रसमुरमा फेरिएको नेपालीलाई हेर्ने दृष्टिकोण

गोरखा नगरपालिकाका मेयरसित रसमुरका काउन्सिल लिडर डेभिड क्लीफोर्ड

दश वर्षअघि जब पूर्व गोरखाहरु नेपालबाट बेलायतमा स्थायी बसोबासका लागि आउँदै थिए उनीहरुको प्रिय थलो थियो रसमुर । अथवा अल्डरसट र फार्नब्रो क्षेत्र । कारण यो क्षेत्रमा रहेको चर्चक्रुखाम आर्मी ब्यारेकमा धेरैले पहिले नै सेवा गरेका थिए । जसका कारण स्थानीयताको थोरबहुत जानकारी थियो । अर्को कारण थियो केही गोरखाहरु पहिले नै त्यस क्षेत्रमा बसोबास गरिरहेकाले साथीभाइ आफन्तको भरथेगको आशा ।
तर उनीहरुको आशाविपरीत त्यस क्षेत्रका तत्कालिन सांसद तथा बेलायतका रक्षा मन्त्री जेराल्ड होवार्थ भने गोरखाहरुको आगमनबाट पटक्कै खुशी थिएनन् । उनले पटकपटक त्यस क्षेत्रमा गोरखाहरुको बढ्दो बसोबासका बारेमा तत्कालिन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसित पत्राचार गरेका थिए । गोरखाहरुको आगमनका कारण स्थानीय रसमुर काउन्सिल भित्र स्वास्थ्य, शिक्षा लगायतका सेवा अवरुद्ध हुने हौवा फैलाउँदै उनले गोरखाहरुलाई ‘शरणार्थी’लाई जस्तै व्यवहार गर्न समेत सुझाव दिएका थिए । उनको विचारको पछि लाग्दै केही स्थानीयबासीले ‘लुम्ले लिगेसी’ नामको फेसबुक पेज समेत खोलेका थिए ।
बितेको दश वर्षमा सो क्षेत्रका स्थानीय नेतृत्वको नेपालीलाई हेर्ने दृष्टिकोणमा आकाश–जमिनको अन्तर आइसकेको छ । सो क्षेत्रका तत्कालिन सांसद जेराल्ड होवार्थले राजनीतिबाट अवकाश लिइसकेका छन् र उनी आवद्ध कञ्जरभेटिभ पार्टीबाटै सन् २०१७ देखि लियो डोकोर्टी नयाँ सांसद भएका छन् । सो क्षेत्रमा सांसद मात्र फेरिएका होइनन् उनको नेपालीप्रति धारणा पनि फेरिएको छ । नेपालीहरुको कार्यक्रममा उनको उपस्थिति बाक्लो हुन थालेको छ भने सार्वजनिक रुपमा उनले नेपालीहरुको प्रसंशा गर्न थालेका छन् । नेपाली बालबालिकाहरुले स्थानीय विद्यालयहरुमा गरेको प्रगतिको बारेमा उनले पटकपटक उल्लेख गरेका छन् ।
जेराल्ड होवार्थकै पार्टीको स्थानीय काउन्सिलमा पकड छ । सोही पार्टीका डेभिड क्लीफोर्ड सन् २०१६ देखि काउन्सिलका नेता छन् । उनी जेराल्ड होवार्थले झैँ नेपालीलाई शरणार्थी र बोझ देख्दैनन् । बरु स्थानीय क्षेत्रका नेपालीहरुलाई सम्पत्ति ठान्छन् । हालैको एक अन्तर्वार्तामा उनले नेपालीहरुलाई आफ्नो काउन्सिलमा स्वागत गर्ने बताए । जबकि जेराल्ड होवार्थले नेपालीहरुलाई बेलायका विभिन्न स्थानमा शरणार्थीलाई जस्तै छरेर राख्नुपर्ने बताएका थिए ।
यति मात्र होइन स्थानीय काउन्सिलले गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा आवाज उठाउन स्थानीय सांसदलाई औपचारिक रुपमा पत्राचार गरेको छ । साथै बेलायतको नागरिकता प्राप्तीका लागि विद्यमान अवरोधहरु हटाउन र सो वापत लाग्ने शुल्क खारेज गर्नसमेत बेलायती प्रधानमन्त्रीलाई पत्राचार गरेको छ । बेलायतको राजनीतिमा प्रभाव राख्ने सत्तारुढ कञ्जरभेटिभ र लेबोर दुवै पार्टीका स्थानीय काउन्सिलरहरुको सर्वसहमतिमा यसो गरिएकाले गोरखाहरुप्रतिको स्थानीयहरुको दृष्टिकोण कति फेरिएछ भन्ने आँकलन गर्न सजिलो हुन्छ । क्लीफोर्ड भन्छन्, “नेपालीहरु रसमुरका परिवार सदस्यहरु हुन् । उनीहरुले समस्या भोग्नु हामीले समस्या भोग्नुसरह हो ।”
काउन्सिलका नेता क्लीफोर्ड नेपालीहरुलाई निडर सैनिक मात्र होइन, निडर व्यवसायी पनि मान्छन् । करिब ९५ हजार मानिस बसोबास गर्ने सो क्षेत्रमा करिब १० प्रतिशत जनसंख्या नेपालीहरुको रहेको छ । करिब ४ हजार व्यवसाय रहेको सो क्षेत्रमा नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । उदाहरणस्वरुप अल्डरसट टाउनमा नेपालीहरुको सटर प्रशस्तै देख्न पाइन्छ ।

