मोदीले पोपलाई दिए भारत भ्रमणको निम्तो 

तस्वीर मोदीको ट्वीटरबाट

रोम ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई निमन्त्रणा गर्नु भएको हो । आफूहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण भएको उहाँले बताउनु भएको श्रोतले जनाएको छ ।
सुरुमा २० मिनेट मात्रै भेटवार्ता गर्ने तय भएको भएपनि उहाँहरूबीच एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

उहाँहरूका बीचमा गरिबी हटाउनेदेखि जलवायु परिवर्तनका विरुद्धमा लड्नेसम्मका विषयमा गहिराईमा छलफल भएको बताइएको छ ।

भारतका प्रधानमन्त्री मोदी र क्रिश्चियन धर्मगुरु फ्रान्सिसका बीचमा पहिलो पटक भेटवार्ता भएको हो । हिन्दु धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका प्रधानमन्त्री र क्रिश्चियन धर्मका गुरु फ्रान्सीसबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

उहाँहरूको भेटले धार्मिक सहिष्णुता बढाउने र धार्मिक द्वन्द्व न्युनीकरण गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।

भारतको हिन्दुवादी पार्टीका रूपमा चिनिएको भारतीय जनता पार्टीका शीर्ष नेतासमेत रहनुभएका मोदीले भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६ औँ पोपको रुपमा सन् २०१३ को मार्च १३ मा निर्वाचित पोप फ्रान्सिसलाई भेट्नु भएको हो ।

इटलीको रोममा शनिबारदेखि सुरु भएको जी–२० मुलुकहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका बेला उहाँले फ्रान्सिसलाई भेट्नुभएको हो ।

प्रधानमन्त्री मोदी यही अक्टोवर २९ मा सुरु भई ३१ सम्म चल्ने जी २० शिखर सम्मेलनमा सहभागी हुनुभएको छ । सम्मेलनका क्रममा उहाँले अन्य देशका शिर्ष नेताहरुसँग पनि दुई पक्षीय तथा बहुपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ । भेटका क्रममा कोरोनाभाइरसको महामारी, त्यसको असर, आपसी सहकार्य र सहयोगका बारेमा छलफल हुने जनाइएको छ ।

सम्मेलनमा सहभागी हुन मोदी शुक्रबार इटली आइपुग्नु भएको हो भने आइतबार इटली भ्रमण अन्त्य गर्ने भ्रमण तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री