वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहनु भएको छ । तर पेन्सिल्भेनिया राज्यका न्यायाधीशले दिएको फैसलाले ट्रम्पको अभियानमा ठूलो धक्का लागेको छ ।
यो निर्णयसँगै पेन्सिल्भेनिया राज्यले राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बाइडेनको पक्षमा मतपरिणाम सदर गर्न बाटो खुलेको छ । अब सोमबार पेन्सिल्भेनिया राज्यले बाइडेन विजयी भएको प्रमाणपत्र दिनेछ ।
आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ कार्यक्रम नजिकिँदै जाँदा ट्रम्पको कानुनी टोलीले भने केही राज्यबाट बाइडेनलाई विजयी भएको प्रमाणपत्र दिन ढिलाई गर्ने योजनामा ध्यान दिइरहेको छ । तर ट्रम्पको कानुनी टोलीले दर्ता गरेका कैयौं निवेदनलाई सम्बन्धित राज्यका न्यायाधीशहरुले पर्याप्त आधार प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् ।
न्यायाधीश म्याथ्यू ब्रानले आफ्नो आदेशमा ट्रम्पको कानुनी टोलीले पेन्सिल्भेनिया राज्यमा हुलाकबाट प्राप्त मतपत्रका बारेमा उचित र पर्याप्त प्रमाण पेश गर्न नसकेको बताउनु भएको छ ।
बाइडेनले हालसम्म ३०६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ भने राष्ट्रपति ट्रम्पले २३२ मत मात्र प्राप्त गर्नु भएको छ । आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) ले औपचारिक रुपमा राष्ट्रपतिलाई मतदान गर्नेछन् र त्यसभन्दा अघि नै सबै राज्यले इलेक्टोरल कलेजलाई प्रमाणीकरण गरिसक्नु पर्नेछ ।
तर ट्रम्पले चुनावी परिणामलाई अझै स्वीकार्न नचाहेका कारण राष्ट्रपतिको औपचारिक निर्वाचनमा अन्यौल कायमै छ । राष्ट्रपति ट्रम्प सहित उहाँको दल रिपब्लीकन पार्टीका बहुमत सदस्यले डेमोक्रेट उम्मेदवार बाइडेनलाई खुलेर समर्थन गरेका छैनन् ।
केही झिनो संख्याका रिपब्लीकन सदस्यहरुले मात्र चुनावी परिणामलाई स्वीकार्नु पर्ने बताउँदै आएका छन् ।
पेन्सिल्भेनियाको अदालतको आदेश लगत्तै रिपब्लीकन पार्टीका तर्फबाट सिनेट सदस्य प्याट टूमीले बाइडेनले सन् २०२० को राष्ट्रपति निर्वाचन जित्नु भएको र उहाँ नै संयुक्तराज्य अमेरिकाको ४६औं राष्ट्रपति हुने धारणा अघि सार्नु भएको छ ।
उहाँले राष्ट्रपति ट्रम्पले हार स्वीकार्नुको विकल्प छैन भन्दै बाइडेनलाई संक्रमणकालीन प्रक्रियामा सामेल गर्नुपर्ने पनि बताउनु भएको छ ।
चुनावी मतगणनामा पेन्सिल्भेनियामा बाइडेनले १ लाख ५५ हजारभन्दा बढी मतले ट्रम्पलाई पराजित गर्नु भएको देखिएको छ ।
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना : समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा