लाप्राक बस्ती हस्तान्तरण बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा निर्माण गरेको एकीकृत नमुना वस्ती आगामी विहीबार (बैशाख ९ गते) स्थानीय जनताहरुलाई हस्तान्तरण गर्ने भएको छ । भूकम्प दिवस बैशाख १२ गते नै हस्तान्तरण गर्ने पूर्व योजना रहेको भएपनि तीन दिन अघि सारिएको संघका उपाध्यक्ष एवम् परियोजना संयोजक सोनाम लामाले जानकारी दिए ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राकमा एनआरएनएले ५७३ वटा घर निर्माण गरेको छ । योसँगै स्थानीय तहले थप २९ वटा घर निर्माण गरेको छ ।

एनआरएनकै महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको लाप्राक वस्ती निर्माण पूर्वनिर्धारित समयभन्दा झण्डै दुई वर्ष ढिला गरी निर्माण सम्पन्न भएको हो । खानेपानी, शौचालय र विद्युत सेवासहितको वस्ती निर्माणमा करिव साठी करोड रुपैयाँ लगानी भएको एनआरएनएले जनायो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बिहीबार अपरान्ह लाप्राकमा एक कार्यक्रम आयोजना गरी वस्ती हस्तान्तरण गरिने जानकारी उपाध्यक्ष लामाले दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहकारसहित सदस्यहरु, प्राधिकरणका अधिकारीहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री