अहिलेसम्म राजनीति र आन्दोलनका कुरा गरिए विद्यार्थीहरुका । त्यो यस्तो बेला थियो जब सबै पार्टीहरु प्रतिबन्धित थिए। पार्टीहरुका बारेमा मानिसहरुले धारणा बनाउने भनेको विद्यार्थीहरुले अगाडी सारेका उनीहरुका विचार र आचरण। त्यो बेला नेवि संघ र अखिलका विद्यार्थीहरुको लवाईखुवाई र पहिरनहरुले उनीहरुलाई प्रस्ट चिनाउँदथ्यो। धेरैजसो नेवि संघका समर्थक र कार्यकर्ताहरु चिटिक्क परेका लुगा लगाउँथे । निकै स्मार्ट देखिन्थे। अखिलकाहरु प्राय टोपी लगाउँथे, सबै होइन धेरैजसो। महिलाहरुमा पनि त्यस्तो भिन्नता प्रष्ट देखिन्थ्यो। प्राय: नेवि संघको कार्यक्रममा आउनेहरु निकै राम्रा देखिन्थे।
उनीहरुले गर्ने कार्यक्रम पनि राजनैतिक रुपले त फरक हुने नै भए । तर दुवैले कार्यक्रम गर्दा सांस्कृतिक कार्यक्रम पनि संगै गर्दथे। अखिलहरुको कार्यक्रमहरुमा विद्यार्थीहरुको टोलीले जनवादी गीत मात्र प्रस्तुत गर्दथे। नेवि संघको कार्यक्रममा मूल धारमा रहेका गीतहरु हुन्थे। नयाँ विद्यार्थीहरुको लागि त्यस्ता गीतहरु आकर्षण रहे । इन्जिनियरिङ्ग, किर्तिपुर वा त्रिचन्द्र क्याम्पस जहाँ भए पनि ‘ऋतुहरुमा तिमि हरियाली वसन्त हौ’ भन्ने अरुण थापाका गीत प्राय: गाउने गरिएको थियो ।
काठमाण्डौमा पढ्न आउने त्यति धेरै कमजोर वर्गका विद्यार्थी हुँदैन थिए। त्यही पनि उनीहरुको घरबाट पठाउने कुराहरु समयमा आउँदैन थियो। त्यसैले उनीहरु एक अर्कालाई मद्दत गर्दथे । सरसापट लिन्थे, त्यसैले विद्यार्थीहरु बीच एक खाले निकटता ल्याएको थियो। मेरो आफ्नै पनि त्यस्ता रमाइला अनुभव छन्। केही साथीहरुले मलाई ‘मनि साइकल’ भन्नु हुन्थ्यो । कारण के हो भने घरबाट खर्च आइपुग्नु अघि नै पैसा सकिन्थ्यो, हुँदा अलिक खर्च गरिन्थ्यो। मेरो कक्षामा टंक ढुंगेल भन्ने साथी हुनुहुन्थो इलामको। घिउ खानु पर्यो भने हामी उसको डेरामा जान्थ्यौं । पैसा सकिएपछि ‘ए टंक १० रुपैयाँ देउ त भन्थें’ उसले दिन्थ्यो । त्यसपछि अलिक अर्कोसंग लियो उसको तिर्यो । अनि आफ्नो खर्च चलायो। त्यसपछि पचास रुपैयाँ लिनु पर्यो भने कैलाश अग्रवाल भन्ने ताप्लेजुङ्गको साथीसंग मागिन्थ्यो । उसलाई सबै ‘माडे’ भन्थ्यौं । उनीहरुको परिवार चार/पाँच पुस्ता अघिदेखि ताप्लेजुङ्गमा रहेर ब्यापार गरिरहेको रहेछ। अन्तिममा उसको पनि तिरेर बाँकी समयको खर्चको लागि त्यो बेलाका ‘पैसा हुने’ दामोदर उपाध्याय र टीका र दिना उपाध्यायसंग लिने गरिन्थ्यो। यो साइकल चलिरहन्थ्यो। कैलास अग्रवाल त यति अभ्यस्त भइसकेका थिए कि ‘आज तिमीलाई पैसा दिने दिन भनेर पचास रुपैयाँ लिएर आएको छु भन्थे’। उनलाई दिने दिन पनि लगभग थाहा हुन्थ्यो। यो प्रकृयाले मलाई जीवनभर प्रेरित गरिरह्यो । किनभने विश्वसनीयता कमाएको सामाजिक सम्बन्ध साह्रै दीगो हुँदोरहेछ। साथीहरु भन्नु हुन्थ्यो, ‘कृष्णलाई पैसा दियो भने हराउँदैन है, ऊ मनि साइकल हो, ऊ पैसा घुमाउँछ ‘ । यस्तो कथा मेरा मात्र होइन, धेरै काठमाडौं भन्दा बाहिरबाट आएका विद्यार्थीका हुन्थे। तर त्यो सानो उनीहरुको सहयोग र इमान्दारिता राजनीतिमा पनि अभिव्यक्त हुन्थ्यो । उनिहरु विषयवस्तु बुझ्नलाई किताब र पत्रपत्रिका पनि दिएर सहयोग गर्थे।
