कोरोनाविरुद्धको लडाइँमा नेपाललाई तत्काल सहयोग गर्न बेलायतका प्राज्ञहरुद्वारा बेलायत सरकारसित अपील

लण्डन । बेलायतमा रहेका नेपालबारे चासो राख्ने प्राज्ञहरुले कोरोना भाइरसको दोस्रो लहरसित जुधिरहेको नेपाललाई तत्काल सहयोग गर्न बेलायत सरकारसित अपील गरेका छन् ।

बेलायत नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार बेलायतका विदेश मन्त्री डोमिनिक राबलाई पत्र लेख्दै कोभिड १९ को दोस्रो लहरका कारण नेपाल गम्भीर संकटमा गुज्रिरहेको भन्दै तत्काल सहयोगको याचना गरेको हो ।

भारतमा फैलिएको कोरोनाको दोस्रो लहरका कारण नेपालको स्थिति भारतको भन्दा कमजोर रहेको भन्दै प्रतिष्ठानले बेलायत सरकारसित बेलायतबाट तत्काल दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मीहरु पठाउन माग गरेको छ । सन् २०१५ को भूकम्पको बेला बेलायतले उद्दारका लागि गोरखा सैनिकहरुलाई नेपाल पठाएको उल्लेख गर्दै प्रतिष्ठानले यसपटक पनि गोरखा सैनिकहरुलाई पठाउन सकिनेतर्फ ध्यानाकर्षण गराएको छ ।

नेपालमा स्वास्थ्य सहयोग अत्यावश्यक भएको भन्दै प्रतिष्ठानले बेलायतलाई भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटरहरु पठाउन अनुरोध गरेको छ । बेलायतले यस्तै सहयोग केही साताअघि भारतलाई गरेकाे थियो ।

नेपाललाई तत्काल खोप चाहिएको भन्दै प्रतिष्ठानले बेलायत जी सेभेनको पनि अध्यक्ष मुलुक भएकाले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा खोप उपलब्ध गराउन बेलायतले प्रभाव पार्न सक्ने अवस्थामा रहेको स्मरण छ । बेलायतले ५१७ मिलियन खोप अर्डर गरेको र बेलायतका १८ वर्ष माथिका बयस्कहरुलाई खोप दिइसकेपछि पनि ४०० मिलियन खोप बाँकी रहने भएकाले त्यसबाट नेपाललाई खोप दिन पनि अनुरोध गरिएको छ ।

बेलायत र नेपालको सम्बन्ध दुईसय वर्ष पुरानो र विशेष रहेको पत्रमा उल्लेख छ । नेपालमा जन्मिएका करिब १ लाख मानिसहरु र सेवारत गोरखा तथा पूर्व गोरखाहरुको परिवारहरु अहिले नेपालमा कोरोनाको दोस्रो लहरबाट प्रभावित भएको पनि बताइएको छ ।

नेपालमा कोरोना संक्रमणको दर ४५ प्रतिशत रहेको र अहिले अस्पताल लगायतका स्वास्थ्य सेवा नराम्ररी प्रभावित भएको पत्रमा बताइएको छ । नेपालमा १ जना चिकित्सकले १ हजार ७२४ मानिसलाई हेर्नुपर्ने अवस्था छ ।

यसरी पत्र लेख्नेहरुमा प्रतिष्ठानका अध्यक्ष डा. कृष्णप्रसाद अधिकारी अक्सफोर्ड विश्वविद्यालय, महासचिव डा. पूनम यादव युनिभर्सिटी कलेज लण्डन, कोषाध्यक्ष डा. फ्रेजर सुग्डेन युनिभर्सिटी अफ बर्मिङहाम, प्रोफेसर डेभिड गेल्नर अक्सफोर्ड विश्वविद्यालय, प्रोफेसर माइकल हट, सोआस युनिभर्सटी अफ लण्डन, डा. बेन क्याम्पबेल डरहम युनिभर्सिटी, डा. सारा पार्कर लिभरपुल जोन मुर्स युनिभर्सिटी, डा. स्टेफानी लोटर सोआस युनिभर्सिटी अफ लण्डन, डा. तेजेन्द्र फेराली युनिभर्सिटी कलेज लण्डन, प्रोफेसर पदम सिम्खडा युनिभर्सिटी अफ हडर्सफिल्ड, डा. जीवनराज शर्मा युनिभर्सिटी अफ इडिनवरा, सपना विष्ट लिभरपुल जोन मुर्स युनिभर्सिटी, कुमुद राना युनिभर्सिटी अफ ग्लास्गो, डा. सुष्मा बस्नेत सेन्टर फर नेपाल स्टडिज युके र डा. हाइडी राइली किंग्स कलेज लण्डन रहेका छन् ।

यसअघि प्रतिष्ठानले बुधबार नै नेपालमा कोरोनाको दोस्रो लहरका बारेमा राउण्ड टेवल सम्वादको आयोजना गरेको थियो । सो सम्वादमा वेलकम ट्रष्टका अध्यक्ष सर जेरेमी फरार, नेपालबाट प्राध्यापक शरद वन्त, डा. ल्हामु शेर्पा, डा. चन्द्रकला शर्मा, बेलायतबाट प्रा. पदम सिम्खडा, प्रोफेसर इयान हार्पर, विश्व स्वास्थ्य संठनका पूर्व निर्देशक एन्थोनी कोसटेलो लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री