अमेरिकाको कोलोराडोमा गोली हानी प्रहरीसहित १० को हत्या

photo Ghetty Image

बाउल्डर । अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्नको सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा एक जना प्रहरी पनि रहेका छन् ।

प्रहरीले अमेरिकी इतिहासमा भएका सामूहिक आमहत्याकै यो एउटा विभत्स हत्या शृंखला रहेको जनाएको छ ।

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ । बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिनुभयो ।

प्रहरी प्रमुख मरिस हेरोल्डले किङ सूपर्स नामको सुपरमार्केटमा गोली चलेको खबर पाउनासाथ घटनास्थल पुगेका ५१ वर्षीय प्रहरी एरिक टाल्लीको पनि गोली लागेर मृत्यु भएको जानकारी दिनुभयो ।

लाइभस्ट्रिम गरिएको भिडियोमा एक जना श्वेत अधबैंसे व्यक्तिलाई प्रहरीले घटनास्थलबाट बाहिर निकालेको देखिएको थियो ।

राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाका बारेमा जानकारी गराइएको ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताउनु भएको छ । बाइडेनले गत महिना पनि बन्दुक राख्ने बारेमा सुविचारित निर्णय गर्न संसद समक्ष आग्रह गर्नु भएको थियो ।

कोलोराडोका गभर्नर जारेड पोलिसले बाउल्डरमा यस्तो गोलीकाण्ड भएको सुन्दा आफूलाई निकै दुःख लागेको बताउनु भएको छ ।

सुपरमार्केट भित्र रहेका उक्त घटनाका प्रत्यक्षदर्शीहरुले पछाडिको ढोकाबाट भाग्नुअघि धेरै पटक गोलीको आवाज सुनेको बताएका छन् । आठ पटक बन्दुकको गोलीको आवाज सुन्नु भएका रायन बोरोस्कीले आफू भाग्यले बाँचेको सिएनएनलाई प्रतिक्रिया दिनु भएको थियो ।

दर्जनौं बख्तरबन्द गाडी, एम्बुलेन्स र शसस्त्र प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए ।

कोलोराडोमा अमेरिकी इतिहासमै निकै डरलाग्दा दुई वटा आमहत्याका घटना भइसकेका छन् । सन् १९९९ मा दुई जना युवाले आफूहरुले आत्महत्या गर्नुअघि कोलम्बाइन उच्च माध्यमिक विद्यालयमा आक्रमण गरी विद्यार्थी र शिक्षक गरी १२ जनाको हत्या गरेका थिए ।

त्यसपछि सन् २०१२ मा एक जना भारी हातहतियार लिएका एक व्यक्तिले कोलोराडोको अरोरास्थित चलचित्र हलभित्र प्रवेश गरी गोली चलाएर १२ जनाको हत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री