राजनीतिक कुराकानी गर्थे र मानिसहरुको आवश्यकताको बारेमा कुरा हुन्थ्यो। धेरैजसो मानिसहरु निश्चल किसिमले प्रस्तुत हुन्थे । निश्चल थिए । सायद नेपालको राजनीतिको २०३६ देखि २०४० को समय सबैभन्दा निश्चल राजनीति गर्ने समय पनि थियो । आदर्श सुन्थे । मनन गर्ने प्रयत्न गर्थे। नन्द बन्जाडेहरुको एउटा टोलीले त मसिनु चामल खान छोडेर उसिना चामल खान्थ्यो र बचेको पैसाले राजनीतिका पुस्तक र पत्रपत्रिका खरिद गर्दथ्यो । ‘माधव, सिपी र आश्रितहरु मिटिङ गर्न हाम्रो डेरामा आएको बेला सुझाएको तरिका थियो त्यो’ बन्जाडे अझ बिर्सनु हुन्न। धेरै क्रियाकलाप बालसुलभ लाग्थे, तर आदर्शका पोका नै हुन्थे त्यस्ता क्रियाकलापहरु।
जसरी केटी जिस्क्याउनु हुँदैन भनेर सिकाइन्थ्यो । त्यसैगरी फिल्म पनि नहेर्नु नै भनिन्थ्यो। तर पछिल्लो कालमा त्यस्तो केही कुरा विद्यार्थीहरुले मानेनन्। युवा मन स्वत आकर्षित हुन्थे कलात्मक अभिव्यक्ति र प्रस्तुतिसंग। धेरैजसो सिनेमा हेर्थे अशोक सिनेमा (अहिले त मल भएको छ) र विश्वज्योति आदि हलहरुमा। हामी केही ‘नेतृत्वमा रहेकाहरु हल कम जान्थ्यौं। त्यतिखेर भर्खर भिडियोहरु छ्यापछ्याप्ती बजारमा आएको थियो’, गैरकानुनी रुपले तिनीहरुको प्रदर्शनी हुन्थ्यो पाटन र काठमाण्डौको गल्लीगल्लीमा । जमिनमाथि सुकुल बिछ्याएर बसाइन्थ्यो र पांच रुपैयाँ तिर्नु पर्थ्यो। हाम्रो टोलीमा म, अच्युत गौतम र लोक सुब्बा अलिक फरक जस्तै थियौं। म आसामबाट गएको थिए अलिक भिन्दै संस्कारबाट । अच्युत सेन्ट जेभियर्सबाट र लोक बुढा निलकन्ठ स्कुलको भएकोले अलि अनुशासनमा बस्न रुचाउँदैन थियो । अहिले पनि सम्झिन्छु चार्ल्स ब्रान्सन, सिल्भस्टर स्टेलोन आदिका सिनेमा हामी बेलुका हेर्न जान्थ्यौं। प्रहरीहरुले छापा मार्थ्यो । त्यस्ता शोहरुमा तर हामी हेर्न गएको बेलामा त्यस्तो भएन। अलिक पछि खुल्ला रुपले नै फिल्म हेर्न थालियो । अशोक सिनेमा हेरेको ‘द साओलिन टेम्पल’ सायद ठूलो समूहमा हेरेको हाम्रो अन्तिम सिनेमा थियो।
धेरैजसो विद्यार्थी राजनीति गर्नेहरु यस्ता मग्न थिए । उनीहरु घरबाट चामल र खर्च पनि ल्याउन मतलब गर्दैन थिए र केही काम गर्दै आफूलाई सक्रिय बनाउँथे। त्यो उनीहरुभित्र भएको एकखाले स्वाभिमान पनि थियो। त्यसबेला प्राय राजनीति गर्ने घरका अभिभावकहरु खुसी हुँदैन थिए छोराछोरीसंग । त्यसैले पनि विद्यार्थीहरु ल्याउँदैन थिए घरबाट। त्यो समयको पछिल्लो खण्डको कुरा हो। त्यसैले उनीहरुलाई चल्न गाह्रो