बिहीबार, साउन २१ २०७८ | Thu, August 05, 2021
नेपालको समय: ०३:०४ | UK Time: 22:19

पहिलो विश्वयुद्धका गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित

वीनेपाली
२०७८ वैशाख ५ गते १३:२१

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।

पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो ।
प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मनेली प्रा हाइनरिक ल्युडर्सद्वारा तिनको बासस्थानमा नै गएर अभिलेख गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो ।

प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अष्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत डा अलका आत्रेयले ती सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गर्नुभएको हो । तीन परिच्छेदमा विभाजित सो कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्वपूर्ण जानकारी प्रस्तुत गरी विश्लेषण गरिएको तथा दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथा राखिएका छन् ।

गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, फुटकर गीत र सिलोक, ख्याली, हिन्दी गीत, भजन, दोहा र सिलोक, सोरठीजस्ता गेय विधा तथा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथाजस्ता गद्य विधाका ऐतिहासिक महत्त्व राख्ने ८६ लोकसामग्री समेटिएको प्राज्ञ डा देवी नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यी ऐतिहासिक सामग्रीमा युद्धबन्दी गोर्खालीका कथा र व्यथा समेटिएका छन् । साथै परिशिष्ट खण्डमा राखिएका तिनका नाम, नेपालको ठेगाना, त्यतिबेलाको उमेर, तिनले सुनाएको विधा र रेकर्ड मितिजस्ता कुराले कृतिलाई झनै आधिकारिक र प्रामाणिक बनाएको छ । ती सामग्री पढ्दा र त्यो इतिहासको स्मरण गर्दा आज जोकोही पनि भावुक बन्ने अवस्थामा कृतिले पु¥याउने छ ।”

दुई सय २० पृष्ठको सो ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा राखिएको प्रज्ञा–प्रतिष्ठान, सूचना तथा सञ्चार शाखा प्रमुख प्राज्ञ शशि लुमुम्बुले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक