‘ए स्टार’को दश वर्षमा प्रिन्सिपल मीन दर्लामीलाई दश प्रश्न

बेलायतमा नेपाली मूलका व्यवसायीद्वारा संचालित ए स्टार फानान्सियल सोलुसन्स युकेले दशौँ वर्ष पूरा गरेको छ । लण्डनमा मुख्य कार्यालय रहेको यस कम्पनीले पेन्सन तथा इन्भेष्टमेण्ट, कमर्सियल र रेसिडेन्सियल मोर्गेज, विल (इच्छापत्र), बीमा लगायतका क्षेत्रमा सेवा दिँदै आएको छ । यसै सन्दर्भमा ए स्टार फाइनान्सियल सोलुसन्सका प्रिन्सिपल तथा फाइनान्सियल एडभाइजर मीन दर्लामीमगरसित छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सारसंक्षेप ।

मीन सर तपाईलाई स्वागत छ । दशौँ  वर्ष पूरा गर्नुभएकोमा हार्दिक बधाई पनि ।

धन्यवाद । मलाई यो मौका दिनुभएकोमा हार्दिक धन्यवाद ।

दश वर्ष अगाडी ए स्टार फाइनान्सियल सोलुसन्स कसरी शुरुवात गर्नुभएको थियो । त्यसको पृष्ठभूमिका बारेमा बताइदिनुहोस् न ।

शुरुमा मैले ‘एक्सेस फाइनान्सियल सोलुसन्स’को नामबाट कम्पनी शुरु गरेको थिएँ तर पछि काम गर्दै जाँदा यहाँको स्थानीय दुई कम्पनीले बौद्धिक सम्पत्तिको अधिकार दर्ता गर्ने क्रममा एक्सेस कम्पनी पहिल्यै दर्ता भइसकेको भनेर नियतपूर्वक दाबी गरे । उनीहरुको व्यापार र हाम्रो व्यापारको प्रकृति फरक थियो तैपनि उनीहरुले नामका लागि दाबी गरे । कानुनी प्रक्रिया अगाडी बढ्यो उनीहरु ठूला कम्पनी भएकाले मैले आर्थिक रुपमा प्रतिस्पर्धा गर्न सकिनँ । मैले आफैँलाई पनि पुनरावलोकन गर्दा कम्पनीको नामबाट भन्दा पनि हामी यसमा सम्वद्ध व्यक्तिहरुको व्यक्तिगत सम्बन्धको आधारमा ‘क्लाइन्ट’हरु आएको पायौँ । त्यसपछि सन् २०१६ देखि नाम परिवर्तन गरी ‘ए स्टार’ नाम राख्यौँ ।
‘ए स्टार’ वा ‘एक्सेस’ नाम राख्नुको पछाडी हाम्रो समुदाय त छँदैछ हाम्रो समुदायभन्दा बाहिरको समुदायका लागि पनि सजिलो होस् भनेर राखिएको हो । सन् २०११ मा यो व्यवसाय शुरु गर्नुभन्दा अघि सन् २००२ तिर नै मैले (काउन्सिलका घरहरुमा निश्चित वर्ष बसेपछि किन्न पाइन्छ) त्यससम्बन्धी काम गरेको थिएँ । त्यतिबेला नै मैले बजारका बारेमा बुझेको थिएँ । हाम्रो समुदाय युकेमा नयाँ थियो र भर्खर ‘सेटल्ड’ हुँदै थियो । भाषाका कारण उनीहरुलाई घर किन्न समस्या भएको देखेको थिएँ । हाम्रो समुदायलाई आफूले जानेको कुरा बुझाउन सकौँ भनेर यो व्यवसाय शुरु गरिएको हो । हामीले मोर्गेज, पेन्सन, इन्स्योरेन्स सम्बन्धी विभिन्न सेवाहरु दिन्छौँ तर हाम्रो मूल उद्देश्य नै हाम्रो कम्युनिटी र अरु कम्युनिटीमा पनि जनचेतना फैलाउने हो ।

