नेवा चलचित्र ‘जा मन: गुभाजु’लाई आदिवासी जनजाति चलचित्र अवार्ड

न्युयोर्क । नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्ड नेवा भाषाको चलचित्र जा मन: गुभाजुले हात पारेको छ ।

अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सातवटा चलचित्रमध्ये जा मन: गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड जितेको हो ।

सो चलचित्रले उत्कृष्ट चलचित्र अवार्डसहित १ हजार १ सय ११ डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले अवार्ड तथा पुरस्कार संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि सो चलचित्रले पोल्टामा पारेको छ । चलचित्रमा नायक शुशील राजेपाध्याय स्वयंको पटकथा रहेको छ ।

महावाणिज्यदूत गौतमले यस्ता चलचित्र महोत्सवले आदिवास जनजातिको संस्कृतिलाई प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आइतबार राति अबेरसम्म सञ्चालन भएको अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट नायिकाको अवार्ड मगर भाषाको चलचित्र ट्याङचालकका नायिका तिला मगरले जितेकी छिन् ।

गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेको छ । मिं न्होर्वै ट को निर्देशन उमान सिं (माओत्सेतुङ) गुरूङले र संगीत तेजेन्द्र गुरूङले गरेका हुन् ।

ह्योल्मो जातिको मेतोकले उत्कृष्ट छायाँकन र दर्शक रोजाईको पुरस्कार जितेको छ । लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा र तामाङ जातिको चलचित्र प्रङ्नाका छिमी मेम्बा तामाङले उत्कृष्ट भेषभुषाको पुरस्कार प्राप्त गरेको थियो ।

२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवर्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ ।

यस्ता महोत्सवले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा व्यवसायीकरण गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ । नेपाली र बीच बीचमा अंग्रेजी भाषाको मिसावट गर्दै पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेको अवार्ड वितरण समारोहमा आदिवासी जनजातिका विभिन्न संस्कृति झल्कने प्रस्तुतिले हललाई झनै तताएको थियो । सांगीतिक क्षेत्रका नक्षत्र युवाहरुका ढुकढुकी लोकप्रिय गायकद्वय राजु लामा र जगदीश समाललाई हलमा उपस्थित भिडको चित्त बुझाउन हम्मेहम्मे परेको थियो ।

करिब ३ सय जना सहभागी दर्शकहरुलाई आ–आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी मध्यरातसम्म दर्शकहरुलाई मनोरन्जन दिएका थिए । राजु लामाको अन्तिम प्रस्तुतिसम्म दर्शकले वान्स मोर वान्स मोर भनेर चिच्याएपछि गायक लामाले आफ्नो मोबाइल निकालेर दर्शकको आवाजलाई कैद गर्दै आफ्नो स्टोरीमा राख्ने जानकारी दिएर अन्तिम प्रस्तुति हिमाल देखेर गीत प्रस्तुत गरेका थिए ।

कोभिडका बीच मध्यरातसम्म पनि दर्शकको भीड उत्तिकै बाक्लो थियो । कार्यक्रममा कलाकारहरुले नेपाली राष्ट्रिय गान तथा अमेरिकन राष्ट्रिय गान गाएर कार्यक्रम शुरुवात गरिएको थियो । विभिन्न आदिवासी समुदायका सँस्कृति झल्कने गीत र नृत्यहरु प्रस्तुत गरी कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नृत्य वसन्त डान्स सेन्टरका प्रशिक्षक विजय नकर्मीले कोरियोग्राफ गरेका थिए ।

कार्यक्रम समापन गर्दै अध्यक्ष चेम्जोङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने जातिय संस्थाका प्रतिनिधिहरु, स्पोन्सरहरु, स्वंयसेवकहरु, कलाकारहरु तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री