नवलपुर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार पदाधिकारीमा २३ तथा केन्द्रीय सदस्यमा ३१० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्षमा सात, महासचिवमा एक, उपमहासचिवमा तीन तथा सचिवमा नौ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।
केन्द्रीय पदाधिकारीको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित भएको सुब्बाले बताउनुभयो । सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका कारण उहाँहरुबीच प्रतिस्पर्धा हुने भएको छ । छ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यततर्फ भौगोलिक क्षेत्रअनुसार प्रदेश १ खुला छ जना आवश्यक भएकोमा नौ को उम्मेदवारी परेको छ भने तीन जना महिलामा तीन जनाको नै उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश २ मा खुला छ मा छ तथा महिलातर्फ तीनमा तीन जनाको नै उम्मेदवारी परेको छ । वाग्मती प्रदेशबाट पनि खुलातर्फ छ जना केन्द्रीय सदस्यमा आठ जना तथा महिलातर्फ तीन जनामा तीन जनाकै उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन जना महिला कोटामा तीन जनाकै उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन महिला केन्द्रीय सदस्यमा तीन जनाकै उम्मेदवारी परेको छ । कर्णाली प्रदेशको छ जना खुला केन्द्रीय सदस्यतर्फ छ जनाकै र तीन महिला सदस्यका लागि तीन जनाकै उम्मेदवारी परेको छ ।
सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । सम्पर्क समन्वयतर्फ खुला एकमा १ जनाकै उम्मेदवारी परेको छ भने एक महिला कोटामा दुई जनाको उम्मेदवारी परेको छ ।
समावेशी केन्द्रीय सदस्यतर्फ आदिवासी जनजातिको १७ पदमा १९ जनाको तथा आठ महिला सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको सुब्बाले बताउनुभयो । मधेशीतर्फ १३ जना खुला केन्द्रीय सदस्यमा १५ तथा छ महिला केन्द्रीय सदस्यमा छ जनाकै उम्मेदवारी परेको छ । आठ दलित खुलातर्फ ११ जनाको र चार महिलातर्फ चार जनाकै उम्मेदवारी परेको सुब्बाको भनाइ छ ।
त्यसैगरी थारुबाट पाँच खुला केन्द्रीय सदस्यमा छ तथा दुई जना महिलाको कोटामा तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलातर्फ चार जना केन्द्रीय सदस्यमा छ तथा एक महिला केन्द्रीय सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । श्रमिक खुलातर्फ चार जनाको पदमा चार जनाकै र दुई जना महिला कोटामा दुई जनाकै उम्मेदवारी परेको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
पिछडिएको क्षेत्रबाट खुलाको तीन पदमा पाँच तथा एक महिलाको कोटामा एक जनाकै उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यको ८४ पदमा ८५ जना तथा महिला आरक्षित ५३ पदमा ५४ जनाको उम्मेदवारी परेको सुब्बाले बताउनुभयो ।
नेकपा एमालेका तीन वटा केन्द्रीय आयोगमा भने अवाश्यकताअनुसारको पदमा मात्रै उम्मेदवारी परेको छ । पच्चीस सदस्यीय केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका सबै पदमा निर्विरोध भएको सुब्बाले बताउनुभयो । एमालेको केन्द्रीय समितिमा आवश्यक पदअनुसार उम्मेदवारी परेका सबै निर्विरोध निर्वाचित हुने र आवश्यक पदभन्दा बढी उम्मेदवारी परेको पदमा भने निर्वाचन गराइने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण