सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: १९:५८ | UK Time: 14:13

सेभोइ ग्रील लण्डनका अविस्मरणीय यादहरु

नियात्रा

भीम राई
२०७८ कार्तिक २८ गते ९:४७

भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कँदा आकाशमा ताराहरु टिमटिम टल्किरहेका मज्जाले नजर लगाउन मिल्दथ्यो । हामी आकाशमा भएका तिनै असङ्ख्य ताराहरु र सडक किनारमा बलिरहेका बत्तीको सहाराले सुस्तरी अगाडि बढिरहेका थियौं । त्यसरी हिँडने क्रममा सबैभन्दा अगाडि मेरो छोरो थियो र उनले आफ्नो मोबाइलमा मानचित्र हेर्दै मार्गदर्शकको भूमिका निभाइरहेका थिए । छोराको उमेरले लगभग तीन दशक पार गरि सकेपछि मानचित्र हेर्न मैले पूर्णकालिन फुर्सत पाएको थिएँ । हामी त्यसरी हिँडने क्रममा उनको ठीक पछिपछि छोरी, त्यसपछि म र अन्तिममा मेरी श्रीमतीले लामोलामो सास तान्दै पछ्याइरहेकी थिइन् ।

बेलायतमा अक्टोबर महिनाले आँधा यात्रा पूरा गरिसकेको थियो । त्यसैले लण्डनको चिसोले मेरो कन्सिरीसम्म छोइरहेको यदाकदा अनुभव गरिरहेको थिएँ । तर खै किन हो किन मलाई त्यसबेला कन्सिरीभन्दा हत्केलाहरु पो बढी चिसिँदै गएको भित्रभित्रै महसुस भइरहेको थियो । त्यसैले जाडोले चिसिएका हत्केलाहरुलाई सर्लक्कै पत्लुङ्को गोजीमा लुकाएर छिमेकी देश भारतमा बनेको क्लार्क जुत्ताले निकालेको चुरुमचुरुम आवाजसहित म सुस्तरी अगाडि बढन थालें । चेरिङ्क्रश स्टेसनदेखि त्यसरी अगाडि बढ्दै गर्दा हाम्रा कदमहरु केहीबेरमा स्ट्रान्ड सडकमा पुगेर ड्याम्मै ठोक्किएका थिए ।

बग्रेल्ती मानिसहरु र आधुनिक मोटरहरुले भरिभराउ लण्डनको बहुत चर्चित स्ट्रान्ड सडक सिटी अफ वेष्टमिनिस्टरमा लमतन्न परेर टाँगिएको वर्षौं भइसकेको छ । मेरो जीवनको इतिहासलाई थोरै कोट्याउने हो भने पनि मैले त्यस सडकमा आजभन्दा लगभग ३० वर्ष अगाडि प्रथमचोटी त्यहाँ टेकेको थिएँ र तिनै अविस्मरणीय यादहरु मेरो मस्तिष्कमा अझैसम्म ताजा भएर रहेका छन् । त्यसपछि तिनै सडकमा कतिचोटी हिँडेर मेरा पाइतालाहरुले डोब पारे होला त्यो चाहिँ मलाई फिटिक्कै याद छैन । अझै त्यसबेला मेरो मन सिमलका भुवाझैँ हावामा कताकता उडिरहेको थियो र त्यस समय शुक्रबार बेलुकीको समय थियो । त्यसैले लण्डनको जड्याहहरुले हामीलाई सडकको किनारमा खुट्टा टेक्ने ठाउँ दिइरहेको थिएनन्, तैपनि बडो मुस्किलले हामी निरन्तर अगाडि बढिरहेका थियौं ।

हुनत स्ट्रान्ड सडक मात्र नभएर लण्डनमा रहेको हरेक सडकहरु शुक्रबारको बेलुकी बेजोड तालले मुस्कुराउने गर्दछन् । त्यति धेरै ब्यस्त सडकमा पुगेपछि हामी सर्लक्कै दाहिनेतर्फ घुम्यौं र सरासर अगाडि बढ्न थाल्यौं । तर त्यतिका धेरै मानिसहरुको हुलमा कसोकसो मेरा नयनहरु सडक किनारमा रहेका घरबारबिहीन मानिसहरुको अनुहारमा पुगेर सुस्तरी बिसाउन थाल्यो । दुनियाको अलौकिक सहर मानिने लण्डनमा जाडोले कुकुरको खुट्टाझै कुक्रुक्कै बाङ्गो पारेर सुतिरहेको तिनै मानिसहरु देख्दा मेरो हृदय घरिघरि जलिरहने गर्दथ्यो । तैपनि मैले उनीहरुको रमिता हेर्न सिबाय के गर्न नै सक्थें र ? यसो गोजीदेखि निकालेर दुई-चार सिलिङ् दान त दिन मन लागेको थियो । तर, अझसम्म पैसाले मलाई नै पुगिसकेको थिएन । त्यसैले यो संसार कति बिचित्रको रहेछ भन्दै क्रमशः अगाडि बढिरहेको थिएँ । र, केहीबेरमा सेभोइ कोर्टको बाटोमा बिछ्याइएका अलकत्रहरुलाई बिस्तारै कुल्चँदै हाम्रा पाइतालाहरु खुत्रुक्क रोकिएका थिए ।

हामी त्यहाँ पुग्दा भोकले हिरिक्कै भइसकेका थियौं तैपनि कसैको मुखदेखि एक्कैशब्द निस्केका थिएनन् । किनभने हामी बहुत प्रतिक्षित सेभोइ होटलतर्फ गइरहेका थियौँ । सेभोइ होटल स्ट्रान्ड सडक नजिकै रहेको सेभोइ कोर्टमा अवस्थित छ । विश्वको अति प्रतिष्ठित एवम् आनन्ददायक त्यस होटलको ६ अगष्ट १८८९ मा पहिलोचोटी उद्घाटन भएको थियो । त्यसपछि साउदी अरबको राजकुमार अल-वालिद बिन तलालले २ सय २० मिलियन पाउण्डमा खरिद गरेर होटललाई पूरै मर्मत सम्हार गरेपछी सन् २०१० मा बेलायती राजकुमार चार्ल्सको बाहुलीबाट दोश्रो चोटी उदघाटन गरिएको थियो ।

भरपूर मनोरन्जन प्रदान गर्ने त्यति प्रतिष्ठित होटल सेभोइ लण्डनले राजा एडवार्ड सातौं, राष्ट्रपति ह्यारी ट्रुमेन र प्रधानमन्त्री विन्स्टन चर्चिलसम्मको अनुहार मज्जाले देखिसकेको इतिहास थियो । त्यस होटलमा राजनैतिक क्षेत्रका प्रतिष्ठित ब्यक्त्तित्वहरु मात्र नभएर गीत सङ्गीतका पारखीहरु अथवा हलिवुडका नायक नायिकाहरुको क्यालिफोर्निया पछिको दोश्रो बास बस्ने घर नै त्यसैलाई मान्नु पर्छ । अझै मलाई सबैभन्दा रमाइलो त के लाग्थ्यो भने हास्य कलाकार चार्ली चाप्लिनले त्यहाँ बस्दा कस्ता प्रतिकृया ब्यक्त्त गरेका थिए होलान् ? र, विश्वको सर्बाधिक लोकप्रिय ‘सेक्स सिम्बल’ भनेर चिनिने मार्लिन मुनरोले त्यहाँ आनन्ददायक रात बिताउँदा कस्लाई सम्झेकी थिइ होलिन् ?

मैले होटलको सामुन्ने पुग्दाखेरि घरिघरि आङ सिरिङ्गै हुने गरी यिनै विविध कुरोहरुलाई सम्झँदै र भुल्दै गरिरहेको थिएँ । यदि तपाई मान्नु हुन्छ भने तिनै शानदार विलासी होटलभित्र एउटा विश्व प्रसिद्ध रेष्टुराँ पनि रहेको छ । जस्लाई विश्वको अति धनाढ्य मानिसहरुले ‘सेभोइ ग्रिल’ भनेर चिन्ने वा जान्ने गरेका छन् ।  त्यो अत्याधिक लोकप्रिय रेष्टुराँको मालिक चाहिँ विश्व विख्यात पाकविद् गोर्डन राम्जी हुन् ।

तर, मैले यहाँ खेदको साथ भन्नुपर्छ, स्कटल्याण्डमा जन्मेर आफ्नो जिन्दगीभरी सर्बाधिक लोकप्रिय खाना पकाएर करोडपति बन्न सफल गोर्डनका मुखदेखि गालीबाहेक अन्य शब्दहरु निस्केको देख्न मानिसहरुलाई निक्कै हम्मेहम्मे पर्दछ । बेलायती टेलिभिजनको पर्दामा घरिघरि उनको अनुहार देखिसकेपछि मलाई त्यो रेष्टुराँ जाने रहरले सताउन थालेको थियो । नभन्दै महिनौंसम्मको कठोर प्रयत्नपछि त्यस बेलुकीको लागि मैले एउटा टेबल आरक्षण गर्न सफल भएको थिएँ । र, त्यहाँ पुगेपछि तिनै गोर्डनले पकाएको व्यञ्जन कतिबेला कपाकप खाने होला भनेर प्रतीक्षा गरिरहेको थिएँ ।

२२ अक्टोबर २०२१ को दिन हातेघडीले बेलुकीको समय ९ बजाएर ४५ मिनेट गइसकेको देखाएको थियो र सोही समयमा हाम्रो लागि रेष्टुराँमा एउटा टेबल आरक्षण थियो । त्यसैले उक्त्त समयलाई अति सावधानीपूर्वक ख्याल गर्दै हामी होटलको प्रवेशद्वारमा पुगेका थियौं । तर हामी त्यहाँ पुग्दा रेष्टुराँ सोचेको भन्दा अतिनै ब्यस्त देखिएका थिए । अझै रिसेप्सन नजिकै २-४ जना मानिसहरु कतै टेबल पाइएला कि भनेर पर्खिरहेको बिरमाइलो दृश्य त्यहाँ नजर लगाउन सकिन्थ्यो ।

हामी त्यहाँ पुग्ने बितिक्कै छोरीले स्वागतिकालाई हाम्रो नाममा एउटा टेबल आरक्षण गरेको कुरो जानकारी गराइ हालिन् । स्वागतिकाले थोरै अकमकिँदै अङ्ग्रेजी बोलेको सुन्दा उनी पूर्वी युरोपियन देशबाट आएकी हुन् भनेर ठम्याउन सजिलैसँग सकिन्थ्यो । छोरीको कुरो सुनेर, ‘तपाईहरुको टेबल सफा हुँदैछ, कृपया होटलको लबीमा १० मिनेट जति समय बिताउनु होला है ?’ भन्ने उनले आग्रह गरिन् । उनको कुरो हावामा बिलिन हुन पाउँदा नपाउँदै म फनक्कै १ सय ८० डिग्री घुमिसकेको थिएँ र एक, दुई, तीन भनेर कदम गन्दै लबीतर्फ लागिहालें । लबीमा पुगेर यसो पछाडि फर्केर हेर्दा छोरो पनि मेरो पुच्छर झैं बनेर मलाई पछ्याइरहेका देखिए ।

त्यसपछि बाबुछोरा अङ्गालो मारेर सुस्तरी हिँडदै सिँढीदेखि थोरैमुनी तलामा झर्यौं । मुनि तलामा मानिसहरुको निक्कै ठूलो भीडभाड र बेमौसमी चहलपहल देखिरहेको थियो । त्यहाँ चहलपहल हुनको मुख्य कारण चाहिँ उनीहरुको सामुन्ने एउटा शानदार भट्टीपसल रहेको थियो । तिनै भट्टीपसलमा पेय पदार्थ पिउने मानिसहरुको थोरै दाहिनेतिर एउटी युवतीले घाँटी फुलाएर पश्चिमी गीत गाइरहेकी थिइन् । हामी केहीबेर पर्खालको छेवैमा उभिरह्यौं र राम्ररी गीतलाई सुन्ने प्रयत्न गर्यौं । तर मलाई त्यसबेला गीतले भन्दा पर्खालका भित्तामा सजिएका बिलासी तस्बिरहरु, सिलिङका रङ्गहरु र चाण्डलिएरहरुले निक्कै आकर्षण गरिरहेको थियो । हुनत त्यहाँ मानिसहरुको बेस्सरी होहल्ला थियो तैपनि मेरो मन केहीबेर कोठाको तिनै वातावरणसँग एकछिन घुलमिल भएर रहिरह्यो ।

हामी दुवैले त्यहाँ उभिएर रमित हेर्दैगर्दा स्वागतिकाले भनेको जति समय खर्च भइसकेको थियो । तर मलाई सीधै भोजनालयमा जानुभन्दा पहिले एकपटक सौचालय प्रयोग गर्ने रहर लाग्यो । त्यसपछि छोरासँग छुट्टिएर म सुस्तरी हिँडदै सौचालयभित्र बरालिन पुगें । सौचालयभित्र पसेको मात्र के थिएँ । मेरो मन फुरुङ्गै भएर सिमलको भुवाझैं दोश्रो चोटी हावामा उड्न थालिहाल्यो । अझै मेरो तन त्यही भएपनि मन प्रोफेट मोहम्मद झैं बायुपङ्खी घोडामा उडेर ‘इमराटस प्यालेस होटल’ आबुधावीमा पुग्यो । किनभने त्यतिको सफा र सुशोभित सौचालय मैले पहिले अन्त कतै देखेको थिएँ भने त्यो आबुधावीमा मात्र हुनुपर्छ । हुनत एकबारको जीवन जिउने क्रममा इमराटस प्यालेस बाहेक डोरचेष्टर, रिट्ज लण्डन, हिल्टन न्यूयोर्क, पेनिन्सुला हङकङ, नोभोटेल पेरिस, ताज दिल्ली, मेन्डरिन बेइजिङ, अर्बना बैकंक, एटलान्टिस र बर्ज अल अरब दुबइको सुनौला अनुहारहरु मैले देखिसकेको थिएँ ।

मैले सौचालयको प्रयोग गरिसकेपछि पूर्व क्षितिजदेखि उदाउने चन्द्रमाझैं रेष्टुराँमा टुप्लुक्क उदाएको थिएँ । तर म त्यहाँ पुग्दा मेरा परिवारका सदस्यहरु कुर्सीमा मज्जाले आराम गरिरहेका थिए । म उनीहरु बसिरहेको टेबलको नजिक पुग्ने बितिक्कै एकजना युवती जिउ मस्काउँदै हाम्रो नजिकै आइन् र हामी सबैको लामो ज्याकेटहरु जम्मा गरेर लगिन् । उनी त्यसपछि हामीसँग छुटेर गएकी मात्र के थिइन् तर मिलिक्कै फर्केर एउटा सानो कागजको टुक्रा ल्याएर पुनः उपस्थित भइहालिन् । अझै उनले त्यो कागजको टुक्रालाई मेरो सामुन्ने टेबलमा थपक्कै राखिदिइन् र केही बोल्दै नबोली पुनः बिलय भइहालिन् । उनले छाडेकी कागजमा २२ नम्बर लेखिएको मैले कर्के नजरले दृष्टी गरें ।

उनी गएपछि मैले एकचोटी आङलाई मज्जाले तन्काएँ । अनि लामो सास तानेर कुर्सीमा नचली बसिरहें । तर त्यसरी लामो सास लिँदै गर्दा मेरो नजर भित्ताको बायाँ कुनातिर पर्न गयो । जुन कुनामा बेयराहरुले काम गर्ने सानो बेयरा स्टेसन थियो । त्यस प्रकारको बेयराहरु काम गर्ने स्टेसन पानीजहाज (क्रुज) यात्रामा निस्कँदा छ्यासछ्यास्ती देख्न सकिन्थ्यो । अनि तिनै कुनामा दुईजना बेयराहरुले युद्ध स्तरमा काम गरिरहेको दृश्य मैले एकछिन आनन्द मान्दै हेरिरहें ।

सेभोइ होटलको पछाडि पट्टि थेम्स नदी मज्जाले सुसाइरहेको थियो । रेष्टुराँको समय तिनै अबिरल बहिरहने थेम्स नदीको पानीझैं आफ्नै गतिमा बहिरहेको थियो । तैपनि हामी समयको कुनै पर्वाह नगरी अति शान्त वातावरणमा केही नबोली बसिरहेका थियौं । एकछिनमा दुई जनामध्ये एकजना बेयरा हाम्रो सामु आइपुग्यो र कलिलो सैनिकले झैं सुरिलो पोजिसनमा सलाम गर्न खडा भयो । र, त्यहाँ उभिने बितिक्कै भलाकुसारी गर्न थाल्यो । ‘मेरो नाम ड्रागोस हो,’ सानो स्वरमा उनले आफ्नो परिचय दियो । टिमिसोरा, रोमानियादेखि उज्वल भविष्यको निर्माण गर्न बेलायत बसाइँ सरेका ड्रागोसका उचाइ लगभग ६ फिट जतिकै अग्लो देखिन्थ्यो । उनी त्यहाँ आउँदा उनको हातमा केही मेनुहरु पनि लिएर आएका थिए । त्यति बोलिसकेपछि उनी एक-दुई कदम अगाडि बढ्यो र फ्यास्सै रोमानियन मुस्कान छाडेर हामीलाई हातहातमा मेनु थमाइ दिइहाल्यो ।

हातमा मेनु पर्ने बितिक्कै मैले पानाहरु पल्टाउन थालिहालें । वास्तवमा सेभोइ ग्रिल रेष्टुराँ फ्रेन्च र अङ्ग्रेजी खानाको मिश्रित भोजनालय हो । त्यसैले मैले मेनुलाई मोटामोटीमात्र बुझ्न सक्त्तथे । झन् तारालाई त आकासको फल आँखा तरी मर नै भयो । त्यसैले ढिला नगरी, ‘म मेनु हेर्न जान्दिनँ है,’ कसैलाई सङ्केत नगरी उनले मेनु हेर्नबाट हात उठाइ हालिन् । अब त्यतिका ठूल्ठूला छोराछोरी साथमा भएपछि ब्यर्थैमा मैले पनि के टाउको दुखाइ रहने है भन्दै मेनुका पानाहरुलाई थपक्कै बन्द गरें र टेबलमा ठ्याङ्ग आवाज आउने गरी राखिदिएँ । जापानले दोश्रो विश्वयुद्धको अन्ततिर हात उठाएझैं मैले पनि हात उठाएपश्चात्, ‘तिमीले मेनु हेर्नु र म वाइनको सूची हेर्छु,’ भन्दै छोराले उनको बैनीलाई हुकुम बर्षाइ हाले ।

छोराको कुरो सुनेपछि अङ्ग्रेजी कानुनका विद्यार्थी छोरीले सायद राम्रै प्रकारका खानाहरु मगाउँछिन् होली भनेर एकमनले ढुक्क त भएँ । तैपनि के हो के हो भनेर उनले मेनु पढिन्जेलसम्म मैले उनको मुहार पढिरहें । उनले मेनु हेरिसकेपछि दाहिने हात उठाइन् र बेयरालाई उनको सामु बोलाइ हालिन् ‍। होचो कदको तर उमेर हेर्दा अलिक पाको जस्तो देखिने बेयरा स्टेसनदेखि ढलकढलक ढल्किदै हाम्रो नजिक आयो । उनी त्यसरी हाम्रो नजिक आउने बितिक्कै, ‘तपाईहरु कहाँदेखि आउनु भएको हो ?’ भनेर सानो स्वरमा प्रश्न सोध्यो ।

बेयरा मेरो नजिकै आइपुगेको थियो त्यसैले केही सोच्दै नसोची मैले प्रत्यूत्तरमा, ‘नेपाल’ भनिहालें । तर मैले दिएको उत्तर उनले सुन्न पाउँदा नपाउँदै आफ्नो परिचय दिन सुरु गरिहाल्यो । गोवामा जन्मेर मुम्वईमा बसाइँ सरेका क्लिफोर्डले लगभग २५ बसन्तहरु पानीजहाजमा बिताइसकेका रहेछन् । केबल १० दिन पहिले मात्र त्यहाँ काम गर्न सुरु गरेका उनी पूर्ण निर्धक्क चाहिँ अवश्य छँदै थिएनन् । तैपनि भर्खरभर्खरै पाएको जागिर बचाउनको लागि निक्कै कर्तव्यनिष्ठ भइरहेको देखिन्थ्यो ।

उनले हाम्रो खानाको अर्डर लिएपछि एकचोटी पढेर निश्चित गरे । त्यसपछी उनी सरासर भान्साघरतर्फ बिलय भइहाले । अब म त्यसै त धैर्यता हराएको मानिस थिएँ । त्यसैले ख्याति प्राप्त गोर्डन राम्जीको रेष्टुराँमा कुनकुन खाना कति स्वादिष्ट हुन्छ होला भनेर छटपटिन थालिसकेको थिएँ । बिचरा क्लिफोर्ड हामीसँग एकछिन हराएका मात्र के थिए, फर्केर आउँदा सानो डालोमा एउटा भुक्केरोटी (सावर डो) लिएर उपस्थित जनाइ हाले । तर उनी त्यहाँ आउनु भन्दा अगावै ड्रागोसले हामी सबैको गिलासमा भरिभरि वाइन सारिसकेका थिए ।

प्राचिन कालमा केमेट (इजिप्ट) बाट पकाउन सुरु गरिएको भुक्केरोटी (सावर डो) लाई सबैभन्दा पहिले मैले नै श्रीगणेश गरेको थिएँ । रोटी तिनै रेष्टुराँमा पकाएको आलोतातो भएतापनि त्यसको बाहिरीभाग धेरै पाकेर सुकेको त यस्सै थियो झन् खाँदा छुर्पीजस्तै चाम्रो भयो । मैले रोटीलाई फ्रेन्च नौनी दलेर जसोतसो एक-दुई गाँस चपाइ हालें । तर त्यति चाम्रो रोटीलाई ताराले कसरी खाली भनेर सुर्ता गर्न थालें । किनभने उनको अल्लारे बैंस आउन पाउँदानपाउँदै अगाडीको दाँत भाँचेर श्रीपेच (क्राउन) गुथिरहेकी थिइन् । तर त्यहाँ दुर्भाग्यबस भैदियो के भने त्यति चाम्रो रोटी चुँडाउने क्रममा उनले एउटा वाइनको गिलास बङ्लङ्गै पोखेकी थिइन् ।

त्यसरी टेबलमा लडेको भरि वाइनको गिलासले जिम्न्यास्टिक प्रदर्शन गर्न त सक्त्तै सकेन तर ३ सय ६० डिग्री पूरै घुमेर आफैँ थकाइ मार्यो । गिलासले थकाइ मारेपछि मैले उनको मलिन अनुहारलाई राम्ररी हेरें । सय पूर्णाङ्क भएको टेबल म्यानरको परीक्षामा उनले सायद दश नम्बर पनि प्राप्त गर्न सक्त्तिनन् होली भन्ने मेरो मनमा त्यसबेला लागिरह्यो । अझै सबैभन्दा ठूलो घाटा त छोरोलाई भइरहेको थियो । किनभने स्टर्लिङ् दुई पाउण्ड घटी पचास पाउण्ड मूल्यको वाइनको बोतल उनैले छानेको थियो । हुनत त्यहाँ उपलब्ध हुने सबैभन्दा सस्तो वाइन पनि तिनै हुन् ।

अ बरु त्यो टेबलमा भएको घटनाले सबैभन्दा बेखुसी चाहिँ हाम्री छोरी भएकी थिइन् । किनभने उनी अलिक पिन्चे छे । त्यहाँ पोखिएका रातो वाइनको छिर्काहरु छोरीको हातेझोलामा पर्न गएको दृश्य उनले बिरमाइलो मान्दै हेरिरहेकी थिइन् । अनि वाइनले हातेझोला भिजेको दृश्य देख्दा उनको मुखबाट एक्कासी, ‘मम्मी’ भन्ने एउटा ठूलो शब्द निस्केको थियो । उनको मुखदेखि निस्केको त्यो शब्दले खास्सै कसैलाई असर त परेको थिएन तर उनको अनुहार बिस्तारै प्रशान्त महासागरमा भएको मरियन ट्रेन्चभन्दा पनि बढी कालो, नीलो र गहिरो हुन थालिसकेको थियो ।

मैले छोरी सोलिसिटर भएको उपलक्ष्यमा मुटु मिचेर किनिदिएको त्यो स्यानल (क्लासिक फ्लाप) कतै बिग्रने पो होकि भनेर म पनि एकछिन तर्सेको मृग झैं भइरहेको थिएँ । हुनत जाबो एकमाना कोदोको पीठो पनि नअटाउने त्यो हातेझोलाको मूल्य कति होला भनेर मैले यहाँ उजागर गरिरहन त्यति उपयुक्त्त ठानिनँ । तर टेबलमा भएको नापकिनहरुको त्यस्तो दुर्गति देखेपछि क्लिफोर्डले नयाँ नापकिनहरु ल्याएर तुरुन्तै फेरिदिए । आखिर नापकिनहरु त फेर्न सकिन्थ्यो र फेरि पनि हालियो । तर एक गिलास अर्जेन्टाइन ‘काइकन क्लासिको’ ले अल्प आयुमा बिदा लिँदा मेरो भित्री दिलचाहिँ त्यस बेलासम्म रोइरहेको नै थियो ।

टेबलदेखि बेयराले बिदा लिएपछि एउटी चिनियाँ मूलकी बेयरा आएर हाम्रो सामू माइकल एन्जेलोको पियटाझैं ठिङ्गै खडा भइरहेकी देखिइन् । भ्याटिकनमा भएको पियटाको मूर्तीमा चाहिँ भर्जिन म्यारीले शूलीमा चढाएर मरेका छोरा जिससलाई काखमा राखिरहेको बिरमाइलो दृश्य देख्न सकिन्छ । तर ती बेयराले चाहिँ एउटा किस्तीमा ४ वटा कार्लिङफोर्ड सिपी समातिरहेको रमाइलो दृश्य देखिन्थ्यो । उनी त्यसरी हाम्रो सामु आएर उभिरहेकी देख्ने बितिक्कै क्लिफोर्ड उनको नजिकै आइपुगे । र, केही बोल्दै नबोली एक-एकवटा बटुका हाम्रो अगाडि थपकथपक राखिदिन थालिहाले । त्यसरी हाम्रो अगाडि बटुका राख्दा क्लिफोर्डले सबैभन्दा पहिले तारा त्यसपछि छोरी अनि छोरा र अन्तमा मलाई राखिदियो ।

बेयराले पानीजहाजमा लामो समयसम्म काम गरेको हुनाले बेलायती नियमलाई चाहिँ उनले उल्लङ्घन गर्दै गरेनन् । बरु उनले दिएको बटुकाभरि चिसो बरफ थियो र तिनै बरफ माथि ठ्याक्कै आधा खोलिएको एउटा कार्लिङ्फोर्ड सिपीको आन्द्राभुँडी मज्जाले आराम गरिरहेको थियो । सेभोइमा पकाइने सिपी कार्लिङ्फोर्डदेखि नै खरिद गरेर ल्याइने रहेछ । जुन सिपीलाई कार्लिङफोर्ड तालमा खेती गरिन्छ र त्यो स्थान आयरल्याण्ड र उत्तरी आयरल्याण्डको बीच भागमा रहेको छ । आजभन्दा लगभग ४५ वर्ष पहिले पिटर र आनले त्यहाँ सिपी खेती सुरु गरेका थिए । त्यो सिपी ज्यादै प्रख्यात हुनको मुख्य कारण चाहिँ आइरिस सागरबाट उत्पन्न हुने ज्वारले प्रत्येक चोटी हिर्काउँदा पोषणयुक्त बनाउने गर्दछ भन्ने मैले डब्लिन यात्रामा छँदा सुनेको थिएँ ।

डब्लिनमा हुँदा त्यस्तो कथा सुनेको भएतापनि त्यो भन्दा अगाडि कार्लिङफोर्ड सिपी मेरो घाँटीदेखि मुनि कहिलै पसेको थिएन । त्यसैले त्यो सिपी खानको लागि म एकदम आतुरआतुर थिएँ । अझै त्यति धेरै पोषणयुक्त्त सिपीमा चाड्नी अङ्गुरको झोल, निचोरिएको गाला स्याउको रस र सयपत्री फूलको दुई-चार पत्रहरु पनि मिसाइएको थियो । काँचो सिपी अगाडि परेपछि दायाँबायाँ हेर्दै नहेरी सर्लक्कै उँचाले र मेरा नयनहरु एक झमट बन्द गरें अनि स्वाट्टै बनाइ हालें । तर मैले त्यसबेला काँचो सिपीमात्र होइन काँचो सयपत्रीको फूल पनि खान मिल्ने रहेछ भन्ने कुरो जिन्दगीमा पहिलोपटक चाल पाएको थिएँ । सयपत्री फूल खाएपछि सेभोइलाई नेपालीमा ठेक्कै उल्था गर्दा एक प्रकारको बन्दाकोपी हुन आउँछ । अब बन्दाकोपी होटलमा सयपत्रीको खाना पनि हुने रहेछ भनेर थोरैबेर सोचनीय बनिरहें ।