दश वर्षको व्यावसायिक यात्राबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट त एकदमै छु । हामी कहाँबाट आएका हौँ भन्ने सम्झिँदाखेरी म गुल्मीको सानो भार्से भन्ने गाउँबाट आएको हुँ । त्यहाँबाट काठमाडौँमा ‘मास्टर्स’ गरेँ र त्यसपछी यहाँ आएर संघर्ष गरेँ । अहिले यो स्टेजमा आइपुग्दा म सन्तुष्ट छु । अर्कोकुरा, जुन मेरो उद्देश्य थियो समुदायमा जनचेतना फैलाउने । मोर्गेज, पेन्सन, इन्स्योरेन्स जहाँबाट लिए पनि बुझेर लिने । त्यस हिसाबले पनि म सन्तुष्ट छु । हजारौँ ग्राहकहरुलाई आफैँ बस्नका लागि र व्यापारिक प्रयोजनका लागि घर किनिदिनमा सहयोग गर्न सक्यौँ त्यस हिसाबमा पनि म खुशी छु ।

सेवा र जनचेतनाको हिसाबले त सन्तुष्ट छु भन्नुभयो । नाफाको हिसाबले चाहिँ सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ?

छु । म पैसा मात्र हेर्दिनँ । काम गरेपछि पैसा आउँछ भन्ने मेरो बुझाइ छ । भित्रदेखि नै त्यसमा म विश्वास गर्छु । नाफाभन्दा पनि एउटा ‘प्लाटफर्म’ बनायौँ त्यसलाई चलाउनका लागि पुगेको छ । हाम्रा ‘एडभाजर’हरुलाई तलव खान पुगेको छ । त्यसमा कहिलेकाहीँ नाफा, बोनस पनि बाँड्छौँ । समुदायभित्र हुने सानातिना च्यारिटीका कार्यक्रमहरुमा ‘स्पोन्सर’ गर्न पनि सकेका छौँ । पैसा मात्रभन्दा पनि खान पनि पुगेको छ र अलिअलि दिन पनि पुगेको छ । सेवा पनि दिन सकेका छौँ । सबै हिसाबले म व्यक्तिगत रुपमा धेरै खुशी छु ।

यसैमा थप्न चाहेँ, यहाँहरुको टीममा को को हुनुहुन्छ ? अनि लण्डनबाहिर पनि शाखा रहेको थाहा पाएको छु । कहाँ कहाँ छ यहाँहरुको शाखा ?

म चाहिँ ह्यांगर लेन लण्डनमा छु । यहाँ मलगायत कुमार गुरुङ, किशोर राना (उहाँ मगर युथ युकेको अध्यक्ष पनि हुनुहुन्छ), दीपी गुरुङ र आकृति थापा गरी पाँचजना हुनुहुन्छ । आसफोर्डमा रमेश सराङकोटी र प्रशासनिक कार्य हेर्नका लागि लक्ष्मी सराङकोटी हुनुहुन्छ । फार्नब्रोमा हाम्रो सम्पर्क कार्यालय रहेको छ त्यहाँ रविन्द्र श्रेष्ठ हुनुहुन्छ । रेडिङमा पनि हाम्रो कार्यालय छ तर महामारीपूर्व रविन्द्र श्रेष्ठ, म आफैँ वा किशोर राना जाने गथ्र्यौं । महामारीपछि त्यहाँ नियमित जान रोकिएको छ तर कार्यालय अझै पनि छ । कुनै ग्राहकले म भौतिकरुपमा नै भेट्छु भन्नुभयो भने हामी त्यहाँ पनि जान्छौँ ।

तपाईहरुको शाखा रहेको क्षेत्रमा मात्र सेवा दिनुहुन्छ कि युकेभरि नै दिनुहुन्छ ?

हाम्रो सेवा युकेभर नै छ । युकेमात्र नभएर आयरल्याण्डमा पनि सेवा दिइरहेका छौँ । आसफोर्डमा नेपालीहरुको अलि बाक्लो बस्ती भएर नेपाली ग्राहकहरु धेरै भए पनि लण्डनको सवालमा नेपाली र अरु कम्युनिटीका पनि ग्राहकहरु छन् । ननिटन, डार्बी, क्याम्ब्रिज, अक्सफोर्ड सबैतिर हाम्रा ग्राहकहरु हुनुहुन्छ । आजकल प्रविधिले सजिलो बनाइदिएको छ । फेसटाइम, इमेलबाट सबै कुरा गर्न मिल्ने भएकाले पनि सबैतिरका ग्राहकलाई सेवा दिन सकेका छौँ ।

ए स्टार भन्नासाथ मोर्गेज भन्ने दिमागमा आउँछ । तपाईहरुले अरु पनि धेरै सेवाहरु दिनुहुन्छ भन्ने सुनेको छु । अरु सेवाहरुको बारेमा अलि विस्तृतमा बताइदिनुहुन्छ कि ?

हामीले धेरै किसिमका सेवा दिन्छौँ । त्यसैले हाम्रो नाम पनि ‘ए स्टार’ मोर्गेज भन्ने छैन । मोर्गेज हाम्रो सेवाको एउटा पाटो मात्र हो । पेन्सनका बारेमा सबै किसिमका पेन्सनहरु प्राइभेट पेन्सन, कम्पनी पेन्सन, पेन्सन ट्रान्सफर लगायतका सेवा दिन्छौँ । ‘ट्याक्स इफिसिन्ट’ तरिकाले कसरी पेन्सन योजना बनाउन र लगानी गर्न मिल्छ भन्ने पनि योजना गर्छौं । हामी अरु लगानीका योजना पनि गर्छौं । हामी ‘शेयर’ र ‘फोरेक्स’ चाहिँ गर्दैनौं किनकि त्यो ‘अनरेगुलेटेड’ क्षेत्र पर्यो हामी चाहिँ ‘रेगुलेटेड इन्भेष्टमेण्ट’को क्षेत्रमा काम गछौँ । हामी र अरुमा फरक यही हो । हामी मोर्गेज र इन्स्योरेन्स मात्र गर्दैनौं अरु पनि गछौँ । फरक फरक इडभाइजरले फरक फरक क्षेत्रमा सल्लाह दिन्छौँ  । म चाहिँ पेन्सनको क्षेत्रमा सल्लाह दिन्छु । हाम्रो नेपालीको पहिलो पुस्तालाई पेन्सनका बारेमा त्यति धेरै चासो छैन तर क्यारेबियन तथा यहाँका स्थानीयहरु धेरै पेन्सनका ग्राहक छन् ।

यहाँहरुको क्षेत्रमा बितेको दश वर्षमा के कस्ता परिवर्तन आएको पाउनुभएको छ ?

