एउटै स्थानमा बसिरहन पटक्कै मन पर्दैनथ्यो । तर हामी लिभरपुलमा बस्दै आएका हुनाले चिनियाँ भिसा निकाल्नका लागि लण्डन धाइरहनु चाहिँ परेन । त्यसैले अर्को हप्ता भिसाको लागि म म्यानचेस्टरको चिनियाँ भिसा कार्यालय पुगेको थिएँ । र, भिसा निकालेपछि चीन भ्रमणको लागि हामी पूर्ण तयार भएका थियौं ।

इमिरेटस एअरको नयाँ ड्रिमलाइनरले बेइजिंग विमानस्थलमा अवतरण गर्दै गरेको त्यसदिन २१ अक्टोबर २०१७ को दिन थियो । लण्डन, हिथ्रोलाई बिदाइ गरेर दुबई हुँदै बेइजिंग अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न हामीलाई लगभग १४ घण्टा समय खर्च गर्नु परेको थियो । यदि समयलाई पैसासँग तुलना गर्ने हो भने त्यो निक्कै महङ्गो पर्न जान्थ्यो तर हामीजस्तो सर्वसाधारण मानिसको लागि समय फालाफाल हुने भएकोले त्यो त्यति महङ्गो पर्न गएन ।

आखिर जे सुकै भएपनि हाम्रो विमान बेइजिंग विमानस्थलमा अवतरण हुँदा बिहानीको समय ठीक सात बजिसकेको थियो । तर विमानस्थलमा भएको अध्यागमनमा हिड्दै जाँदा त्यहाँदेखि बाहिर देखिएको मौसमले चाहिँ हामीलाई पटक्कै आकर्षण गरिरहेको थिएन । तैपनि अध्यागमन पार गरेपछि हामी सरासर बाहिर निस्क्यौं र एउटा ट्याक्सी समातेर वाङ्ग फुजिङ्तर्फ लागिहाल्यौं ।

वाङ्ग फुजिङ्, बेइजिंगको डोङ्च्याङ्ग जिल्लामा अवस्थित पर्यटकहरुको लागि निक्कै नामुद क्षेत्र रहेको छ । अझै त्यो क्षेत्र आजभोलि मात्र नभएर मिङ्ग राजवंशको कालदेखि नै ब्यापारिक दृष्टिकोणले एकदमै प्रख्यात रहँदै आएको थियो । जसले गर्दा त्यस ठाउँको वरिपरि निक्कै ठूल्ठूला होटलहरु अहिले पनि राम्ररी देख्न सकिन्छ ।

बेइजिंग विमानस्थललाई सँधैका लागि बिदाई गरेपछि पेकिङ ट्याक्सीमा बसेर मज्जाले खुट्टा तन्काउन पाउँदा नपाउँदा हामी मुख्य चक्रपथमा ठोकिसकेका थियौं । हुनत अमेरिका, बेलायत, फ्रान्स र जर्मनीको ठूल्ठूला सडकहरु जस्तैः- हाइ वे, एक्सप्रेस वे, मोटर वे, वा औटोभानका तुलनामा चीनका सडकहरु झन ठूला र एकदम फराकिला हुने गरेका छन् । अझै त्यस्तो छ वटा चक्रपथले बेइजिंग सहरलाई फनक्कै चक्कर लगाएको चाल पाउँदा जाबो मुस्किलले अर्काले बनाइदिएको एउटा चक्रपथ ओगटेर बसेको काठमाण्डौ सहरलाई सम्झेर आफैँलाई धिक्कार्नसम्म धिकारेको थिएँ ।

तर बेइजिंगको चक्रपथ देखेर मेरो मन जतिसुकै प्रफूल्लित भएता पनि विभिन्न प्रकारका कलकारखानादेखि निस्केको कालो धुँवा र हुस्सुले सहर छपक्कै ढाकेको देख्दा मेरो अनुहार चाहिँ कच्याक्ककुच्युक भएर कुच्चिएको टुम्लेट झैं भइरहेको थियो । किनभने त्यतिका धेरै धुँवा र हुस्सु मैले जिन्दगीमा ढाका, दिल्ली र काष्ठमण्डपमा पनि पहिले कहिले देखेको थिइनँ । हुनत बेइजिंगमा हुने वायु प्रदुषणको विषयमा मलाई पूर्व ज्ञान नभएको चाहिँ हुँदै होइन । बेइजिंग ओलम्पिकको समयमा बीबीसी टेलिभिजनले सहरमा भएको कालो धुँवाको मुस्लो मात्र प्रचारप्रसार गरिरहेको मैले धेरैपटक नजर लगाइ सकेको थिएँ । तर त्यसदिन बेइजिंग पुग्ने बितिक्कै बीबीसीको त्यो हर्कतलाई मैले राम्ररी स्मंरण गरिरहें ।

ट्याक्सीमा लगभग एक घण्टा समय खर्च गरेपछि हामी वाङ्ग फुजिङ्मा रहेको प्राइम होटल अगाडि पुगेका थियौं । तिनै होटलमा एक हप्तासम्म बास बस्नको लागि मैले लिभरपुलमा छँदा अग्रीम आरक्षण गरेको थिएँ । वास्तवमा प्राइम होटल, बेइजिंग पाँचतारे होटल भएता पनि होटल निक्कै पुरानो रहेछ भन्ने कुरो त्यहाँका वातावरण हेर्दा चाल पाउन सकिन्थ्यो । तथापि होटल पुरानो भइकन पनि त्यहाँका कोठाहरु चाहिँ लगभग हलिवुडका चलचित्रमा देखाइने होटलको कोठाहरु भन्दा मामुली नभएको मैले त्यहाँ अनुभव गरेको थिएँ । अझै होटलको कोठामा रहेका पलङ यति ठूलो थियो कि जस्को कुरो गरेर साध्य नै थिएन । खुट्टा खप्ट्याएर एकजोडी सुत्नको लागि निर्माण गरिएको पलङ्मा दुईजोडी मानिसहरु सँगसँगै सुतेपनि अझै ठाउँ उब्रने रहेछ भन्ने मैले त्यसबेला महसुस गरिरहेको थिएँ ।

तिनै होटलमा भएको कोठाको स्नान कक्षमा हल्का मनतातो पानीले जिउ सर्लक्कै पखालेपछि हामी तिनै बेजोड ठूला पलङ्मा केहीबेर आराम गर्न थालेका थियौँ । तर सिमलको भूवा झैँ त्यति नरम होटलको पलङ भएतापनि कृष्ण सागरमा रहेको बोस्फोरस जलसंयोजन माथि बेस्सरी हल्लिएको बिमानको झझल्को हामीलाई त्यसबेलासम्म आइरहेको थियो । रातभरिको अनिँदोले करिब चार घण्टा जति मरेर पुनः ब्युँझिएपछि हामी खानाको खोजीमा सहरतिर निस्केका थियौं ।

अब बेइजिंगमा पुगिहालेपछि बेइजिंग हाँस (बेइजिङ डक) को मासु नखाई के स्वर्ग पुग्न सकिएला र ? भन्ने मेरो मनमा त्यसबेलासम्म लागिरहेकै थियो । तर ताराको अगाडी मेरा भित्री दिलबाट उकुसमुकुस हुँदै निस्किएका सबै आकाङ्क्षाहरु त्यति सजिलै पूरा हुन के सजिलो हुन्थ्यो होला र ? खानाको कुरो सुनेपछि, ‘तपाईलाई जहिले पनि भोक मात्रै लागिरहेको हुन्छ ? अरु सबैकुरो छाडेर पहिले टिनानमेन चौक घुम्न जाने हो,’ भनिन् र भुइँमा खुट्टा बजार्न थालिहालिन् । अब बेइजिंगमा उनको त्यस्तो कुरो सुनेर मेरो मुखमा सुकेको सुपाडी च्यापिएझैं भइहाल्यो । त्यसपछि थपक्कै एउटा ट्याक्सीलाई समात्यौं र त्यतैतिर लागीहाल्यौं ।

