बीसीसी युकेका दर्शनार्थीले अल्डरसट स्टेडियममा कार पार्क गर्न पाउने

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बाको कार पार्किङ्ग समस्या अस्थायी रुपमा समाधान भएको छ ।

गुम्बामा आउने दर्शनार्थीहरुले स्थानीय रस्मोर बरो काउन्सिलको सहयोगमा गुम्बासँगै रहेको अल्डरसट फुटबल स्टेडियमको कार पार्कमा पार्किङ्ग गर्नसक्ने भएको छ ।

गुम्बासँगै रहेको पियरसन व्यारेक कार पार्क गत महिनाबाट स्थायी रुपमा बन्द भएपछि गुम्बा दर्शनका लागि आउने भक्तजनहरु कार पार्किङको मर्कामा पर्दै आएका थिए ।
उक्त समस्या समाधानका लागि बीसीसी युकेले पहल गरेपछि स्थानीय काउन्सिलको सहयोगमा फुटबल क्लबले गुम्बालाई २० वटा शःशुल्क पार्किङ्ग पर्मिट उपलब्ध गराएको छ । उक्त स्टेडियमको पार्किङ्गमा पार्क गर्नका लागि गुम्बाका स्टाफसँग सम्पर्क गरी पार्किङ्ग पर्मिट लिएर मात्र पार्किङ्ग गर्न सकिने छ । उक्त पार्किङ्गमा १ घण्टासम्म पार्क गर्न १ पाउण्ड, ४ घण्टासम्म पार्क गर्न २ पाउण्ड र २४ घण्टासम्म पार्क गर्नका लागि ५ पाउण्ड शुल्क तोकिएको छ । उक्त शुल्क बीसीसी युकेले संकलन गर्ने सहमति भएको छ । तर उक्त पार्किङ्ग पर्मिट भने आफू जाने बेलामा गुम्बा स्टाफलाई बुझाएर मात्र जानु पर्ने छ ।
गुम्बा नजिकै कार पार्क नहुँदा करीब आधा किमी टाढा रहेको मल्टीस्टोरी कार पार्कमा पार्किङ्ग गरेर पूजा सामाग्री बोकेर आउनु पर्ने बाध्यता थियो तर यो अहिलेको व्यवस्थाले धेरै सहज भएको छ ।
करीब १०० कार पार्क गर्ने क्षमता भएको पियरसन ब्यारेक कारपार्क स्थानीय काउन्सिलले केयर होम बनाउन बिक्री गरिदिएपछि बीसीसी युकेका भक्तजनहरु, शुभचिन्तकहरु र स्थानीय बासिन्दाहरुले कार पार्कको आवश्यकता औंल्याउदै बिक्री नगर्न अनुरोध गरेको भएतापनि  काउन्सिलले आफ्नो निर्णय फिर्ता लिएन । गुम्बा संचालनदेखि नै भक्तजनहरुले प्रयोग गर्दै आएको पार्किङ्ग एक्कासी बन्द भएपछि गुम्बामा आउने भक्तजनहरुले ठूलो मार खेपिरहेको अवस्थामा उक्त समस्या अस्थायीरुपमा भएपनि समाधान भएको हो ।
तर अल्डरसट फुटबल क्लबको खेल भएको समयमा उक्त स्टेडियमको कार पार्क भने प्रयोग गर्न पाइने छैन । कुन कुन दिन र समयमा खेल हुदैछ भन्ने बारे गुम्बासँग सम्पर्क गरी बुझ्न सकिने छ । यदि खेल हुने दिनमा गुम्बा आउने हो भने अल्डरसट टाउन सेन्टर नजिकै हाईस्ट्रीटमा रहेको मल्टीस्टोरी कार पार्कमा पार्किङ्ग गर्न सकिने छ ।
स्मरण् रहोस्, स्थानीय रस्मोर बरो काउन्सिलमा करीब १५ हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको अनुमान छ । साथै नेपालीहरुकै पहलमा स्थापना भएको बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी), शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, मगर संघ युकेलगायत नेपाली संघसंस्थाहरुले भवन खरिद गर्न सफल भएका छन् । त्यस्तै, एनआरएनए युके, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को कार्यालय समेत अल्डरसटमा रहेको छ । साथै सोही काउन्सिलमा तीन जना नेपालीहरु स्थानीय काउन्सिलरमा समेत निर्वाचित भएका छन् । थुप्रै उद्यमी तथा व्यवसायीहरुले रेष्टुरेण्ट, बाङ्ग्क्येटिङ्ग हल, सैलुन, ग्रोशरी, ट्राभल, सुनचाँदी पसल, मोेर्गेज, फेन्सी स्टोर्स, क्लिनिङ्ग कम्पनी, सेक्युरिटी कम्पनी, मिडिया लगायत थुप्रै व्यवसायहरु संचालन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री