धेरै परिवर्तन आएका छन् । खासगरी नियमनका क्षेत्रमा धेरै ठूलो परिवर्तन आएको छ । पहिले पहिले मोर्गेज लिनुभएको बाबाहरु, दाइहरु आउनुहुन्छ । अनि त्यतिबेला र अहिले मोर्गेज लिँदा पूरा गर्नुपर्ने कुराहरु फरक पाएर आश्चर्यमा पर्नुहुन्छ । पहिले सोझै तलवलाई गुणा गरेर मोर्गेज दिइन्थ्यो । मैले यो व्यवसाय शुरु गर्ने बेलामा तलवको साढे सात गुनासम्म पनि मोर्गेज निकालिदिएको थिएँ । अहिले त्यो कुराहरु परिवर्तन भएर क्रयशक्तिका आधारमा मात्र मोर्गेज दिन्छ । जसमा कमाइ कति छ, खर्च कति छ, आश्रितहरु कति छन्, क्रेडिट स्कोर कस्तो आउँछ सबै विश्लेषण गरेर मात्र मोर्गेज दिइन्छ ।
सकारात्मक हिसाबले हेर्दा पहुँच अहिले धेरै व्यापक भएको छ । मैले शुरु गर्ने बेलामा स्वतन्त्ररुपमा फर्म खोलेर बस्ने नेपाली कोही थिएन । अरु पनि नेपाली ‘एडभाइजर’हरु हुनुहुन्थ्यो तर उहाँहरुले अरु फर्मको मातहतमा रहेर काम गर्नुहुन्थ्यो । नयाँ आउने नेपाली ‘एडभाइजर’हरुलाई तालिम दिने, मार्गनिर्देशन गर्ने अवस्थामा कोही पनि थिएन । अरु समुदायले चलाएको फर्ममा नयाँ ‘एडभाइजर’ भनेपछि लिनै नचाहने गरिन्थ्यो । मैले पनि धेरै संघर्ष गरेँ । अहिले चाहिँ यहीँको स्थानीय फर्महरुले पनि नयाँ नेपाली ‘एडभाइजर’लाई लिन्छ र हाम्रै नेपाली समुदायका पनि धेरै ‘एडभाइजर’हरु हुनुहुन्छ । त्यो एकदमै खुशीको कुरा हो । तर विचार गर्नुपर्ने कुरा चाहिँ अहिले सबै ‘लेण्डर’हरु आक्रामक तरिकाले आइरहेका छन् । सबै कुराहरु स्वचालित बनाइरहेका छन् । अहिलेको नयाँ पुस्ता प्रविधिसित धेरै मैत्री छन् । अब मोर्गेज मार्केट स्वचालित हुँदैछ । मोर्गेज मात्र गर्ने सल्लाहकारहरुका लागि त्यति राम्रो भविष्य चाहिँ छैन । उहाँहरुले जटिल केसहरुमा विशेषज्ञता हासिल गर्नेतिर आफूलाई परिवर्तन गर्दा राम्रो हुन्छ ।

यसैमा म थप्न चाहन्छु, दश वर्षको अनुभव र आउने दिनको पूर्वानुमानको आधारमा अब ए स्टारको योजना कस्तो छ ? के गर्दै हुनुहुन्छ ?

प्रोजेक्टहरु एकदमै ‘लाइन अप’ छन् । ‘फाइनान्सियल इण्डष्ट्री’मा उपलब्ध हुने सबै सेवाहरुको लाइसेन्स लिएर बसेका छौँ । मोर्गेज मात्र नभएर पेन्सनको पनि । पेन्सनभित्र पनि पेन्सन सार्न मिल्ने खालको । म त्यसको विशेषज्ञ पनि हुँ । मोर्गेजकै कुरा गर्दा सामान्य मोर्गेज पनि हेर्छौं तर त्यसलाई चाहिँ अब प्राथमिकता दिँदैनौँ । डेभलपमेण्ट फाइनान्स, कमर्सियल, अक्सनतिर ध्यान दिन्छौँ । हाम्रा अरु एडभाइजरहरु पनि अहिले इण्डिपेन्डेण्ट फाइनान्सियल एडभाइजरतिर सर्दै हुनुहुन्छ । अब हामी इन्भेष्टमेण्ट र पेन्सनमा धेरै जोड दिन्छौँ ।

तपाई त फाइनान्सियल एडभाइजर पनि । दश वर्षमा युकेमा रहेका सयौँ नेपालीको आन्द्राभुँडी थाहा पाइसक्नुभयो । त्यसका आधारमा कुनै त्यस्तो साझा सुझाव दिन सक्नुहुन्छ ?

