घोडाको चित्रले चिनिएका कलाकार शशी शाह

काठमाडौँ । नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा इतिहास, शङ्करराजसिंह सुवाल संस्कृति, हीरालाल डङ्गोल–हेम पौडेल–जीवनाथ पोखरेल चराले चिनिनुभयो । लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाउनुहुन्थ्यो । रमेश खनाल अरुपण, गौतमरत्न तुलाधर पानी र संस्कृति, किरण मानन्धर–जीवन राजोपाध्याय आदि अमूर्तता र सुषमा राजभण्डारी गणेश मुहाराकृतिले चिनिनुभएको छ । रागिनी उपाध्यायमा राजनीतिक चेत छ । डा रामकुमार भौकाजी मूर्त गाउँघरको परिवेशमा रमाउनुहुन्छ । शान्तकुमार राई महिलामा रमाउँथे । थान्का, मिथिला, नेवारी, थारू कलाका आ–आफ्नै चित्र कलाकार छँदैछन् ।

गोर्खाली राजा द्रव्य शाहका सन्तान, तत्कालीन मुमा बडामहारानी रत्नराज्यलक्ष्मीका मामाका छोरा शशिविक्रम शाह नेपाली चित्रकारिता स्थापित नाम हो जो पूर्वीय दर्शन खासगरी घोडा चित्रले बढी चिनिनुहुन्छ । भारतका हुसेन पनि घोडामा काम गर्नुहुन्थ्यो । हिन्दू धर्मको विश्वासअनुसार संसार पालनकर्ता मानिएका विष्णुको दसौँ अर्थात् कल्की अवतार सेतो घोडाका रुपमा आएर कलि नाश गर्नेछ ।

प्राचीनकालदेखि नै यातायात र लडाइँमा प्रयोग हुने घोडा गति र तीव्रताको विम्ब पनि हो । समुद्रमन्थनबाट प्राप्त दर्जनौँ वस्तुमा उच्चैश्रवा घोडा पनि एक हो । पूर्वीय दर्शनअन्तर्गत ‘अश्वशास्त्र’मा घोडाबारे निकै वर्णन छ ।

कलिको आगमन तथा विकृति र विसङ्गतिको व्याप्ति वा तीव्रता देखाउने आदि प्रयोजनका लागि कलाकार शशि शाहले घोडालाई चित्राङ्कित गरेको धेरै वर्ष भयो । उहाँले तीव्रता र गतिको प्रतीक घोडालाई बलशाली समयको विम्बका रुपमा पनि लिनुभएको छ । तिनै प्राज्ञ कलाकारको व्यक्तित्व र कृतित्व समाविष्ट गरी नाफाका सदस्यसचिव विपिनकुमार घिमिरेले ‘शशि शाहः कलायात्रा’(नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, २०७६) कृति प्रकाशनमा ल्याउनुभएको छ ।

चित्रकारितामा सत्यमोहन जोशी, चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारको एक समूह थियो । त्यसपछि स्किब–७१, याग, नेपाल कलाकार समाज, सोमा आदि जन्मे । स्किब (शशि, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य) का संस्थापकमध्येका शाह पनि एक हुनुहुन्छ । ललितकला महाविद्यालयका शिक्षक, ललितकला क्याम्पसमा अध्यापक, क्याम्पस प्रमुख तथा सिर्जना कलेज अफ फाइन आर्टस्का संस्थापक तथा प्रिन्सिपल शाह नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पनि हुनुभयो ।

संस्थागत आबद्धता शाहका लगभग यिनै होलान् । भारतको मुम्बईस्थित सर जेजे स्कूल अफ आर्टस्बाट तालिम प्राप्त उहाँ आफ्नो परिवार र डा हर्क गुरुङबाट कला प्रेरणा लिएर यस क्षेत्रमा आउनुभएको हो । उहाँका दाजु गोवद्र्धन त नेपालका प्रथम व्यङ्ग्यचित्रकार नै मानिनुहुन्छ । एकासी वर्षीय शाहका देशविदेशका काठमाडौँ, पोखरा, भारत, बङ्गलादेश, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, रुसमा कला प्रदर्शनी भइसकेको छ ।

अतियथार्थवादी कलाकार स्पेनका साल्भाडोर डालीबाट प्रेरित उहाँका कला शुरुमा मुलुकका सामाजिकार्थिक समस्या, विकृति, विसङ्गतिमा केन्द्रित थियो । उहाँ पछि परावस्तुवादी, अमूर्त अभिव्यञ्जनावादतिर डोरिनुभयो । घोडाको चित्रण गर्दा उहाँका रेखाङ्कन, संरचना, अनुपात, रङ संयोजन सीपमा बेजोड छ । “हरेक मान्छेको आत्मामा घोडा छ । घोडाको गुण–आफू मर्ने बेलामा मात्र ऊ थाक्छ । घोडा बलको प्रतीक हो र सबैभन्दा बलवान् समय हो …हामी घोडा झैँ हुुनुपर्दछ किनकि त्यो दौडमा थाक्दैन । यदि त्यस्तो हुन सकेन भने आजको समयमा हामी बाँच्न सक्दैनौँ”, शाह भन्नुहुन्छ ।

घोडालाई गति र अथकताको मात्र विम्ब नमानी उहाँले हरिया, नीला, प्याजी, काला घोडाका माध्यमबाट सफलता, खुशी, उल्लास, दुःखको भाव सिर्जना गर्नुभएको छ । गतिशील, तेजिला, शक्तिशाली घोडाहरुले पीडा, डर, त्रास र चिन्ता भाव पनि दिएका छन् । यसरी उहाँ आफ्नो मौलिक पहिचान दिई घोडाका माध्यमबाट कल्की र गति मात्र नभई विकृति, विसङ्गति, असमानता आदि सबै विषयमा कुद्नुभएको छ ।

खासगरी सेता, काला, नीला, पहेँला रङको संयोजनबाट उहाँले ‘दशावतार’, ‘समुद्र मन्थनको केही रुप’, ‘ब्रह्मा, विष्णु र महेश’, ‘रामायण’, ‘शरशय्यामा भीष्मपितामह’, ‘अज्ञाततिर सिँढी’, ‘उडिरहेको चङ्गा’, ‘नील रात’, ‘सूर्यका सात घोडाहरु र दुःखी भिक्षु’, ‘ब्ल्याक हर्स एण्ड वल्र्ड ट्रेड सेन्टर’, ‘घोडामाथि हतियारधारी बुद्ध’, ‘राजदरबार हत्याकाण्ड’ आदि चित्राङ्कन गरेका छन् । विद्यालय जीवनदेखि नै उहाँले खाली समय रेखाचित्रमा ध्यान दिनुभएको थियो । कालो मसी र नीबबाट आफ्नै विभिन्न रुप, समुद्र मन्थन, शेषश्यामा विष्णु, घोडाका विभिन्न रुप पनि रेखाङ्कन गर्नुभएको छ । रोचक घिमिरेको ‘रचना’ पत्रिकामा निरन्तर समसामयिक व्यङ्ग्यचित्र छापिँदै आएको छ । “शशिका चित्रहरु समाजमा व्याप्त विकृतिमाथि सूक्ष्म रुपबाट प्रतिक्रिया जनाउँछन् । उनका चित्रहरुमा अन्याय र अत्याचारबाट थिचिएका पात्रहरुको चित्रणम विद्रोहको आभास दिइएको हुन्छ । खास गरी घोडाको स्वरुपमा चित्रण गरिएका विविधताले दिने प्रभाव नै उनमा रहेको विशेषता मानिएको छ”, कलाकार तथा लेखक घिमिरे भन्नहुन्छ ।

कृतिले शाहका बारे अझ बढी अनुसन्धान गर्न ढोका खोलिदिएको छ । स्थापित कलाकारलाई चिनाउने लेखकको यो प्रयास प्रशंसनीय छ । शाहका प्रतिनिधिमूलक चित्रहरुले कृतिलाई गहकिलो बनाएको छ । कृृतिमा एक अङ्ग्रेजी लेख पनि छ, जसको भाव नेपालीमा आइसकेकाले नराखेको भए हुन्थ्यो । नाफा जस्तो संस्थाबाट प्रकाशित कृतिमा पनि वर्णविन्यासमा अनगन्ती अशुद्धि हुनु राम्रो होइन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री