करिब ५४ एकड जमिन ओगटेर बेइजिंगमा बनेको टिनानमेन चौक पर्यटकहरुको लागि मुख्य आकर्षणको केन्द्रविन्दु हो । त्यसैले चीनमा जाने हरेक पर्यटकहरुले यस स्थानमा गएर पाइला टेक्न पाउन स्वाभाविक जस्तो नै मान्नु पर्दछ । यदि त्यस चौकमा पुगेर मस्कोको रेड स्क्वाएरसँग तुलना गर्ने हो भने पनि त्यो भन्दा कता हो कता ठूलो देखिन्छ । अथवा यो विश्वको सबैभन्दा ठूलो चौक हो भन्यो भने मात्र न्यायसँगत हुन्छ होला भन्ने मलाई लागिरहेको थियो ।

तर त्यति भीमकाय चौकको इतिहास त्यति प्रिय चाहिँ निश्चय पनि छँदै छैन् । अझै त्यस चौकले समयको विभिन्न कालखण्डहरुमा अनेक प्रकारको घटनाहरुको सास्ती भोग्दै आएको अहिलेसम्म इतिहास साक्षी छन् । तर त्यहाँ घटेका सबै घटनाहरुलाई तुलना गर्ने हो भने पनि सबैभन्दा ठूलो घटना चाहिँ सायद तिनै ४ जुन १९८९ को नै हुनुपर्छ भन्ने मेरो ठम्याइ रहेको थियो ।

त्यो घटना घटेको समयमा म हङकङतिर बराली हिँडेको थिएँ । र, चीनको प्रजातान्त्रिक आन्दोलनमा उत्रेका विद्यार्थीहरुले टिनानमेन चौक कब्जा गरेका महिनौँ भइसकेको समाचार टेलिभिजनको पर्दामा समय समयमा हेरिरहेको हुन्थेँ । तिनताका विद्यार्थीहरुले गरेको त्यो आन्दोलनको विषयलाई लिएर चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यहरु ध्रुवीकरण भएका थिए । अन्ततः सर्वमान्य नेता देङ् सायो पिङ्ले आन्दोलनकारीहरुको नग्न छातीमाथि टैंक चलाइदिनु भनेर हुकुम गिराएपछि ४ जुनको दिन आन्दोलनकारीहरुको विभत्स हत्या भएको थियो ।

चिनियाँ मुक्त्ति सेनाका बुटले टिनानमेन चौकमा परेड खेल्दा कतिजना आन्दोलनकारीको ज्यान गयो होला भन्ने सूचना आउन अहिलेसम्म बाँकी नै रहेको छ । जुन दिन चीनको धर्तीमा प्रजातन्त्रको उदय हुन्छ त्यसदिन त्यो संख्या पनि आउन सक्ला । तर त्यहाँ भएको घटनाको दृश्य मैले टेलिभिजनको पर्दामा प्रत्यक्ष प्रसारण हेर्दा म निश्चय पनि निक्कै दुखित भएको थिएँ । अझ म त्यहाँ पुगेर पहिलेको तिनै कुरोलाई स्मरण गर्दा मेरो आङ्ग जिरिङ्गै भएर शरीरभरी काँडा पलाइरहेको थियो ।