धेरै कुरामा जान सकिन्छ । मेरै क्षेत्र पनि पर्यो तर सामान्यत इन्भेष्टमेण्ट र पेन्सनको कुरा धेरै चाहिँ सम्बन्धित व्यक्तिको आय, जोखिम लिन सक्ने आँट, उद्देश्य आदिको आधारमा हुन्छ । तर समग्रमा हेर्दाखेरि हाम्रो यो काम गर्ने स्थलमा व्यवस्था गरिएको पेन्सन हामी सेवा निवृत्त हुने अवस्थामा पर्याप्त देखिँदैन । अहिले मसँग हुनुभएको ग्राहकहरुको प्रक्षेपण हेर्दा मैले त्यो पाएको छु । हाम्रो समुदायमा सेवा निवृत्त हुने बेलामा कति जतिको आय हुनुपर्छ भन्ने बारेमा योजना बनाउनु आवश्यक छ । हामीलाई सरकारले पेन्सन दिइहाल्छ भन्ने छ । अहिले सरकारले दिने पेन्सन एक जनाको १७९ पाउण्ड प्रतिसाता छ । त्यो भनेको वर्षको ९ हजार पाउण्ड जति हो । अहिले महंगी बढिरहेको छ । इन्धनको भाउ बढिरहेको छ । पहिलो पुस्तामा हामीलाई सरकारले पालिहाल्छ भन्ने छ । हो सरकारले हेर्छ तर सीमित मात्र हेर्छ । अघि उदाहरण दिइहालेँ सरकारले साताको १७९ पाउण्ड दिन्छ । त्यसले के गर्ने ? बिलहरु तिर्ने कि खाने ? वर्षको १० हजार पाउण्डभन्दा कम आयमा बाँच्न सकिएला त ? त्यसैले यतातर्फ सबै जनाले सोच्नु जरुरी छ । पहिलो चरणमा हामीले मोर्गेज, विल, इन्स्योरेन्सका बारेमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्यौं । अबको चरणमा हामी लगानी, पेन्सन, कर बचाएर गर्ने लगानीका बारेमा गर्नेछौं । सेमिनारहरु र फेसबुक लाइभ पनि गर्छौं । पेन्सनका बारेमा सबै जनाले गम्भीर भएर सोचिदिन अनुरोध गर्दछु ।

हामी कुराकानीको अन्तिममा आइपुग्यौं । विगत दुई महिनायता बैँक अफ इंग्ल्याण्डले ब्याजदरको आधार रेट बढाउने चर्चा छ । यदि ब्याजदर बढ्यो भने अहिले मोर्गेज लिइरहेकाहरु र नयाँ लिनेहरुलाई कस्तो असर पर्ला ?

जसले निश्चित समयका लागि लिनुभएको छ उहाँहरुलाई कुनै असर पर्दैन । ‘डिल’ कायम रहेको समयसम्म केही हुँदैन तर जसको ‘डिल’ सकिँदैछ र जो ‘भेरिएबल’मा हुनुहुन्छ उहाँहरुलाई चाहिँ प्रत्यक्ष असर पर्छ । त्यस्तो साह्रो आत्तिइहाल्ने अवस्था छैन । बैँक अफ इंग्ल्याण्डले नबढाए पनि बैँकहरुले ब्याज दर बढाइसकेका छन् । नयाँ वर्षदेखि अझै बढ्ला तर बढ्दा पनि एकचोटी धेरै बढ्ने छैन ।

अन्त्यमा केही भन्नु छ कि ?

अन्त्यमा हालसम्म हामीलाई सेवा गर्ने अवसर दिनुहुने सबै सेवाग्राहीहरुलाई धन्यवाद दिन चाहन्छु । हामीलाई सहयोग गर्नुहुने सबै साथीभाइ, परिवारका सदस्यहरु, ‘ए स्टार’का सबै टीम मेम्बरहरु, सबैलाई धन्यवाद । अझै लामो सहयात्रा गरिरहन पाउँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री