बुधबार, वैशाख १ २०७८ | Wed, April 14, 2021
नेपालको समय: १७:२८ | UK Time: 12:43

बेलायतमा आजदेखि कोरोनाभाइरस विरुद्ध तेस्रो खोप लगाउन शुरु

वीनेपाली
२०७७ चैत २५ गते ९:३५

तस्वीर स्काइन्यूज

लण्डन । बेलायतमा आजबाट कोरोना भाइरसविरुद्धको तेस्रो खोप लगाउन शुरु गरिएको छ ।

मोडर्नाले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप आज वेल्सको कामर्थानस्थित वेष्ट वेल्स जनरल अस्पतालबाट लगाउन शुरु गरिएको हो । साथै सो खोपको करिब ५ हजार डोज विभिन्न खोप केन्द्रहरुमा वितरण गरिएको बताइएको छ ।

बेलायतमा यसअघि फाइजर-बायोएनटेक तथा अक्सफोर्ड आष्ट्राजेनिका गरी दुई किसिमका कोरोना भाइरसविरुद्धका खोपहरु मात्र लगाइँदै आएको थियो ।

बेलायतले सो खोपको १ करोड ७० लाख मात्रा अर्डर गरेको छ । यो खोप पनि हरेकलाई दुई डोज दिइनुपर्ने भएकाले सो अर्डरबाट करिब ८५ लाख मानिसलाई पुग्ने हुन्छ ।

सो खोपको परीक्षणमा सो खोप मानिसहरुलाई कोरोना भाइरसका कारण गम्भीर बिरामी पर्नबाट रोक्न शतप्रतिशत प्रभावकारी हुने देखिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप लगाउन पालो आउनासाथ खोप लगाउन बेलायतबासीहरुलाई अपील गरेका छन् भने स्वास्थ्य मन्त्री म्याट ह्यानककले मोडर्नाको खोप लगाउन शुरु गरिएकोमा हर्ष प्रकट गरेका छन् ।

बेलायत सरकारका अर्का मन्त्री पल स्कलीले अर्को साताबाट सो खोप इङल्याण्डका विभिन्न भागमा दिइने बताएका छन् ।

मोडर्नाका अनुसार यो खोप लगाउँदा गम्भीर असर पर्ने छैन । तथापि खोप लगाएको ठाउँमा दुख्ने कसैकसैलाई थकाइ लाग्ने, मांसपेशी र जोर्नीहरु दुख्ने, टाउको दुख्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक