अविरल घिमिरे केवन किक बक्सिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्ने

काठमाडौँ । विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ पहिलो ‘बक्सर’ हुनुहुन्छ ।

उहाँ हिमालयन चितुवा नामले बक्सिङ खेलमा विश्वचर्चित हुनुहुन्छ । यही मङ्सिर २८ गते जापानको टोकियोमा सो प्रतियोगिता आयोजना हुँदैछ । युवा समाजसेवी एवं व्यवसायी रामनारायण घिमिरेका अनुसार २१ वर्षीय हिमालयन चितुवा बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा भिड्नुहुनेछ । फिलिप पनि अन्तरराष्ट्रिय बक्सर खेलाडी हुनुहुन्छ । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवनारायण घिमिरेका सुपुत्र अविरल अहिले आफ्ना बुबाकै विशेष प्रशिक्षणमा हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आउनुभएको छ ।

‘के वन किक बक्सिङ प्रतियोगिता’ लाई जापानसहित अन्तरराष्ट्रिय बक्सिङ खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्छ । सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिनुभएको थियो । उहाँ अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षक हुनुहुन्छ ।

समाजसेवी रामनारायणका अनुसार अविरलले हालसम्म ४७ व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेको र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठमा प्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल हुुनुभएको बताउनभुयो । अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको छ । “अविरलसँग साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि उहाँलाई सरकार, खेलप्रेमी नेपालीको थप हौसला दिन आग्रह गर्छु”, सामाजीक सञ्जालमा देवनारायणले लेख्नुभएको छ ।

यसैगरी गैरआवासीय नेपाली सङ्घ जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा छनोट हुनु नेपालका लागि प्रतिष्ठाको विषय रहेको बताउनभुयो ।

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुम्नुभएको थियो । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि जित्नुभएको थियो ।

यसैगरी उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो ।

सामाजिक सञ्चालमा बक्सर अविरलले भन्नुभएको छ, “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वमा थप परिचित गराउन चाहन्छु । मलाई थप ऊर्जा र हौसला दिनुहोस्, म प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री