केहीबेरमा हातमा किस्ती लिएर तिनै चिनियाँ युवती फेरि हाम्रोसामू आइपुगिन् । उनी दोश्रोचोटी त्यसरी खडा भएको देखेपछि उनले हामीलाई सीधै खाना दिन नमिल्ने नियम रहेछ भन्ने लाग्यो । तर उनी त्यहाँ खडा भएको देखेर ड्रागोस हिँड्दै आयो र हाम्रो सामु एक-एक डबका सुफ्ले राखिदियो । सुफ्ले सिकुटी जस्तै ध्वाँसो लगाएर बनाएको एक प्रकारको माछा ‘हेड्डक’ का परिकार हुन् । जस्लाई त्यतिक्कै पिसेर एकदम बाक्लो पनिरसँग मिसाएर बनाइएका हुन्छ । गोर्डन राम्जीले त्यति मीठो परिकारको नाम चाहिँ हेन्लीमा जन्मेका आर्नोल्ड बेनेटको उच्च सम्मान गर्दै ‘आर्नोल्ड बेनेट’ भन्ने राखिदिएका छन् । आर्नोल्ड तिनै ब्यक्त्ति हुन् जस्ले आफ्नो जीवनकालमा ३४ वटा उपन्यासहरु र कैयन कथाहरु लेखेका थिए । हुनत त्यति मीठो परिकारको नाम जस्तोसुकै भएतापनि मैले काँचो माछामा घोलिएको पनिर मज्जासँग ज्यूनार गरें । तर दुर्भाग्यवस ताराले भने काँचो माछा मुखमा हाल्नै सक्त्तै सकिनन् ।

ता-तातो सुफ्ले आयो र पेटभित्र बास बस्न गइहाल्यो । अब तेश्रो कोर्स आउने पालो बिफ वेलिङ्टनको थियो । बिफ वेलीङ्टन त्यस रेष्टुराँको मुख्य परिकार हो । तैपनि बिफ वेलिङ्टन नै त्यसको नाम कसरी रहन गयो होला भन्ने रोचक कथाहरु अहिले पनि बजारमा निक्कै धेरै सुन्न सकिन्छ । तर पेष्ट्रीभित्र मासु पकाउने चलन जमानादेखि ग्रीसमा सुरु भएको थियो भन्नेमा मानिसहरु दुईमत हुन सक्त्तैनन् । खास गरेर प्रथम ड्यूक अफ वेलिङ्टनले वाटरलुको युद्धमा नेपोलियनलाई हराएपश्चात् विजयोत्सव मनाउँदा त्यसप्रकारले मासु पकाइएको हुनाले नै त्यसको नाम बिफ वेलिङ्टन रहन गएको होला भन्ने तर्क थोरै तर्कसङ्गत हुन सक्छ । वा वेलिङ्टन बुटजस्तो देखिएर पो हो कि ?

हुनत जस्ले जे जस्तो तर्क गरे पनि त्यो तिनै परिकार हो जस्ले गोर्डन राम्जीलाई करोडपति बनाउन धेरै ठूलो मद्दत गरेको थियो । उनले सेभोइमा पकाउने बिफ चाहिँ प्रतिष्ठित कम्बरिया गाईगोरुका ठूल्ठूला मासुका चोक्टाहरु हुन् । जस्लाई न्यूनतम पनि ४२ दिनसम्म झुण्डाएर अति नरम बनाइने गरिन्छ । त्यसपछि जङ्गली च्याउँ र पीठो मिसाएर बनाएको पेष्ट्रीको बिचमा राखेर पोलिन्छ (बेक) गरिन्छ । साधारणतया गोरुको मासु रेयर, मेडियम र वेलडन गरेर ३ प्रकारले पकाउने चलन रहिआएको छ । तर त्यहाँको भान्सेले दिएको सल्लाहलाई उपयुक्त्त सल्लाह मानेर हामी पनि मेडियम नै खाने रहर गरेका थियौं ।

हामीले त्यति प्रतिष्ठित भोजनको प्रतीक्षा त्यति लामो समयसम्म गरेनौँ किनभने मुस्कानको खडेरी लागेकी चिनियाँ युवती हाम्रोसामू खडा भइसकेकी थिइन् । र, उनले दुई हातले एउटा किस्ती समातिरहेकी थिइन् । उनलाई त्यहाँ देख्ने बितिक्कै क्लिफोर्ड हस्याङ्फस्याङ् गर्दै आए र बिफ वेलिङ्टन ओसार्न थालिहाले । किनभने त्यो भोजन निश्चित तापक्रममा ज्यूनार गर्नुपर्ने हुन्थ्यो । क्लिफोर्ड र तिनै चिनियाँ बेयरा एक आपसमा बोलेको त मैले त्यति धेरै सुन्न सकिनँ तैपनि ती दुईजनाको संयुक्त कार्य देखेर म छक्क परिरहेको थिएँ । आखिर उनीहरु एक अर्कामा नबोलेपनि नेपाली राजनीतिज्ञहरुले चीन र भारत दुवै हाम्रा असल छिमेकी राट्रहरु हुन् भनेको सुनेको थिएँ । त्यसैले ती देशहरुबाट आएका बेयराहरुलाई मनमनै असल छिमेकीहरु, ‘धन्यबाद छ है,’ भनिरहेको थिएँ ।

टेबलमा हामी सबैले आ-आफ्नो भाग पाएपछि तोरीको पिना झैं पिसेर हिलिपिच्ची बनाएको आलु (मेस पोटाटो) हरियो तुने बोडी, क्रस सलाद र रातो वाइनको जुससँग वेलिङ्टनको स्वाद लिन थाल्यौं । यदि मैले सत्यकुरोलाई ढाकछोप नगरी भन्ने हो भने वास्तवमा बिफ वेलिङ्टनको स्वाद जिब्रोमा नै बिलाएर गयो । गाइगोरुको मासु त्यति बिघ्न स्वादिलो हुँदाहुँदै पनि नेपालीहरुले चाहिँ किन खान नमिल्ने होला भनेर केहीबेर मनन गरिरहें ।

हाम्रो चौथो खानेकुरो रमबाबा थियो । सुख्खा फलफूल पिसेर लादि काढिएपछि चुर्लुम्म रममा डुबाएर बनाइएको परिकार रमबाबाको उपनाम ‘बुढी बजू’ पनि हो । आखिर नाम नै बुढी बजू भएपछि मलाई त्यो खान त्यति जोस चलेर आइरहेको थिएन बरु त्यसको सट्टामा ‘भर्जिन युवती’ भनेको भए बुढेसकालले छोएपनि अलिक मन पर्थ्यो कि ? खैर जे सुकै होस् नामले केही हुने कुरो भएन । तर दुर्भाग्यवस मोन्टर्गली सडक, पेरिसबाट सुरु भएको रमबाबालाई मैले एक चम्ची पनि खान सकिनँ । रमबाबासँग त्यति बिघ्न प्रेम बस्न नसकेपछि हाम्रो खानाको सबैभन्दा अन्तिम कोर्स लिभरडन र कमर्सी क्षेत्र फ्रान्समा पाइने परम्परागत सानो केक आयो । जाबो बट्टाइको फूल जत्रो देखिने अनि पटक्कै आकार नमिलेको त्यति सानो केकलाई क्लिफोर्डले अति प्यारको साथ, ‘मेडेलिन्ज केक है,’ भन्दा मेरो मन चयनमा छँदै थिएन ।

सेभोइ ग्रिलको समयले मध्यरातलाई बिदाइ गरिसकेको थियो । केहीबेर अगाडिसम्म होहल्लाको माहोल थियो अब सुस्तरी सकिँदै थियो । विश्वको अति प्रतिष्ठित होटल सेभोइमा त्यतिका धेरै भोजनलाई ज्यूनार गर्दा के कति स्टर्लिङले बिदा लियो होला भनेर म यहाँ उजागर गर्न एकदम असमर्थ छु । किनभने हाम्रो समाजले सकरात्मक कुरो भन्दा नकरात्मक कुरोलाई बढी महत्व दिन मन पराउँछ । तैपनि म के समर्थ छु भने त्यहाँ लगभग २ घण्टा जति टेबल कब्जा गरे वापत स्टर्लिङ ६ पाउण्ड र सेवा शुल्क स्टर्लिङ ६० पाउण्ड हो भन्नको लागि मैले थोरै पनि हिचकिचाहट गर्न पर्दैन ।

अन्तमा जस्ले जे सुकै भनेता पनि मलाई विश्वको एउटै मात्र ७ तारे होटल ‘बर्ज अल अरब’ दुबाईको २७सौं तलामा रहेको अल मुन्ताह रेष्टुराँमा हवाइको लाभाबाट निस्केको कालो नुनसँग मिसाएर पकाइएको जापानिज गोरुको मासु वागागु छैटौं तहको स्वाद चाहिँ मेरो जिब्रोबाट अहिलेसम्म भागेर जान मानिरहेको छैन र अनन्तकालसम्म रहिरहने छ भन्नेमा आशावादी छु । अझै मलाई सबैभन्दा रमाइलो त के लागेको थियो भने अरेबियन सागरको क्षितिजमा डुब्नै लागेको पूर्ण चन्द्रमाको दृश्य हेर्दै पिएको भिन्टेज वाइनको स्वाद विश्वको अरु कुनै रेष्टुराँसँग तुलना गर्न मिल्दैन कि ?

जे होस, मैले सेभोइ ग्रिलमा टन्न बिफ वेलिङ्टन हसुरेपछि गोर्डन राम्जीको तिनै एउटा भनाइलाई निक्कै लामो समयसम्म मनन गरिरहेको थिएँ, “अब म मर्न र स्वर्ग जानको लागि तयार छु ।”

अक्सफोर्डसायर ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक