
लन्डन । इजरायली सरकारका प्रतिनिधिहरूलाई अर्को महिना लन्डनमा हुने प्रमुख हतियार प्रदर्शनीमा भाग लिन आमन्त्रण नगरिने भएको छ ।
गाजा युद्धका कारण बेलायत र इजरायलबीच कूटनीतिक सम्बन्ध बिग्रँदै जाँदा बेलायत सरकारका प्रवक्ताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । “सेप्टेम्बरमा डिएसइआई युके २०२५ मा भाग लिन कुनै पनि इजरायली सरकारी प्रतिनिधिमण्डललाई आमन्त्रित गरिनेछैन भन्ने कुरा हामी पुष्टि गर्न सक्छौँ”, रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि इजरायली रक्षा कम्पनीहरूलाई भने द्विवार्षिक कार्यक्रममा भाग लिन अनुमति दिइनेछ । तर इजरायलले यस कदमलाई ‘भेदभाव’ भन्दै आलोचना गरेको छ ।
प्रधानमन्त्री किर स्टार्मर नेतृत्वको सरकारले हालै गाजामा प्रयोगका लागि इजरायललाई हतियार निर्यात इजाजतपत्र निलम्बन गरेको छ, इजरायलसँगको स्वतन्त्र व्यापार वार्ता रोकिएको छ र युद्धको आचरणप्रति विरोध जनाउँदै दुई अति दक्षिणपन्थी इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाएको छ ।
“गाजामा आफ्नो सैन्य कारबाहीलाई अझ विस्तार गर्ने इजरायली सरकारको निर्णय गलत छ”, बेलायत सरकारको विज्ञप्तिमा भनिएको छ, “तत्काल युद्धविराम, बन्धकहरूको फिर्ती र गाजाका जनतालाई मानवीय सहयोगमा वृद्धि गरेर युद्ध अन्त्य गर्न अब कूटनीतिक समाधान आवश्यक छ ।”
यसैबीच, इजरायलको रक्षा मन्त्रालयले बेलायतको कदमप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ ।
“यी प्रतिबन्धहरू इजरायलका प्रतिनिधिहरूमाथि जानाजानी गरिएको खेदजनक भेदभाव हुन्”, रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “त्यसकारण, इजरायली रक्षा मन्त्रालयले प्रदर्शनीमा भाग लिनेछैन र नेसनल पभेलियन स्थापना नगर्ने निर्णय गरेको छ ।”
गत महिना प्रधानमन्त्री स्टार्मरले सेप्टेम्बरसम्म इजरायलले ठोस कदम नचाले बेलायतले प्यालेस्टिनी राज्यलाई मान्यता दिने चेतावनी दिनुभएको थियो । उक्त निर्णय सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धलाई अन्त्य गर्न युद्धविरामसहितका प्रयाससँग जोडिएको छ ।
यसअघि फ्रान्सले जुन महिनामा पेरिस एयर शोमा ‘आक्रामक हतियार’ प्रदर्शन गर्ने धेरै इजरायली हतियार कम्पनीहरूको स्ट्यान्डमा पहुँच रोकेको थियो ।
युरोपेली सङ्घ (इयु) का विदेशमन्त्रीहरूले शनिबार कोपेनहेगनमा हुने बैठकमा इजरायल र हमासविरुद्ध सम्भावित नयाँ प्रतिबन्धहरूबारे छलफल गर्ने भएका छन् । स्विडेन र नेदरल्यान्ड्सले यसअघि नै थप कारबाहीका लागि आह्वान गरिसकेका छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने