पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने–बुझाउने प्रयास जारी छ : अध्यक्ष ओली


नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सफलतातर्फ उन्मुख गराउँदै अघि बढ्नका लागि पार्टीमा रहेका अनुशासनहीन र अराजक पक्षलाई सम्झाउने–बुझाउने र सच्याएर मूलधारमा कायम राख्ने कोशिश भइरहेको बताएका छन ।
पार्टीभित्रको विवादबारे अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । “केही व्यक्तिको चरम महत्वाकाङ्क्षा, अरुले हासिल गरेको सफलताबारे सुन्न नचाहने सङ्कीर्ण आत्मकेन्द्रित स्वार्थका कारण हाम्रो पार्टीमाथि सङ्गठित र निकृष्टरुपमा हमला गरियो । मलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको घोषणा गरे”, नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा अवसरमा अध्यक्ष ओलीले भने, “पार्टीलाई अनुचित हिसाबले कब्जा गर्ने क्रियाकलाप र ‘फ्लोर क्रस’जस्ता अराजक दृष्य यसअघि कहिल्यै देखिएको थिएन । पार्टीमा अब यस्तो चल्दैन । हामी सुदृढ र गतिशील सङ्गठन निर्माणको प्रक्रियामा अघि बढेका छौँ ।”
अध्यक्ष ओलीले कुनै गुटगत तवरमा पार्टीभित्र अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता नगर्ने स्पष्ट गर्दै गल्ती महसुस गरी अनुशासित भएर काम गर्न सबैलाई अवसर भएकाले सम्झाउने र सच्याउने कोशिशलाई कमजोरी नठान्न आग्रह गरे । उनले न्याय, समता र समृद्धिको परिकल्पनासहित कम्युनिष्ट आन्दोलनका अगुवाले असाधारण दूरदर्शितासहित पार्टी स्थापना गरेकाले उक्त लक्ष्य आफूहरुले पूरा गर्नुपर्ने बताए ।
विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुृन लागेको हो । सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन । भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहेकामा बिहीबारदेखि थापाथलीमा शुभारम्भ भएको छ ।कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रवक्ता प्रदीपकुमार ज्ञवालीलगायत नेता सहभागी थिए ।

आजदेखि विधिवत् रुपमा एमाले मुख्यालय थापाथलीमा
नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो ।
यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बस्नुभएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केही बसेका थिए ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् ।
प्रधानमन्त्री ओली गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गरेका थिए । एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री