अ… हामी त्यसदिन टिनानमेन चौकमा पुग्दा त्यहाँका अवस्था बिल्कुल फरक रहेको थियो र चौक ज्यादै व्यस्त देखिएको थियो । चौकको मुख्य सडक किनारहरुमा तर हरेक ५०-५० मिटरको दुरिमा तीन-तीन जना स्थल, जल र वायु वा चीनियाँ मुक्त्ति सेनाका सिपाहीहरु सुरिलो पोजिसनमा देखा परिरहेका थिए । उनीहरुको वरिपरि तर झुम्म भएर नगर प्रहरीहरु ठाउँ ठाउँमा उभिरहेका नरमाइलो दृश्यवलोकन गर्न मिल्दथ्यो । त्यति बाक्लो सुरक्षाको घेराभित्र चीनियाँ कम्युनिस्ट पार्टीको १९औं रास्ट्रिय कांग्रेसको महाधिवेसन चलिरहेको थियो । टिनानमेन चौकमा रहेको ग्रेटहलमा भइरहेको त्यो महाधिवेशन एक हप्ता लामो थियो । जुन महाधिवेसनमा भाग लिनको लागि देशभरिको लगभग १ अर्ब ३ करोड जनसंख्याबाट २२ सय ८० जना चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु त्यहाँ उपस्थिति भएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेसनले टिनानमेन चौकको कतिपय स्थानहरुमा मानिसहरु जानको लागि पूर्णतय प्रतिबन्ध गरिएका थिए । जसमध्ये अध्यक्ष माओको दाहसंस्कार गरिएको स्थान मसोलियम पनि निषेधित क्षेत्रभित्र परेको थियो । त्यसैले हामी त्यहाँ जान सकिरहेका थिएनौं । तर मसोलियमको छेउमा एकजना टेलिभिजन (सीसीटिभी) मा काम गर्ने युवतीसँग हाम्रो अचानक भेट भएको थियो । उनीसँग हाम्रो भेटघाटपछि छोटो परिचय भयो र उनले टिनानमेन चौक, ग्रेट हल, मसोलियम र निषेधित सहरको विषयमा निक्कै राम्रो जानकारी गरिदिइन् । बेलायती नभएर अमेरिकन अङ्ग्रेजी भाषामा निक्कै दख्खल भएकी जीनाले टिनानमेन चौकमा बिना पैसा सबैकुरो बताई दिदाँ म हर्षले विभोर भइरहेको थिएँ ।

तारा र मैले जीनालाई केहीबेरपछि सधैको लागि बिदा गर्यौं । त्यसपछि एक्कै शब्द बोल्दै नबोली खुरुखुरु निषेधित सहरतर्फ हानी हाल्यौं । निषेधित सहर बेइजिंग पनि चीन भ्रमणमा रहने हरेक पर्यटकको लागि त्यतिक्कै महत्वपूर्ण र आकर्षक स्थान रहेको छ । लगभग १ सय ८० एकड क्षेत्रफल ओगटेर बनेको निषेधित सहर अहिले त निषेधित अवश्य पनि छैन । तर त्यति ठूलो क्षेत्रफल ओगटेर बनेको सहरमा ९ सय ८० वटा घरहरु र ९० वटा दरबारहरुको नजर लगाउन करिब एक हप्ता समय खर्च गर्नु पर्ने हुन्छ ।

तर मलाई निषेधित सहरमा पुगेपछि जति खुसी हुनुपर्ने हो त्यसको अलवा झन् असहज उत्पन्न भइरहेको थियो । किनभने त्यहाँको सम्राटहरुले घरमा काम गर्ने नोकर्नी र उपपत्नी (कनकुवाइन) हरुलाई अत्याधिक अन्याय गर्छन् भन्ने हङकङमा छँदा सुनेको थिएँ । अझै उरन्ठ्याउँला सम्राट भएका बेला त्यस्तो उपपत्नीहरुको संख्या दशौं हजारसम्म पुगेका यदाकदा सुन्न सकिन्छ । अनि ती उपपत्नीहरुको उमेर लगभग १४ वर्ष पार गरिसकेको र रुप अचाक्ली किन्दरी किन्दरी हुनुपर्ने नियमहरु थिए । सम्राटहरुको मनोरन्जनको साधन बन्नको लागि त्यस्तो युवतीहरुको खोजी गर्न चिनियाँ सिपाहीहरु दिनहुँ गाउँका कुनाकुनासम्म पुग्ने गर्दथे । र, देशभरीबाट जम्मा गरेर कलिला युवतीहरु निषेधित सहरमा ल्याउने गर्दथे । त्यसरी खोजिएका उपपत्नीहरु दरबारमा छिरेपछि सम्राटसँग रङ्गीन रात बिताउनको लागि पालैपालो समय प्रतीक्षा गरेर बस्नु पर्ने नियम थियो ।

हुनत यस प्रकारको प्रथा संसारदेखि अहिले देखावटी रुपमा नष्ट भइसकेका छन् । तर अदेखा रुपमा हाम्रो समाजमा वर्षे च्याउँ झैं जताततै छ्यासछ्यास्ती उम्रेका छन् भन्ने कुरो हाम्रो मार्गदर्शकले हामीलाई सुस्तरी सुनाएकी थिइन् । उनको कुरो सुनेर म केहीबेर रणभूलमा परिरहें तैपनि उनलाई क्रमशः सुन्दै गइरहेको थिएँ । उनले बोल्ने क्रममा यो सबै आधुनिक जमानामा पैसा र भड्किलो जीवन शैलीको नतिजा हो भनेर ठोकुवा गरेकी थिइन् ।

अझै उनले आफ्नै जिन्दगीमा भोगेकी एउटा ज्वलन्त उदाहरण पनि हामीलाई त्यसबेला प्रस्तुत गरिन् ।

मेरो घर छेउमा एकजना २० वर्षे युवती बस्छिन् । ती युवतीले विवाह नगरी तीन वर्ष अगाडी एउटा छोराको जन्म दिएकी छिन् । उनको छोरोको बाबुको उमेर र युवतीको बाबुको उमेर बराबरी जस्तै छन् । त्यसैले मेरो बाबुको दौंतरी देखिने छोरोको बाबुलाई म ‘बूढो मानिस’ भन्न रुचाउँछु, ती युवती भन्छिन् । त्यो बूढो मानिसको उमेर कति भयो ? ऊ कहाँ बस्छ ? उनको श्रीमती छ कि छैनन् ? यदि छन् भने कतिजना छन् ? मलाई खास्सै मतलव छैन् ।

मलाई कुन कुरोको मतलव छ भने उनले मलाई एउटा दुई कोठे घर किनिदिएका छन् र हरेक महिना मेरो खर्चको लागि बैंकमा पैसा हालिदिन्छन् । त्यसैले ऊसँग मेरो कुनै सवाल छैनन् । यदि त्यो तालु खुइलो बूढोले सधैँ मेरो बैंक खातामा पैसा खुसुखुसु हालिरहन्छ भने म एकदम खुसी हुन्छु । अनि जुनबेला मेरो कामुक शरीरको उनलाई आवश्यकता पर्छ उनले आएर मज्जाले उपभोग गरे हुन्छ र यौनेच्छा प्राप्तिपछि विलय भए पनि मलाई खास्सै फरक पर्दैन ।

ती युवतीको जीवन कथा मार्गदर्शकको मुखबाट सुनेपछि उनी थोरै असुरक्षित छन् कि भन्ने मेरो मनमा लागिरहेको थियो । तर हरेक मानिसका आ-आफ्नै विचारहरु हुन्छन् । कस्को विचार सही वा गलत छ भन्ने कुरो केवल समयले मात्र निर्धारण गर्ने गर्दछ । तथापि ‘हुन्छ भन्ने र हुन्न भन्ने विचारहरु दुवै सत्य हुन्,’ कन्फ्युसियसको तिनै भनाइलाई मैले निषेधित सहर बेइजिंगमा अमुक अवस्थामा रहेर निक्कै लामो समयसम्म मनन् गरिरहें ।

तैपनि त्यतिका धेरै उपपत्नीहरुको सहर निषेधित सहरलाई चिनियाँहरुले उनीहरुको भाषामा ‘दोश्रो स्तन’ (आर ख्याइ) भन्ने उपनामले चिन्ने गरेका रहेछन् । कसोकसो आफ्नो भाग्यले जुराएर नाइँटोसम्म झुन्डिएर झरेका कल्चौंडीमा नै भरपूर मनोरन्जन लिन सफल भएको म जाबोले दोश्रो स्तन (सेकेन्ड ब्रेस्ट) को कुनै कल्पना गर्न सक्त्तै सकिनँ । बरु त्यतिका बेलासम्म भोकभोकै हिडिरहने मेरा अभागी कदमहरुको चाहिँ उच्च मूल्याङ्कन गर्दैगर्दै म सुस्तरी पाइतालाहरुलाई ट्याक्सी स्टेसनतर्फ क्रमशः खियाइरहेका थिएँ ।

क्रमशः 

 

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री