हुन्थ्यो । भोकभोकै भए पनि संगठनको काममा लागिरहन्थें। त्यस्तैबेलाको एउटा अभिव्यक्ति विद्यार्थीहरु बीचमा धेरै प्रचलित भएको थियो। एकदिन एक जना साथीको घरमा पुगेर चामलको बोरा माथि बसेर खान खादै भन्दै थिए, ‘दाइ, मलाई यसरी नै चामलको बोरामाथि बसेर खान मन छ’ । अहिले यी शब्दहरुले शाब्दिक अर्थ मात्र बोक्लान् तर त्यो बेला विद्यार्थीहरुले राजनीतिमा सरिक हुँदा उनीहरुको अवस्था कस्तो थियो र त्यसले कस्तो मनस्थिति ल्याएको थियो भन्ने पनि देखाउँछ।
त्यो बेलाको संगठन चलाउन पनि उत्तिकै गाह्रो थियो। पैसा हुँदैन थियो, संगठनहरु प्राय गरिब थिए । त्यसैले आवश्यक पर्ने पैसाको जोहो देउसी खेलेर गरिन्थ्यो, साना ठूला होटलहरुमा। राम्रै पैसा उठ्थ्यो, रातभरिको मेहनत पछि। तर त्यसपछि त्यसको राजनीतिक असर पनि थियो। अखिल पाँचौंको आलोचना गर्दा कामरेड रोहितले यसलाई ‘देउसीवादी’ संगठन भन्नु भएको थियो। त्यसताका अखिल पाँचौंका केन्द्रीय सदस्य कोमल भट्टराईले लेख्नु भएको छ, ”रोहितको जस्तै चौमका विद्यार्थी नेताहरुले पनि यस्तो आरोप लगाउनु हुन्थ्यो तर पछि उहाँहरुले पनि संगठनको श्रोत जुटाउने माध्यम यसलाई पनि बनाउनु भयो।”
यस्तो दोहोरो मापदण्ड शुरु हुँदा ०३९ भै सकेको थियो। त्यसपछि राजनीतिमा अलिकता झूठको खेती हुन सुरु भइसकेको थियो। माथि भनिए झैँ त्यतिखेर कांग्रेससंग प्रजातान्त्रिक आन्दोलनको निमित्त पहल गर्नुपर्छ भन्ने संयुक्त जनआन्दोलन सम्बन्धी प्रस्ताव मालेको चौथो सम्मेलनमा पास भयो । माइन्युट लेख्ने कमरेडले (माइन्युट बुक भुइँमा फ्याँक्नु भयो त्यसको विरोधमा) र फेरि-फेरि बहुमतले यसलाई अस्वीकृत गरियो। तिनै साथीहरु पछि आएर भन्न थाल्नु भयो – त्यतिखेर नै संयुक्त जन आन्दोलनको लागि पार्टीले निर्णय गरेको थियो, माधव पौडेल अझै सम्झिनु हुन्छ। यस्ता दोहोरो मापदण्ड विवाद पछि मानिसहरुलाई पुनर्स्थापना गरिने क्रममा पनि भयो। त्यसबेलाका नेतृत्वमा रहेका विद्यार्थी नेताहरु केही फर्किन सक्ने वातावरण, केहीलाई यति धेरै पेलियो कि उनीहरु फर्कन सकेनन् । कोही कालक्रममा अरु नै संगठनमा प्रवेश गरे। त्यो बेलाका ठाकुरचन्द्र श्रेष्ठ, नन्द कन्दङवा, कर्णप्रखर धिताल आदि गुमाउनु संगठनको लागि ठूलो घाटा थियो, जसको असर पछिसम्म पर्यो। सांगठानिक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने निश्चल तर कुरा राख्न नडराउने पुस्ताको अवसान पछि माथि जान कर्मशीलता र ज्ञान मात्र होइन ‘प्रभावशाली नेता संगको व्यक्तिगत र्यापोर्ट लगभग आवश्यक जस्तै पनि भयो। त्यसको परिणति अहिले मुलुकमा रहेको’ हनुमान कल्चर पनि हो। पंचायतमा यस्तो संस्कृति झाङ्गिदै थियो, कांग्रेसमा भित्र भित्रै यस्तो सल्किसकेको थियो, अब वामहरुमा सल्किन थालेको थियो।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