म्याग्देलीको विपतको सारथी ‘मोना’

बेनी। प्रवासमा रहेका म्याग्देलीको साझा चौतारीको रुपमा रहेको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । सन् २००७ मा स्थापना भएको प्रवासी म्याग्देलीलाई एकताबद्ध गर्ने, आपत्विपतमा सहयोग गर्ने र प्रवासमा आर्जित सीप र पुँजीलाई जिल्लामा उत्पादनशील क्षेत्रमा लगानीको रुपमा भित्र्याउने लक्ष्यसहितको अभियानलाई सन् २०११ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा म्याग्दी प्रवासी नेपाली संघ(मोना) संस्था दर्ता गरी आधिकारिक संस्थाको रुपमा स्थापित गरिएको थियो ।

संस्था स्थापना भएको एक दशक पार गर्दा मोनाले म्याग्दीमा दैवी प्रकोप पीडितलाई राहत तथा सहयोग, आर्थिक अभावको सामना गरिरहेका गरिब विपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग जुटाउने कार्यमा प्रशंसा बटुलेको छ । प्रवासमा समस्यामा परेका जिल्लावासीको उद्धार तथा रोजगारको बन्दोबस्त मिलाउनेदेखि जिल्लाको सामाजिक परोपकारको क्षेत्रमा भएको योगदानलाई प्रवासी म्याग्देलीको सामूहिक एकता र सद्भावको प्रतीकको रुपमा लिन सकिन्छ ।
एक दशकको अवधिमा मोनामार्फत विश्वका विभिन्न २८ मुलुकमा रहेका म्याग्देलीलाई गोलबद्ध गर्न सफल भएको मोना अन्तर्राष्ट्रियका निवर्तमान अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो । ‘‘विश्वभर छरिएका ७० प्रतिशत म्याग्देलीलाई मोनामा आबद्ध गर्न सफल भएका छौँ । युरोप, ओसियाना, मध्यपूर्व, अमेरिका र एसियाका देशहरुमा मोनाको राष्ट्रिय कार्यकारी समिति गठन भएका छन्, अन्य मुलुकमा रहेका म्याग्देलीलाई समेत मोनाको सञ्जालमा आबद्ध गराउने अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो ।

मोनामार्फत सङ्गठित भएका प्रवासी म्याग्देलीले गत वर्ष असार २५ गते राति वर्षासँगै आएको बाढी पहिरोको कारण घरबारविहीन भएका ४० परिवारको घर पुनःनिर्माण गरेका छन् । रु दुई करोड सहयोग जुटाएर मोनाले जिल्लाका सबै स्थानीय तहमा पुनःनिर्माण गरेका आवास सम्बन्धित पीडित घरपरिवारलाई हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी कोरोना महामारीको समयमा जिल्लाका स्वास्थ्य संस्थाका लागि २२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको मोनाकै पहलमा ६ वर्षदेखि साउदी अरबको जेलमा रहेका मालिका गाउँपालिका–६ का राजकुमार निउरेलाई रु १५ लाख रकम सङ्कलन गरी जेलमुक्त गरेर घर फिर्ता गराइएको जुग्जालीले बताउनुभयो । मोनाले बेनी–लभ्लीहिल पदमार्ग समेत निर्माण गरेको छ । बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र मोनाको लगानीमा रु ८० लाखको लागतमा बेनीको शिरमा रहेको पर्यटकीयस्थल लम्भीहिल जाने पदमार्ग निर्माण गरिएको छ । मोनाले म्याग्दीका ४० सामुदायिक विद्यालयमा विद्युतिय पुस्तकालय (इ–लाइब्रेरी) समेत स्थापना गरिसकेको छ भने जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

“परोपकारी र मानवीय सेवासँगै अब प्रवासमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई जिल्लामा भित्र्याउने, उत्पादनमूलक र रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने मोनाको प्राथमिकता हो, प्रवासी जिल्लावासीबाट सामूहिक लगानी भित्र्याउन मोना इन्भेस्टमेन्ट कम्पनीलाई अघि बढाउने तयारी छ”, मोनाका अध्यक्ष अमर छन्त्यालले भन्नुभयो ।

जिल्लामा उत्पादन हुने उपजलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि समेत मोनाले विशेष भुमिका खेल्न सक्ने भन्दै प्रवासमा आजित पुँजीलाई उत्पादनमूलक क्षेत्रमा जिल्लामा भित्र्याउने अभियानमा प्रोत्साहन र उचित वातावरण बनाउनतर्फ मोनाले पहल गर्ने उहाँले बताउनुभयो । प्रवासी म्याग्देलीका अप्ठ्यारा फुकाउने र म्याग्दीको विपद्को सारथीको रुपमा स्थापीत मोनाले स्थापनादेखि नै उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउने घोषणा गरेको छ ।

मोनामा आबद्ध व्यक्तिको लगानीमा अघि बढाइएका जलविद्युत् आयोजना थलिनुले मोनाको उत्पादनमूलक क्षेत्रमा गर्ने भनिएको सामूहिक लगानीमा बाधा पुगेको छ । प्रवासी म्याग्देलीको लगानीमा अघि बढाइएका मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला र रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा निर्माण गरिने भनिएको पाँच मेगावाट क्षमताको मोना बगरखोला जलविद्युत् आयोजनाले गति लिन सकेका छैनन् ।

हरेक अधिवेशनमा प्रवासी पुँजी, सीप र ज्ञानलाई जिल्लाको उत्पादनमूलक क्षेत्रमा लगानीको रुपमा भित्र्याउने घोषणा हुँदै आएको छ । कात्तिक पहिलो साता बेनीमा सम्पन्न मोनाको चौथो महाधिवेशनमा पनि सो विषयले प्रवेश पाएको थियो । उद्घाटन समारोहमा धारणा राखेका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले मोनामार्फत प्रवासी म्याग्देलीले जिल्लाको सामाजिक र मानवीय सेवाको क्षेत्रमा जिल्लावासीले सम्झिरहने काम गरेको भन्दै प्रशंसा गर्दै आगामी दिनमा प्रवासमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई जिल्लाको विकास र समृद्धिको अभियानमा सघाउने गरी भित्र्याउन सुझाव दिएका थिए ।

महाधिवेशनमा विमोचन गरिएको ‘मोना स्मारिका’मा मोनाका संस्थापक महासचिव शिवकुमार बरुवालले स्थापनाकालमा लिएका लक्ष्य र उदेश्यको समिक्षा गर्दै घोषित उद्देश्यको कार्यान्वयनमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “मोनाले परोपकारी क्षेत्रमा यथेष्ट रचनात्मक कार्य गर्न सफल भएको छ, तर यसैमा मात्रै अल्झिएर बस्न हुँदैन, सुरुआतदेखि नै घोषणा गरेको उत्पादनमूलक क्षेत्रमा सामूहिक लगानीको घोषणालाई मोनाको नयाँ अध्यायको रुपमा अघि बढाउनुपर्छ”, उहाँले भन्नुयो ।
म्याग्दी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला भएकाले जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिको अधिकतम उपयोग गर्ने गरी पुँजी र प्रविधिलाई लगानीको रुपमा भित्र्याउनुपर्ने बरुवालको भनाइ छ । मोनाले सन् २०१६ मा तत्कालीन जिल्ला विकास समितिसँगको सहकार्यमा अघि सारेको फ्री वाइफाइ जिल्ला बनाउने महत्वकांक्षी योजना घोषणामा मात्रै सीमित भएको छ । तत्कालीन समयमा विभिन्न देशमा रहेका प्रवासी म्याग्देलीमार्फत उक्त परियोजनाको लागि सङ्कलन गरिएको लाखौँ रकमसमेत उपयोगविहीन बनेको छ ।

यस्तै सन् २०१७ मा दरबाङमा सम्पन्न मोनाको दोस्रो महाधिवेशनमा महिलाको हक, अधिकार सुरक्षित र आत्मनिर्भर गराउने योजनासहित रु एक करोडको अक्षयकोष बनाउने घोषणा गरिएको थियो । लाखौँ बोल रकम सङ्कलन भएको घोषणा गरिएको भए पनि उक्त अक्षयकोष अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । हालसम्म रु ९० लाख बोलकबोल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री