नेपालीहरुमाझ स्थानीय सांसद लियो डोकोर्टी

दृष्टिकोणमा परिवर्तन कसरी आयो ?
काउन्सिलका नेता क्लीफोर्डको अनुभवमा जब उनी नेता निर्वाचित भए उनले नेपालीहरुका बारेमा बुझ्न शुरु गरे । उनले नेपालीहरुका बारेमा कतिपय ‘मिथ’ रहेको, साँस्कृतिक ज्ञानको अभाव रहेको र अन्तरक्रिया नभएको पाए । उनको अनुभवमा नेपाली समुदाय र काउन्सिल दुवैले एकआपसमा अन्तरक्रिया र अन्तरघुलनको पहलकदमी गरे । जसका कारण अहिले नेपाली र स्थानीय समुदायबीच राम्रो सम्बन्ध विकसित भएको छ । रसमुर काउन्सिल र गोरखा नगरपालिकाबीच मितेरी सम्बन्ध स्थापना भएको छ भने स्थानीय प्रिन्सेस गार्डेनमा प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको शालिक राखिने भएको छ । कुलवीर थापाले पहिलो विश्वयुद्धका दौरान घाइते बेलायती सैनिकलाई उद्धार गरिहेको चित्र रहने सो शालिकले आफैँमा नेपाली र स्थानीयबासीबीचको सम्बन्धको महत्वपूर्ण सन्देश दिने उनको धारणा छ ।
अहिले स्थानीय राजनीतिक नेताहरु गोरखाहरुलाई सम्मानले मात्र हेर्दैनन् । उनीहरुको मन जित्न चाहन्छन् । सो क्षेत्रमा एक जना नेपाली काउन्सिलर निर्वाचित भइसकेका छन् भने थप दुई जना यसै मे महिनामा हुने निर्वाचनमा उम्मेदवार छन् । क्लीफोर्ड भन्छन्, “नेपालीहरुले स्थानीय काउन्सिलबाट माया पाएको महसुस गरुन् भन्ने हामी चाहन्छौँ । हामी उनीहरुले विश्वास गर्ने नेता बन्न चाहन्छौँ ।”
त्यसो त सबै स्थानीयबासी गोरखाप्रति नकारात्मक भने थिएनन् । तत्कालिन मेयर आलेक्स क्राफोर्डले त्यतिबेलै गोरखाहरुप्रति नकारात्मक धारणा बढ्न नदिन ‘हामी गोरखाहरुलाई माया गर्छौं’ भन्ने फेसबुक पेज शुरु गरेका थिए । सो पेज अहिले पनि चालू छ । उता गोरखाहरुको आगमनप्रति सशंकित भएर ‘लुम्ले लिगेसी’ फेसबुक पेज खोल्ने स्थानीय युवासमेत कालान्तरमा गोरखा युवा र स्थानीय युवाबीच सम्बन्ध राम्रो बनाउने कडीका रुपमा रुपान्तरण भइसकेका छन् ।
ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापा नेपाली र स्थानीयबासी दुवैको सोच र व्यवहारमा परिवर्तन आएका कारण अहिले राम्रो सम्बन्ध भएको बताउँछन् । शुरुमा दुवै समुदायको एकअर्कालाई राम्रोसँग बुझ्न नसकेका कारण केही असझदारी देखिएको उनी बताउँछन् । “जेराल्ड होवार्थको धारणा मिडिया आएपछि पनि हामीले कहिल्यै उनलाई नकारात्मक रुपमा लिएनौँ । बरु उनीसित पटकपटक बैठक बसेर ‘तपाईको गोरखाहरुप्रति नराम्रो नियत नभए पनि शब्द चयनले चोट पुर्यायो’ भन्ने बुझाउने प्रयत्न गर्यौं ।”
होवार्थका कारण स्थानीय काउन्सिलले थप बजेट पाएको उल्लेख गर्न उनी छुटाउँदैनन् । नेपाली कम्युनिटीले ‘टेन के’, रन, पार्क रन आदिमा काउन्सिल र स्थानीय खेलकुद संस्थाहरुसित सहकार्य गरेका कारण पनि स्थानीयको मन जितेको उनको धारणा छ । अहिले राजनीतिक नेतृत्वको मन जिते पनि सर्वसाधारणको मन जित्न अझै बाँकी रहेको उनी बताउँछन् ।

रसमुरका लेबोर पार्टीका नेता आलेक्स क्राफोर्ड नेपालीको कार्यक्रममा

प्रतिक्रिया

सम्बन्धित सामाग्री